कानून मिचेर सेयर किन्ने एशियन लाइफको प्रक्रियामा प्राधिकरणको हस्तक्षेप, ७ दिने स्पष्टीकरण सोध्यो

2.8k
Shares

काठमाडौं । कानून मिचेर स्वार्थ बाझिनेगरी सिटी होटल (ह्यात सेन्ट्रिक) को सेयर खरिद गर्ने एशियन लाइफको निर्णयलाई नियामक नेपाल बिमा प्राधिकरणले हस्तक्षेप गर्दै रोक लगाएको छ । बिमा ऐन, २०७९ को दफा ६७ मा साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने व्यवस्था छ ।

यसमा ‘बिमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत सेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बिमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गर्न वा सम्पत्ति जोड्न हुँदैन,’ भनिएको छ ।

यसका अलावा, यो ऐन प्रारम्भ हुनु अघि बिमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत सेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बिमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गरेको वा कुनै सम्पत्ति जोडेको रहेछ भने यो ऐन प्रारम्भ भएको छ महिनाभित्र त्यस्तो व्यवसाय वा सम्पत्तिबाट आफ्नो व्यवसाय वा सम्पत्ति अलग गर्नु पर्नेछ,’ समेत लेखिएको छ ।

तर, एशियन लाइफले भने यस व्यवस्थाबिपरीत सिटी होटलको सेयर किन्ने निर्णय गर्दै बोलकबोल गरेपछि त्यसलाई नियामक बिमा प्राधिकरणले रोक लगाएको हो । एशियन लाइफको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार शक्तिकुमार गोल्यानको स्वामित्वमा १८ लाख ०३ हजार ७४३ कित्ता अर्थात् ५.३१ प्रतिशत संस्थापक सेयर छ । गोल्यान एशियन लाइफमा सबैभन्दा बढी संस्थापक सेयर स्वामित्व भएका व्यक्ति हुन् ।

तर, उक्त एशियन लाइफ कम्पनीले सोही गोल्यानको प्रमुख स्वामित्वमा रहेको सिटी होटलकै सेयर खरिद गर्ने निर्णय गर्यो । अर्थात्, सिटी होटल(ह्यात सेन्ट्रिक) को सञ्चालक समितिको अध्यक्षमा शक्तिकुमार गोल्यान नै छन् । आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार सिटी होटल लिमिटेडमा गोल्यान स्वामित्वमा ४८ करोड ७८ लाख ६४ हजार कित्ता सेयर छ ।

यसरी, गोल्यान एशियन लाइफको संस्थापक सेयर होल्डर रहेको र सिटी होटलको सञ्चालक तथा ठूला सेयरधनी भएकाले नेपाल बिमा प्राधिकरणको ऐनअनुसार एशियनले सिटीको सेयर खरिद गर्न मिल्दैन । यद्यपि, एशियन लाइफले ३०६ रुपैयाँका दरले १० लाख कित्ता र २७६ रुपैयाँका दरमा ९ लाख कित्ता गरी सिटी होटलको कुल १९ लाख कित्ता सेयर खरिद गर्यो ।

हुन त, सिटी होटलले १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयरहरु बिक्री खुल्ला गरि आवेदन माग गरेको थियो ।

जसमा संस्थापक समूह/कर्मचारी समूहतर्फको लकईनमा रहेको/सर्वसाधारण समूह तर्फको लकईनमा नरहेको समेत गरी जम्मा २१ लाख ५० हजार ४१८ कित्ता सेयरहरुका लागि आवेदन नपरेको भन्दै बोलकबोलमार्फत् बिक्री गर्न अर्को सूचना जारी गर्यो ।

होटलले बोलकबोल प्रकृयाद्वारा बिक्री गर्न कात्तिक २३ गतेदेखि ३० गतेभित्र आवेदन माग गरिएकोमा सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरुलाई मंसिर ५ गते शुक्रबार बिहान ९ बजे प्रभु क्यापिटल लिमिटेडमा खुलायो ।

यही क्रममा एशियन लाइफले बोककबोलमार्फत लिलाम गरिएकोमध्ये १९ लाख कित्ता सेयर हात पार्यो, जसलाई हाल बिमा प्राधिकरणले तत्काल कुनै प्रक्रिया अगाडि नबढाउन दिर्नेशन दिइसकेको छ ।

‘ऐन बिपरीत स्वार्थ बाझिनेगरी सेयर खरिद गरिएको पाइएपछि हाललाई कुनै प्रक्रिया अगाडि नबढाउन बिमा प्राधिकरणले निर्देशन दिएको छ भने त्यसरी सेयर खरिद गर्नुको कारणबारे स्पष्टिकरण पनि सोधिएको छ,’ प्राधिकरण स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘कम्पनीलाई सात स्वार्थ बाझिनेगरी सेयर खरिद गर्नुको कारण र जवाफ ७ दिनभित्र पेस गर्न भनेका छौं ।’

स्रोतले सो विषयमा प्राधिकरणबाट थप अध्ययन तथा अनुसन्धानको काम भइरहेको जानकारी दियो ।

‘एशियन लाइफले पछिल्लो समय जसरी लगानी बिस्तार गरिरहेको छ, त्यो अनुसन्धानको विषय हो’ प्राधिकरण स्रोतले भन्यो, ‘यसमा हामी सचेत छौं ।’

एशियन लाइफको उच्च व्यवस्थापनले कमिशन लिएर महंगोमा सेयर किन्दै बिमितको रकम दुरुपयोग गरेको बिमितहरुको गुनासो छ ।