कानून मिचेर सिटी होटलको सेयर किन्ने निर्णय गरेको एशियन लाइफलाई २ लाख जरिवाना

154
Shares

काठमाडौं । कानून मिचेर स्वार्थ बाझिनेगरी सिटी होटल (ह्यात सेन्ट्रिक) को सेयर खरिद गर्ने एशियन लाइफको निर्णयलाई नियामक नेपाल बिमा प्राधिकरणले २ लाख रुपैयाँ जरिवाना गरेको छ । बिमा प्राधिकरणले बिमा ऐन, २०७९ को दफा ६७ मा साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने व्यवस्थालाई उल्लघंन गर्ने निर्णय गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

बिमा ऐन, २०७९ को दफा ६७ मा ‘साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुनेः (१) बीमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत सेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बीमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गर्न वा सम्पत्ति जोड्न हुँदैन,’ भन्ने व्यवस्था छ ।यसका

अलावा, यो ऐन प्रारम्भ हुनु अघि बिमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत सेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बिमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गरेको वा कुनै सम्पत्ति जोडेको रहेछ भने यो ऐन प्रारम्भ भएको छ महिनाभित्र त्यस्तो व्यवसाय वा सम्पत्तिबाट आफ्नो व्यवसाय वा सम्पत्ति अलग गर्नु पर्नेछ,’ समेत लेखिएको छ ।

यस व्यवस्था विपरीत एशियन लाइफले भने यस व्यवस्थाबिपरीत सिटी होटलको सेयर किन्ने निर्णय गर्दै बोलकबोल गरेको थियो । एशियन लाइफको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनअनुसार शक्तिकुमार गोल्यानको स्वामित्वमा १८ लाख ०३ हजार ७४३ कित्ता अर्थात् ५.३१ प्रतिशत संस्थापक सेयर छ । गोल्यान एशियन लाइफमा सबैभन्दा बढी संस्थापक सेयर स्वामित्व भएका व्यक्ति हुन् ।

तर, उक्त एशियन लाइफ कम्पनीले सोही गोल्यानको प्रमुख स्वामित्वमा रहेको सिटी होटलकै सेयर खरिद गर्ने निर्णय गरेको थियो । अर्थात्, सिटी होटल(ह्यात सेन्ट्रिक) को सञ्चालक समितिको अध्यक्षमा शक्तिकुमार गोल्यान नै छन् । आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार सिटी होटल लिमिटेडमा गोल्यान स्वामित्वमा ४८ करोड ७८ लाख ६४ हजार कित्ता सेयर छ ।

यसरी, गोल्यान एशियन लाइफको संस्थापक सेयर होल्डर रहेको र सिटी होटलको सञ्चालक तथा ठूला सेयरधनी भएकाले एशियनले सिटीको सेयर खरिद गर्नु कानून विपरीत थियो । तथापि, एशियन लाइफले ३०६ रुपैयाँका दरले १० लाख कित्ता र २७६ रुपैयाँका दरमा ९ लाख कित्ता गरी सिटी होटलको कुल १९ लाख कित्ता सेयर खरिद गर्ने निर्णय गरेको थियो ।

पछि प्राधिकरणले कानुन मिचेर सेयर किन्ने एशियन लाइफको प्रक्रियामा हस्तक्षेप गरेको थियो र सो प्रक्रिया रोक्न निर्देशन दिएको थियो । प्राधिकरणलाई एशियन लाइफले ‘स्वार्थ बाझिने विषय थाहा नहुँदा सेयर किन्ने निर्णय’ भएको भन्दै यसबाट पछि हट्ने जानकारी दिएको थियो । साथै, पछि सेयर खरिद नगर्ने निर्णयसमेत गरेको थियो ।

प्राधिकरणले भने एशियन लाइफले ‘स्वार्थ बाझिने विषय थाहा नहुँदा सेयर किन्ने निर्णय’ भएको भन्ने जवाफ गैरजिम्मेवारपूर्ण भएको भन्दै दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले बिमा ऐन २०७९ को दफा १३८ को उपदफा ४ को खण्ड ‘क’मा भएको व्यवस्थाबमोजिम एशियन लाइफलाई कारबाही गरेको हो ।

जसमा ‘ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशन वा आदेश विपरीत बीमकले कुनै कार्य गरेमा वा प्राधिकरणले जारी गरेको निर्देशन वा आदेश पालना नगरेमा वा यस ऐन बमोजिमको रित नपु–याई बीमा व्यवसाय गरेमा वा झुट्टा विवरण तयार गरेमा प्राधिकरणले पहिलो पटकको लागि दुई लाख रूपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था छ ।