यति एयरलाइन्समा नयाँ साझेदार भित्रियो, सुवास सापकोटा बने सीईओ



काठमाडौं । यति एयरलाइन्समा नयाँ साझेदार भित्रिएको छ । सोमबारबाट औपचारिक रूपमा एसियन लाइफले ४९ प्रतिशत सेयर स्वामित्व लिएर यति एयरलाइन्स प्रवेश गरेको हो ।

एसियन लाइफ इन्स्योरेन्सको प्रवेशसँगै यति एयरलाइन्स कम्पनी लिमिटेडमा सोमबारबाटै नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा सुवास सापकोटाले नियुक्ति लिएका छन् । यसअघि इसेवाका सीईओ रहेका सापकोटा सोमबारदेखि यति एयरलाइन्स प्रवेश गरेका हुन् ।

यति एयरलाइन्सले आइपीओमा जाने गरी नयाँ साझेदार भित्र्याएको हो । अब आवश्यक प्रक्रिया पूरा गरेर एक वर्षभित्रै यति एयरलाइन्सले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । आन्तरिक वायुसेवा कम्पनी यति एयरलाइन्स २५ वर्षपछि पब्लिक कम्पनी भएको हो ।

एसियनले यति एयरलाइन्समा भदौ १२ गते ४९ प्रतिशत लगानी गर्न अनुमतिलाई नेपाल बीमा प्राधिकरणबाट पाएको थियो । सो अनुमतिपछि एसियनले हवाई क्षेत्रमा लगानी गर्ने पहिलो बीमा कम्पनीसमेत भएको छ ।

एसियनले प्रस्ताव गरेको लगानी योजना उक्त निर्देशिकाभित्रै भएकोले स्वीकृति दिएको थियो । ‘प्राधिकरणसमक्ष एसियनले ४९ प्रतिशतले हुने आउने १ अर्ब ७५ करोड रुपैयाँ लगानीको लागि अनुमति मागेको थियो । सोही अनुसार प्राधिकरणले अनुमतिसमेत दिएको थियो ।

यति होल्डिङको यति एयरलाइन्सको हालको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । यो सेयर मूल्यलाई यतिले एसियनलाई ४९ प्रतिशत सेयर प्रिमियम मूल्यमा एसियनले खरिद गरेको पनि उल्लेख छ । उक्त सेयर प्रतिकित्ता थप ७० रुपैयाँ प्रिमियम थप गरेर १७० रुपैयाँमा एसियनले खरिद गरेको समेत स्रोतले जानकारी दिएको छ ।


क्लिकमान्डु