
काठमाडौं । पछिल्लो समय एकपछि अर्को गर्दै बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि आक्रमणका घटना बढिरहेका छन् । जुनसुकै बहानामा पनि बैंकलाई नै ‘तारो’ बनाउने प्रवृत्ति मौलाएको छ ।
विभिन्न बहानामा बैंक लुट्ने र बम पड्काउने धम्कीदेखि कर्मचारीमाथि कालोमोसो दल्ने, अपहरण गर्ने, कुटपिट तथा गालीगलौज गरी दुर्व्यवहार गर्नेसम्मका अराजक गतिविधिहरू भइरहेका छन् ।
यसको उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन । भर्खरै मात्र सप्तरीमा ऋण असुली (रिकभरी) का लागि गएका ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दलेर दुर्व्यवहार गरिएको घटना हेरे पुग्छ ।
गत मंसिर २४ गते सप्तरीको रुपनीमा महोत्तरीको बर्दिबासबाट पुगेको रिकभरी टोलीमाथि ऋणीले स्थानीयलाई भेला गरी कालोमोसो दल्ने, कुटपिट गर्ने तथा दुर्व्यवहार गर्ने कार्य गरे ।
बैंक र कर्मचारीमाथि आक्रमण भएका यस्ता धेरै घटना छन् । त्यसमाथि केही अराजक व्यक्ति वा समूहले बैंकको नामै तोकेर ‘यो बैंक खराब छ’, ‘खाता प्रयोग नगर्नु’, ‘निक्षेप झिक्नु’ र ‘कर्जा नतिर्नु’ भन्दै गलत प्रचार गर्ने गरेको समेत पाइएको छ । अर्थतन्त्रमा सामान्य सुस्तता देखिँदा पनि बैंकहरूलाई नै ‘बैरी’ का रूपमा चित्रण गरिन्छ । यस्ता गलत प्रचारलाई साथ दिँदै ऋणीहरू पनि बैंकमाथि नै खनिने गरेका छन् । ‘जे गरे पनि हुन्छ’ भन्ने गलत मानसिकताका कारण खुलेआम बैंक र कर्मचारीमाथि आक्रमण भइरहेको छ ।
बैंक र तिनका कर्मचारीमाथि कस्ता आक्रमण भए ? पछिल्ला केही वर्षका यी घटनाक्रमलाई हेरौं ।
२०७९ फागुनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकको किस्ता नतिर्न आह्वान गरे । उनले बैंकका कर्मचारी कर्जा असुल्न आउँदा कालोमोसो दल्न कार्यकर्तालाई अभिप्रेरित गरे । यो अभियानको सुरुवात जाजरकोटबाट भयो, जहाँ एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलियो ।
त्यसको १६ दिनपछि २०७९ चैतमा म्याग्दीस्थित एनआईसी एशिया बैंकको शाखाका २ जना कर्मचारी पर्वतमा कुटिए । त्यसको केही दिनअघि मात्र मकवानपुरमा कुमारी बैंकका कर्मचारीमाथि अभद्र व्यवहार भएको थियो । सोही समय धनगढीमा एनआईसी एशियाकै शाखा कार्यालय अगाडि प्रदर्शन गर्दै ‘नो डिपोजिट’ अभियान चलाइयो भने कुमारी बैंकमाथि पनि प्रहार भयो । २०७९ सालमै जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा धरपकड, सांघातिक हमला तथा कार्यालयमा तालाबन्दी जस्ता घटना भए ।
२०८० मंसिरमा नेपाल इन्भेस्टमेन्ट बैंकको बिर्तामोड शाखा प्रबन्धकलाई व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले अपहरण गरे । व्यवसायी प्रसाईंलगायतले सामाजिक सञ्जालमार्फत् बैंकविरुद्ध विषवमन गर्दै कर्जा नतिर्न र कार्यालय तोडफोड गर्न उक्साइरहे ।
२०८० पुसमा नेपाल इन्भेस्टमेन्ट बैंकका ऋणीले बैंक लुट्नेदेखि कर्मचारीको घरमा बम पड्काउनेसम्मका धम्की दिए ।
२०८१ वैशाखमा दुर्गा प्रसाईंकै कार्यकर्ताले झापाको बिर्तामोडमा एभरेष्ट बैंक र ज्योति विकास बैंकको शाखामा तोडफोड गरे । सोही महिना मुगुमा एनआईसी एशिया बैंकको शाखामा पनि तोडफोड भयो ।
२०८१ भदौमा बाजुराको गौमुलमा कुमारी बैंकको शाखा तोडफोड भयो ।
२०८१ पुसमा एनआईसी एशिया बैंकका २ कर्मचारीमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भयो । सोही महिना सिराहा र जनकपुरमा पनि बैंकका कर्मचारीमाथि हातपात भयो ।
२०८१ माघमा पाथीभरामा बन्दै गरेको केबलकारको विरोधमा उत्रिएको एक पक्षको निशानामा ग्लोबल आइएमई बैंक पर्यो । विरोधी समूहले ‘ग्लोबल आइएमई बैंक डुब्दै छ’ भन्ने अफवाह फैलाउँदै खाता नखोल्न तथा भएको पैसा झिक्न उक्साए । सोही समय कमलादीस्थित बैंकको प्रधान कार्यालय अगाडि पहिचानवादीहरूले आन्दोलन नै गरे । त्यतिबेला ताप्लेजुङ शाखा त कयौं दिन बन्द नै रह्यो ।
२०८२ असारमा धितो लिलाम प्रक्रियाका लागि घरबाटो सिफारिस लिन पुगेका जानकी फाइनान्सका एक कर्मचारीलाई जनकपुर उपमहानगरका एक वडाध्यक्षले कुटपिट गरे । कुटपिटको घटना बाहिर नल्याउन धम्की दिइएको विषय समेत सार्वजनिक भयो ।
२०८२ भदौ २४ को जेनजी प्रदर्शनका क्रममा देशभरका विभिन्न बैंकका शाखा कार्यालय र एटीएमहरूमाथि तोडफोड र लुटपाट मच्चियो । ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण भयो भने ६९ वटा एटीएममा क्षति पुग्यो । यद्यपि, बैंकको भल्ट सुरक्षित रहेकाले नगद भने सुरक्षित रह्यो ।
सोक्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट धितोमा राखेको सुन र नगद चोरी भयो । भाटभटेनीको चितवन (भरतपुर) र मोरङ (विराटनगर) स्टोरमा रहेका स्ट्यान्डर्ड चार्टर्ड बैंकका दुईवटा शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भए । थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क पूर्ण रूपमा जल्दा उक्त टावरमा रहेको ग्लोबल आइएमई बैंकको शाखा कार्यालयमा पनि पूर्ण क्षति पुग्यो । त्यस्तै, सरकारी कार्यालयहरूमा आगजनी हुँदा त्यहाँ रहेका बैंकका सेवा केन्द्रहरूका भौतिक संरचनामा समेत क्षति भयो ।
र, पछिल्लो समय मंसिर २४ गते सप्तरीको रूपनीमा ज्योति विकास बैंकका कर्मचारीमाथि कोलोमोसो दल्ने, कुटपिट गर्ने र असभ्य भाषामा गाली गर्ने काम भयो ।
केही व्यक्ति वा समूहले आफ्नो स्वार्थ पूरा गर्न बैंकिङ क्षेत्रविरुद्ध दुष्प्रचार गर्दै प्रहार गर्ने गरेका छन् । बैंकसँग ठूला व्यवसायी, उद्योगपति र राजनीतिक व्यक्तित्वहरूको प्रत्यक्ष सम्बन्ध हुने भएकाले तिनलाई कमजोर बनाउने उद्देश्यले बैंकलाई निशाना बनाइन्छ । अराजक तत्त्वहरूले सामाजिक सञ्जालमा कहिले ‘बैंक डुब्दैछ’ त कहिले ‘अब ढल्छ’ भन्दै बैंकविरुद्ध भ्रामक स्ट्याटस लेख्ने गरेका छन् । ‘यो बैंकमा निक्षेप छ भने तुरुन्त झिकिहाल्नुस्’ जस्ता अभिव्यक्तिमार्फत बैंकप्रति अविश्वास र जनतामा त्रास फैलाउने काम भइरहेको छ ।
सर्वसाधारणले बैंकिङ प्रणाली, वित्तीय विवरण र तरलता व्यवस्थापनजस्ता प्राविधिक कुराहरू राम्ररी बुझेका हुँदैनन् । यस्तो अवस्थामा अराजक समूहले फैलाउने ‘नेगेटिभिटी’ (नकारात्मक सामग्री) मा सर्वसाधारण छिट्टै विश्वास गर्छन् । सहकारी संस्था डुबेको डरले बैंक पनि डुब्दैछ भन्ने हल्लालाई सत्य मान्ने जमात ठूलो छ । बैंकमाथि हल्ला फैलिँदा सर्वसाधारण डराएर पैसा झिक्न थाल्छन् । यदि ठूलो मात्रामा निक्षेप झिकिएमा बैंक वास्तवमै संकटमा पर्ने सम्भावना रहन्छ, जसले अफवाहलाई ‘आत्म-सत्यापित भविष्यवाणी’ मा परिणत गरिदिन सक्छ ।
त्यसपछि सर्वसाधारणको आक्रोश बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि पोखिन्छ । फलस्वरुप, निरन्तर आफ्नो कर्तव्य निर्वाह गरिरहेका कर्मचारीहरू कुटपिट र बेइज्जतीको शिकार बन्न पुग्छन् ।
बैंकमाथि आक्रमण गर्दा कस्तो संकट उत्पन्न हुन सक्छ भन्ने कुराको अनुमान धेरैले गरेका हुँदैनन् । बैंकजस्तो नियमन र अनुशासनमा चल्ने पारदर्शी निकायमाथिको आक्रमणले निक्षेपकर्ता, ऋणी र सरोकारवालाको हकहितमा गम्भीर संकट निम्त्याउँछ । देशको अर्थतन्त्रभन्दा ठूलो आकारको निक्षेप र अर्थतन्त्र बराबरकै कर्जा प्रवाह गर्ने संस्थामाथिको प्रहारले सिङ्गो अर्थतन्त्र नै धराशायी बन्न सक्छ ।
सर्वप्रथम बैंकप्रति निक्षेपकर्ताको विश्वास गुम्छ । शंका बढेपछि ग्राहकले एकैचोटि पैसा झिक्न थाल्छन्, जसले ‘बैंक रन’ को अवस्था सिर्जना भई बैंकिङ प्रणालीमै संकट आउन सक्छ ।
नयाँ निक्षेप नआउने र पुरानो झिकिने क्रमले बैंकलाई कमजोर बनाउँछ । बैंकको सम्पत्तिभन्दा दायित्व बढी भएमा बैंक असफल हुने जोखिम हुन्छ ।
जोखिम कम गर्न बैंकहरूले अत्यधिक सावधानी अपनाउँदा कर्जा प्रवाह रोकिन्छ, जसले उद्योग र व्यवसाय ठप्प हुन सक्छन् ।
बैंक असफल भए भुक्तानी प्रणालीमा समस्या आउँछ, सरकारी तथा निजी परियोजना रोकिन्छन् र विदेशी लगानीकर्ताले लगानी फिर्ता लैजान सक्छन् ।
विज्ञहरूका अनुसार एउटा बैंकमाथि हुने प्रहार वास्तवमा राष्ट्रिय अर्थतन्त्रमाथिकै प्रहार हो ।
बैंक कुनै सीमित व्यवसायीको निजी कम्पनी मात्र होइन । यसमा व्यवसायीको लगानी भए पनि बहुमत स्वामित्व र मुख्य सम्पत्ति (निक्षेप) सर्वसाधारणकै हुन्छ । बैंकहरूले लगानीको कैयौं गुणा बढी निक्षेप संकलन गरी कर्जा प्रवाह गरेका हुन्छन् । तसर्थ, एउटा बैंक डुब्दा सीमित व्यवसायी मात्र होइन, लाखौं सर्वसाधारण निक्षेपकर्ता डुब्छन् ।
सामान्य नागरिकदेखि उच्च ओहदाका व्यक्तिसम्मले बैंकमा आक्रमण वा दुष्प्रचार गर्नुअघि यी संवेदनशील पक्षहरू बुझ्न नितान्त आवश्यक छ । सरोकारवालाहरूले पनि बैंकमाथि हुने यस्ता अराजक गतिविधि नियन्त्रण गरी वित्तीय प्रणालीको रक्षा गर्नुपर्ने देखिन्छ ।








प्रतिक्रिया