यस्तो छ १५ देशका २० स्टक एक्सचेञ्जको सञ्चालक समिति र स्वामित्व संरचना, नेपालमा कस्तो चाहिन्छ?

28
Shares

काठमाडौं । नेपालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचनाको विषय उठेको लामो समय भइसकेको छ । नेप्सेको सुधार, क्षमता वृद्धि तथा पुनर्संरचनाको नाम दिएर हालसम्म आठ वटा त अध्ययन प्रतिवेदन नै बनिसकेका छन् । कुरा उठेको वर्षौंसम्म पनि नेप्से पुनर्संरचना नभएको र सुधारको संकेत नदेएिको भन्दै नयाँ स्टक एक्सचेञ्ज ल्याउनुपर्ने विषय पनि लगातार उठिरहेको छ ।

तर, न नयाँ स्टक एक्सचेञ्जलाई अनुमति प्रदान हुन सकेको छ न त, नेप्से पुनर्संरचना नै भएको छ । सुधारका लागि भन्दै सरकारबाट समिति बनाउने र कार्यान्वयनमा लैजान नसकेर बनेका अध्ययन प्रतिवेदन दराजमा थन्काउने मात्रै काम भएको छ । पछिल्लो पटक नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित समितिले पनि आफ्नो अध्ययन प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइसकेको छ ।

थापा संयोजक समितिले आफ्नो प्रतिवेदनमा नेप्से सुधारका लागि सञ्चालक समितिको पुनर्संरचनाको विषयलाई पनि समेटेको छ । समितिले नेप्सेको अधिकांश सञ्चालकहरू नेपाल सरकार वा नेपाल सरकारअन्तर्गतका निकायहरूबाट प्रतिनिधित्व हुने गरेको उल्लेख गर्दै यसमा सुधारको आवश्यक्ता औंल्याइएको छ ।

अधिकांश सञ्चालकहरू नेपाल सरकार वा नेपाल सरकारअन्तर्गतका निकायहरूबाट प्रतिनिधित्व हुने हुँदा विभिन्न नकारात्मक पक्ष रहने भन्दै यसलाई फेर्नुपर्ने निष्कर्ष समितिले निकालेको छ । सञ्चालक समितिमा स्वतन्त्र विज्ञ सञ्चालकको बाहुल्यता रहने गरी सञ्चालक समितिको पुनर्संरचना गर्नु उपयुक्त हुने समितिको सुझाव छ ।

स्वतन्त्र सञ्चालकहरुको बाहुल्यता रहनेगरी समितिबाट प्रस्तावित संरचनाः

समितिले विद्यमान सञ्चालक समिति संरचनामा नेप्सेको प्रमुख कार्यकारी अधिकृत समेत सञ्चालक सदस्य रहेकोमा प्रस्तावित संरचनामा प्रमुख कार्यकारी अधिकृतलाई समावेश नगर्ने गरी प्रस्ताव गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सञ्चालक समितिमा रहँदा स्वार्थको द्वन्द्व हुने हुनाले अन्तर्राष्ट्रिय असल अभ्यासको आधारमा सञ्चालक समितिलाई व्यवस्थापनबाट पूर्ण स्वतन्त्र बनाउन प्रस्ताव गरिएको समितिले उल्लेख गरेको छ ।

विश्वव्यापी ट्रेन्डलाई हेर्दा स्टक एक्सचेञ्ज जस्ता संस्थामा स्वतन्त्र सञ्चालकको संख्या जति बढी भयो, त्यति नै बजार निष्पक्ष हुने विश्वास अवस्था रहेको देखिन्छ ।

जापान, मलेसिया र सिंगापुर जस्ता मुलुकमा पनि यस्तै संरचना अपनाइएको छ । दक्षिण एसियामा भारत र बंगलादेशले पनि स्वतन्त्र सञ्चालकको बहुमतलाई स्वीकार गरेर अघि बढेको देखिन्छ ।

विभिन्न देशका स्टक एक्सचेञ्जहरूको सञ्चालक समिति संरचना

बंगलादेश (ढाका र चित्तगोङ स्टक एक्सचेञ्ज)
बंगलादेशमा दुई वटा स्टक एक्सचेञ्ज छन् जसमा १३ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था छ । तर, यी दुबै स्टक एक्सचेञ्जमा बहुमत सदस्यहरू स्वतन्त्र सञ्चालक रहने प्रावधान छ ।

ढाका स्टक एक्सचेञ्जमा १३ सदस्यीय सञ्चालकमध्ये ७ जना (५० प्रतिशतभन्दा बढी) स्वतन्त्र सञ्चालक, सेयरधनीको तर्फबा ५ र प्रबन्ध सञ्चालक÷कार्यकारी प्रमुख १ जना रहने व्यवस्था छ ।

बंगलादेशकै चित्तगोङ स्टक एक्सचेञ्जका १३ सदस्यीय सञ्चालकमध्ये ७ स्वतन्त्र सञ्चालक, ५ सेयरधनीको तर्फबाट सञ्चालक र १ प्रबन्ध सञ्चालक रहने व्यवस्था छ । यसले बजार सञ्चालनमा लगानीकर्ताको स्वार्थभन्दा माथि उठेर निर्णय गर्ने वातावरण सिर्जना गरेको देखिन्छ ।

हङकङ (द स्टक एक्सचेञ्ज अफ हङकङ)
हङकङमा सरकार र सेयरधनीको बराबर साझेदारी रहने मोडल अपनाइएको छ । यसमा १४ सदस्यीय समितिमा सेयरधनीका तर्फबाट ६ जना र सरकारबाट नियुक्त ६ जना सञ्चालक रहने व्यवस्था छ ।

थप एकजना अध्यक्ष र एकजना कार्यकारी प्रमुख गरी कुल १४ सदस्यीय सञ्चालक यस स्टक एक्सचेञ्जमा छन् । यो संरचनाले स्टक एक्सचेञ्जमा सरकारको उपस्थिति बलियो देखाउँछ ।

भारत (नेशनल र बम्बे स्टक एक्सचेञ्ज)
भारतमा दुई वटा स्टक एक्सचेञ्ज छन् । त्यहाँको नेशनल स्टक एक्सचेञ्जमा ८ सदस्यीय सञ्चालक समिति छ । जसमा ५ जना स्वतन्त्र सञ्चालक छन् भने सेयरधनीबाट २ जना र १ जना प्रबन्ध सञ्चालक/कार्यकारी प्रमुख रहने व्यवस्था छ ।

अर्को बम्बे स्टक एक्सचेञ्जमा भने ९ सदस्यीय समिति छ । यसमा ७ जना स्वतन्त्र सञ्चालक, सेयरधनीको तर्फबाट १ जना र प्रबन्ध सञ्चालक/कार्यकारी प्रमुख एक जना छन् ।

जापान (जापान एक्सचेञ्ज ग्रुप)
जापानले आफ्नो स्टक एक्सचेञ्जमा व्यावसायिक विज्ञहरूलाई मात्रै सञ्चालक समितिमा राखेको छ । १३ सदस्यीय सञ्चालक समितिमा १० जना स्वतन्त्र सञ्चालक र सेयरधनीका तर्फबाट ३ सदस्य छन् ।

दक्षिण कोरिया (कोरिया एक्सचेञ्ज)
कोरियामा अन्य मुलुकको तुलनामा ठूलो र अलिक भिन्न सञ्चालक समिति छ । कोरियामा रहेको कोरिया एक्सचेञ्जमा १५ सदस्यीय सञ्चालक समिति छ । यसमा ८ जना स्वतन्त्र सञ्चालक, एक कार्यकारी अध्यक्ष, पाँच महाशाखा प्रमुख र एक स्थायी लेखापरीक्षण आयुक्त हुन्छन् ।

मलेसिया (बुर्सा मलेसिया)
मलेसियामा एउटा स्टक एक्सचेञ्ज छ जसमा ११ सदस्यी सञ्चालक समिति छ । यस समितिमा १० जना स्वतन्त्र सञ्चालक छन् भने १ जना कार्यकारी प्रमुखको व्यवस्था गरिएको छ ।

सिङ्गापुर (सिङ्गापुर एक्सचेञ्ज)
सिंगापुरमा भने एउटा एक्सचेञ्ज छ । यस सिंगापुर स्टक एक्सचेञ्जमा १२ सदस्यीय समिति छ जसमा १० जना स्वतन्त्र सञ्चालक, १ जना सेयरधनीको तर्फबाट र १ जना कार्यकारी प्रमुखको प्रतिनिधित्व ।

श्रीलंका (कोलोम्बो स्टक एक्सचेञ्ज)
श्रीलंकामा पनि एउटा स्टक एक्सचेञ्च छ । श्रीलंकाको कोलोम्बो स्टक एक्सचेञ्जमा ९ सदस्यीय सञ्चालक समिति छ । यसमा ५ जना सेयरधनीका तर्फबाट र ४ जना सरकारबाट नियुक्त हुने व्यवस्था छ ।

थाइल्याण्ड (स्टक एक्सचेञ्ज अफ थाइल्याण्ड)
थाइल्याण्डमा पनि ११ सदस्यीय सञ्चालक समिति भएको स्टक एक्सचेञ्ज अफ थाइल्यान्ड छ । यसमा ६ जना नियामक निकायबाट नियुक्त हुने र ४ जना सदस्य कारोबार सदस्यहरूबाट निर्वाचित हुने व्यवस्था छ । सञ्चालक समितिमा एकजना भन् अध्यक्ष रहने व्यवस्था छ ।

विश्वका स्टक एक्सचेञ्जहरूको सञ्चालन ढाँचा (पुँजीमा सेयर स्वामित्व संरचना)

बंगलादेशको ढाका स्टक एक्सचेञ्ज र चित्तगोङ स्टक एक्सचेञ्ज
बंगलादेशको ढाका स्टक एक्सचेञ्ज कर्पोरेट ढाँचामा सञ्चालित छ । सार्वजनिक निष्कासन नभएको यस स्टक एक्सचेञ्ज २०१३ मा डिम्युचुअलाइज्ड (कर्पोरेट मोडलमा परिवर्तन) भएको थियो । यस स्टकको पुँजी तथा स्वामित्व संरचना हेर्दा धितोपत्र दलाल व्यवसायीको ७४.५७ प्रतिशत, व्यक्तिगत सेयरधनीको ०.४३ प्रतिशत, रणनीतिक साझेदारको स्वामित्वमा सांघाई स्टक एक्सचेञ्जको ११.२५ प्रतिशत र सेन्जहान स्टक एक्सचेञ्जको १३.७५ सेयर स्वामित्व छ ।

बंगलादेशको अर्को चित्तगोङ स्टक एक्सचेञ्ज पनि कर्पोरेट ढाँचामा सञ्चालित छ । यसले हालसम्म सर्वसाधारणका लागि सेयरको सार्वजनिक निष्कासन गरेको छैन । यसको स्वामित्व संरचनामा १४८ वटा संस्थागत लगानीकर्ताहरूको ७५ प्रतिशत र रणनीतिक साझेदारका रूपमा रहेको एबिजी लिमिटेडको २५ प्रतिशत सेयर हिस्सा छ ।

चीनको सांघाई स्टक एक्सचेञ्ज र साञ्जेन स्टक एक्सचेञ्ज
चीनको सांघाई स्टक एक्सचेञ्ज पूर्ण रूपमा सरकारी स्वामित्वमा सञ्चालित छ । यसले सार्वजनिक निष्कासन गरेको छैन र यसको शतप्रतिशत सेयर स्वामित्व सरकारको अधिनमा छ ।

चीनकै अर्को साञ्जेन स्टक एक्सचेञ्ज पनि सरकारी स्वामित्वको ढाँचामा सञ्चालित छ । यसको स्वामित्व संरचनामा अन्य कुनै निजी वा वैदेशिक हिस्सा नभई शतप्रतिशत सरकारी स्वामित्व रहेको छ र यसले पनि सार्वजनिक निष्कासन गरेको छैन ।

हङकङ चाइनाको द स्टक एक्सचेञ्ज अफ हङकङ
हङकङको यो एक्सचेञ्ज कर्पोरेट ढाँचामा सञ्चालित छ । सन् २००० मा सदस्य स्वामित्वबाट संस्थागत स्वरूपमा परिवर्तन (डिम्युचुअलाइज्ड) भएको यस एक्सचेञ्जले सेयरको सार्वजनिक निष्कासन गरिसकेको छ । यसको शतप्रतिशत स्वामित्व हङकङ एक्सचेञ्ज ग्रुपसँग रहेको छ, जुन समूह स्वयं यसै एक्सचेञ्जमा सूचीकृत रहेको छ ।

भारतको नेशनल स्टक एक्सचेञ्ज अफ इण्डिया र बम्बे स्टक एक्सचेञ्ज
भारतको नेशनल स्टक एक्सचेञ्ज कर्पोरेट ढाँचामा सञ्चालित छ । यसले हालसम्म सार्वजनिक निष्कासन गरेको छैन । यसको स्वामित्व विविध क्षेत्रमा बाँडिएको छ, जसमा व्यक्तिगत लगानीकर्ताको २१.६३ प्रतिशत हिस्सा छ ।

वैदेशिक प्रत्यक्ष लगानीकर्ताको २२.९३ प्रतिशत, बिमा कम्पनीहरूको १९.३६ प्रतिशत, विदेशी पोर्टफोलियो लगानीकर्ताको ६.३० प्रतिशत, स्वदेशी वित्तीय संस्थाको ५.३१ प्रतिशत, बैंकहरूको ४.७३ प्रतिशत र अन्यको ०.०१ प्रतिशत स्वामित्व रहेको छ । यसमा जम्मा सेयरधनीको संख्या ३९ हजार २०१ छ ।

यस्तै, भारतकै बम्बे स्टक एक्सचेञ्ज संस्थागत ढाँचामा सञ्चालित छ, जुन सन् २००७ मा डिम्युचुअलाइज्ड भएको थियो । यसले सार्वजनिक निष्कासन गरी सेयर सूचीकरण समेत गरिसकेको छ ।

यसको स्वामित्वमा सर्वसाधारण सेयरधनीको ४८.८० प्रतिशत, अन्यको २२.१० प्रतिशत, विदेशी पोर्टफोलियो लगानीकर्ताको १६.८० प्रतिशत र स्वदेशी संस्थागत लगानीकर्ताको १२.३० प्रतिशत हिस्सा रहेको छ । यसको रणनीतिक साझेदारका रूपमा एस एण्ड पी डाउ जोन्स रहेको छ ।

इण्डोनेशियाको इण्डोनेशिया स्टक एक्सचेञ्ज
इण्डोनेशियाको स्टक एक्सचेञ्ज संस्थागत ढाँचामा सञ्चालित छ । यसले सार्वजनिक निष्कासन गरेको छैन । यसको स्वामित्व संरचना विशेष प्रकृतिको छ, जसमा १०४ वटा धितोपत्र दलाल व्यवसायीहरूको बराबर हिस्सा रहेको छ ।

कोरियाको कोरिया एक्सचेञ्ज
कोरिया एक्सचेञ्ज कर्पोरेट ढाँचामा सञ्चालित छ र सन् २००५ मा यो डिम्युचुअलाइज्ड भएको थियो । यसले सार्वजनिक निष्कासन गरेको छैन । यसको स्वामित्वमा धितोपत्र तथा डेरिभेटिभ्स दलाल व्यवसायीको ९०.२२८ प्रतिशत ठूलो हिस्सा रहेको छ ।

बाँकी स्वामित्वमा फिर्ता खरिद गरिएको सेयर (बाईब्याक) ३.८० प्रतिशत, कोरिया साना तथा मझौला उद्योग र स्टार्टअप एजेन्सीको ३.०३ प्रतिशत, कोरिया वित्तीय लगानी संघको २.०५ प्रतिशत, कर्मचारी सेयर स्वामित्व संघको ०.८९ प्रतिशत र ६ जना व्यक्तिगत लगानीकर्ताको ०.००२ प्रतिशत हिस्सा छ ।

जापानको जापान एक्सचेञ्ज ग्रुप
जापान एक्सचेञ्ज ग्रुप संस्थागत ढाँचामा सञ्चालित छ, जुन सन् २००१ मा डिम्युचुअलाइज्ड भएको थियो । यसले सार्वजनिक निष्कासन गरिसकेको छ ।

यसको स्वामित्व संरचनामा विदेशी संस्थागत लगानीकर्ताको ४०.४५ प्रतिशत र वित्तीय संस्थाको ३२.५१ प्रतिशत सेयर हिस्सा छ । यसमा वित्तीय मध्यस्थकर्ताको १८.७५ प्रतिशत, व्यक्तिगत लगानीकर्ताको ४.६१ प्रतिशत र अन्य संस्थागत लगानीकर्ताको ३.६९ प्रतिशत हिस्सा छ ।

मलेशियाको बुर्सा मलेशिया
मलेशियाको बुर्सा मलेशिया कर्पोरेट ढाँचामा सञ्चालित छ र सन् २००४ मा डिम्युचुअलाइज्ड भएको थियो । यसले सार्वजनिक निष्कासन गरिसकेको छ । यसको स्वामित्वमा सरकारी स्वामित्वका संस्थाहरूको ५०.४८ प्रतिशत मुख्य हिस्सा छ ।

अन्यमा विदेशी मनोनित (नोमिनी) को १८.२३ प्रतिशत, स्वदेशी व्यक्तिगत लगानीकर्ताको १६.८३ प्रतिशत, मलेशियन मनोनितको १०.३६ प्रतिशत र स्वदेशी संस्थागत लगानीकर्ताको ३.४८ प्रतिशत लगायतका लगानीकर्ताहरूको स्वामित्व रहेको छ ।

पाकिस्तानको पाकिस्तान स्टक एक्सचेञ्ज
पाकिस्तान स्टक एक्सचेञ्ज संस्थागत ढाँचामा सञ्चालित छ र सन् २०१२ मा डिम्युचुअलाइज्ड भएको थियो । यसले सार्वजनिक निष्कासन गरेको छैन । यसको स्वामित्वमा स्थानीय तथा विदेशी लगानीकर्ताहरूको ६० प्रतिशत हिस्सा छ ।

रणनीतिक साझेदारका रूपमा चिनियाँ वित्तीय फ्युचर्स एक्सचेञ्जको १७ प्रतिशत, सांघाई स्टक एक्सचेञ्जको ८ प्रतिशत, सेञ्जेन स्टक एक्सचेञ्जको ५ प्रतिशत, पाक–चाइना इन्भेस्टर कम्पनीको ५ प्रतिशत र हबिब बैंक लिमिटेडको ५ प्रतिशत सेयर रहेको छ ।

फिलिपिन्सको फिलिपिनो स्टक एक्सचेञ्ज
फिलिपिन्सको स्टक एक्सचेञ्ज संस्थागत ढाँचामा सञ्चालित छ र सन् २००१ मा डिम्युचुअलाइज्ड भएको थियो ।
यसले सार्वजनिक निष्कासन गरिसकेको छ ।

यसको स्वामित्व संरचनामा सर्वसाधारण (व्यक्तिगत तथा संस्थागत) लगानीकर्ताको ५६.८३ प्रतिशत सेयर हिस्सा छ । यस्तै, संस्थापक लगानीकर्ताको ४३ प्रतिशत र सामूहिक लगानी कोष तथा ईटिएफको ०.१७ प्रतिशत हिस्सा रहेको छ ।

सिंगापुरको सिंगापुर एक्सचेञ्ज सिंगापुर एक्सचेञ्ज संस्थागत ढाँचामा सञ्चालित छ, जुन सन् १९९९ मा डिम्युचुअलाइज्ड भएको थियो । यसले सार्वजनिक निष्कासन गरिसकेको छ ।

यसको स्वामित्वमा सर्वसाधारण (व्यक्तिगत तथा संस्थागत) लगानीकर्ताको ७०.७४ प्रतिशत, सामूहिक लगानी कोष तथा ईटिएफको २७.०८ प्रतिशत र संस्थापक लगानीकर्ताको २.१८ प्रतिशत हिस्सा छ ।

श्रीलंकाको कोलम्बो स्टक एक्सचेञ्ज
श्रीलङ्काको कोलम्बो स्टक एक्सचेञ्ज पारस्परिक स्वामित्व भएको ढाँचामा सञ्चालित छ । यसले सार्वजनिक निष्कासन गरेको छैन । यसको स्वामित्व धितोपत्र दलाल तथा व्यापारीहरू र केही सूचीकृत संस्थाहरूको अधिनमा रहेको छ ।

चाइनिज ताइपेइ ताइवान स्टक एक्सचेञ्ज र ताइपेइ स्टक एक्सचेञ्ज
ताइवान स्टक एक्सचेञ्जमा सरकारी स्वामित्व २२.४७ प्रतिशत रहेको छ । यसले सार्वजनिक निष्कासन गरेको छैन ।

यसको कुल स्वामित्वमा निजी संस्थागत लगानीकर्ता तथा वित्तीय संस्थाको ७५.५३ प्रतिशत, सरकारी निकाय तथा सरकारी बैंकहरूको २२.४७ प्रतिशत र व्यक्तिगत लगानीकर्ताहरूको २ प्रतिशत हिस्सा रहेको छ ।

यस्तै, ताइपेइ स्टक एक्सचेञ्ज पारस्परिक स्वामित्वको ढाँचामा सञ्चालित छ । यसले सार्वजनिक निष्कासन गरेको छैन । यसको स्वामित्व संरचनामा ताइपेइ धितोपत्र व्यवसायी संघको ४९ प्रतिशत सेयर हिस्सा छ ।

यसमा ताइवान स्टक एक्सचेञ्ज कर्पोरेसनको ३४ प्रतिशत र ताइवान निक्षेप तथा राफसाफ (क्लियरिङ) संस्थाको १७ प्रतिशत हिस्सा छ ।

भियतनामको होचिमिन र हनोइ स्टक एक्सचेञ्ज
भियतनामका होचिमिन र हनोइ स्टक एक्सचेञ्ज दुवै स्टक एक्सचेञ्जहरू सरकारी स्वामित्वको ढाँचामा सञ्चालित छन् । यिनीहरूले सार्वजनिक निष्कासन गरेका छैनन् । यी दुवै एक्सचेञ्जहरू पूर्ण रूपमा सरकारी स्वामित्वमा रहेको ‘भियतनाम एक्सचेञ्ज’ को अधिनमा छन् ।