राम्रो प्रतिफल नपाएपछि प्रभु बैंकबाट बाहिरिँदै देवीप्रकाश भट्टचन, बेचे करोडबढी कित्ता सेयर



काठमाडौं । पछिल्लो १० वर्ष बैंकिङ व्यवसायमा आक्रामक लगानी विस्तार गरेका व्यवसायी देवी प्रकाश भट्टचन बैंकिङ क्षेत्रबाट बाहिरिने निष्कर्षमा पुगेका छन् । बैंकिङ क्षेत्रले अत्यन्तै कम प्रतिफल दिएको र सञ्चालक समितिमा बस्दा बढी जोखिम हुने भएकाले आफू धमाधम सेयर बिक्री गरिरहेको भट्चनले सुनाए ।

सांसदसमेत रहेका भट्टचनले प्रभु बैंकमा रहेको ठूलो मरिमाणको संस्थापक सेयर बिक्री गरेका छन् । प्रभु बैंकको पूर्वअध्यक्षसमेत रहेका भट्टचनले १ करोडभन्दा बढी कित्ता सेयर बिक्री गरेर बाहिरिएका हुन् ।

उनले बेचेकोमध्ये धेरै सेयर एशियन लाइफ इन्स्योरेन्स र त्यससँग आवद्ध व्यक्तिहरुले किनेका छन् । त्यसबाहेक अरुले पनि किनेका छन् । पछिल्लो समय एशियन लाइफ इन्स्योरेन्स आक्रामकरुपमा व्यवसाय विस्तारमा लागेको छ । हालैमात्र यो कम्पनीले यति एयरलाइन्सको ४९ प्रतिशत स्वामित्व किनेको थियो ।

बैंकबाट अपेक्षित प्रतिफल नपाएपछि आफूले सेयर बिक्री गरेको भट्टचनले सुनाए ।

‘राम्रो प्रतिफल नपाएपछि मैले प्रभु बैंकमा रहेको १ करोडभन्दा बढी कित्ता सेयर बिक्री गरेको भट्टचनले बताए । अब प्रभु बैंकमा उनको र समूहको गरी १ करोड कित्ताको हाराहारीमा संस्थापक सेयर छ ।

सबै मर्जर र प्राप्तिको नेतृत्व अध्यक्षका रुपमा उनै भट्टचनले गरेका थिए । मर्जर तथा एक्विजिशनमा निकै आक्रामक देखिएका भट्टचन पछिल्लो समय बैंकले दिएको प्रतिफलबाट सन्तुष्ट नभएका हुन् ।

आफूले विभिन्न समयमा प्रतिकित्ता १२१ देखि २०० को बीचमा सो परिमाणको सेयर बिक्री गरेको उनले जानकारी दिए ।

‘बीमा र लघुवित्त कम्पनीको साधारण सेयरको मूल्य १०००/१२०० हुँदा पनि वाणिज्य बैंकको सेयर १००/२०० रुपैयाँमात्रै रहेको र प्रतिफलका हिसाबले पनि बैंकहरुको प्रफर्मेन्स कमजोर रहेपछि मैले लगानी डाइभर्ट गरेको हुँ,’ भट्टचनले भने, ‘हामी लगानीकर्ताले खोज्ने सुरक्षित प्रतिफल हो ।’

बैंकको सञ्चालक बस्दा बढी जोखिम हुने गरेको पनि उनले सुनाए ।

‘बैंकको सञ्चालक बस्नु भनेको जोखिम बढी छ, यति ठूलो जोखिम मोल्दा पनि प्रतिफल भने अरु क्षेत्रकोजस्तो नभएपछि मैले बैंकमा रहेको आफ्नो लगानी घटाउँदै लगेको हुँ,’ उनले भने ।

पछिल्ला ६ वर्षमा प्रभु बैंकले औषतमा साढे ९ प्रतिशतमात्रै लाभांश दिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ८.४२ प्रतिशत लाभांश दिएको बैंकले २०७५/७६ मा १६.८४, २०७६/७७ मा १०.५२, २०७७/७८ मा १२.६३ र २०७८/७९ मा ८ प्रतिशत लाभांश दिएको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले यो वर्ष १ प्रतिशत पनि लाभांश दिने क्षमता राख्दैन ।

सन् १९९० मा प्रभु ट्राभलबाट व्यवसाय सुरु गरेका भट्टचन बैंक, बीमा, कार्गो, हेलिकप्टर, इन्भेष्टमेन्ट कम्पनी, वालेट बिजनेश, टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकलगायतका व्यवसायमा आवद्ध छन् ।

उनले २००१ मा प्रभु फाइनान्स र प्रभु इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेका थिए। प्रभु फाइनान्स विभिन्न संस्था गाभेर विकास बैंक बनेको थियो । २०७१ भदौ ३० गते प्रभु विकास बैंकले तत्कालीन किष्ट बैंकलाई गाभेर प्रभु बैंकको रुपमा एकीकृत कारोबार गरेको थियो ।

‘क’ वर्गको किष्ट बैंक, ‘ख’ वर्गको राष्ट्रियस्तरको प्रभु विकास बैंक, क्षेत्रियस्तरको गौरीशंकर विकास बैंक र ‘ग’ वर्गको जेनिथ फाइनान्स गाभिएर प्रभु बैंक बनेको थियो ।

२०७१ माघ १५ गते तत्कालीन ग्राण्ड बैंक प्राप्ति गर्ने सम्झौता गरेको प्रभु बैंकले सम्झौता बमोजिम २०७२ सालमा किन्यो पनि । साथै, प्रभुले खारेजीमा गएको नेपालकै पहिलो विकास बैंक नेपाल विकास बैंकलाई पनि प्राप्ति गरेको थियो ।

यी सबै मर्जर र प्राप्तिको नेतृत्व अध्यक्षका रुपमा उनै भट्टचनले गरेका थिए । मर्जर तथा एक्विजिशनमा निकै आक्रामक देखिएका भट्टचन पछिल्लो समय बैंकले दिएको प्रतिफलबाट सन्तुष्ट नभएका हुन् । २०७७ पुस २७ गतेदेखि भट्टचनले बैंकको सञ्चालक समितिमा बसेका छैनन् ।

‘अहिले बैंकिङ यस्तो भयो कि संस्थापक सेयरधनीलाई खासै लाभ छैन,’ उनले भने, ‘प्रभु बैंकको सेयर बच्ने मेरो बिजनेश डिसिजन हो ।’

सन् २०१३ देखि २०१४ मा प्रभु बैंक, प्रभु इन्स्योरेन्समा उनले लगानी विस्तार गरे। सन् २०१५ मा प्रभु हेलिकप्टर सञ्चालनमा ल्याएका उनले सन् २०१७ मा प्रभु लाइफको स्थापना गरे।

सन् २०१६ यता उनले प्रभु पे, प्रभु टिभी, नेपाल सिपिङ लाइन सञ्चालनमा ल्याए। उनी डिसहोमका अध्यक्ष पनि हुन् ।

२०७४ को चुनावमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद सूचीमा परेका भट्टचन ०७९ को चुनावमा एमालेका तर्फबाट समानुपाति सांसद बनेका छन् । २०४८ सालमा बागलुङबाट जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका भट्टचनलाई त्यही बेलादेखि राजनीतिको नशा लागेको हो ।


क्लिकमान्डु