बैंक किन्दै बिमा कम्पनी: एशियन लाइफ आक्रामक, कुन कम्पनीले कति रुपैयाँको सेयर किने ?



काठमाडौं । प्रतिफल निरन्तर घट्न थालेपछि बैंकका पूराना संस्थापक धमाधम बाहिरिँदा बिमा कम्पनीहरुले भने बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर किनिरहेका छन् । जीवन तथा निर्जीवन बिमा कम्पनीहरुले गर्ने लगानीमा बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर पनि प्राथमिकतामा परेको हो ।

जीवन र निर्जीवन बिमा कम्पनीले गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा १३ अर्ब १० करोड ४४ लाख ८८ हजार रुपैयाँ लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरमा हुने लगानीमा निर्जीवन बिमाको तुलनामा जीवन बिमा कम्पनीको लगानी ८ गुणा बढी छ । असार मसान्तसम्म निर्जीवन बिमा कम्पनीले बैंकहरुको संस्थापक सेयरमा १ अर्ब ४१ करोड ७९ लाख ४८ हजार रुपैयाँ लगानी गरेका छन् । यता जीवन बिमा कम्पनीले ११ अर्ब ६८ करोड ६५ लाख ४० हजार रुपैयाँ लगानी गरेका छन् ।

जीवन बिमा कम्पनीमा सबैभन्दा बढी संस्थापक सेयरमा लगानी गर्ने बिमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स हो । कम्पनीले ३ अर्ब २७ करोड ४ लाख ७९ हजार रुपैयाँ लगानी गरेको छ । एशियनको मुख्य लगानी प्रभु बैंकमा रहेको छ । एशियन लाइफ प्रभुको बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व भएको सेयरधनी हो । कम्पनीको बैंकमा ३.४१ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै नेपाल लाइफले ३ अर्ब ४ करोड ५३ लाख ९१ हजार रुपैयाँ बराबरको बैंकको सेयर किनेको छ । नेपाल लाइफले ठूलो संख्यामा सानिमा बैंकको सेयर किनेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १ अर्ब ३८ करोड ५३ लाख ८६ हजार, नेशलन लाइफले १ अर्ब १३ करोड ७१ लाख ६४ हजार, सन नेपाल लाइफले ८६ करोड ६ लाख ६४ हजार रुपैयाँ लगानी गरेका छन् ।

यस्तै सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानले ८२ करोड ७२ लाख ४३ हजार, सूर्यज्योती लाइफले ५३ करोड २ लाख ६८ हजार, रिलायबल नेपाल लाइफले ५० करोड १७ लाख ९२ हजार, आईएमई लाइफले ६ करोड ८५ लाख ३८ हजार, सानिमा रिलायन्सले ५ करोड ५५ हजार र प्रभु महालक्ष्मी लाइफले ९५ लाख ६० हजार रुपैयाँ लगानी गरेको छ । बैंकको संस्थापक सेयरमा सबैभन्दा कम लगानी प्रभु महालक्ष्मीको रहेको छ ।

निर्जीवन बिमा कम्पनी तर्फ सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३७ करोड ३१ लाख ९३ हजार रुपैयाँ लगानी गरेको छ । बिमा कम्पनीहरुको नियामक नेपाल बिमा प्राधिकरणका अनुसार असार मसान्तसम्म शिखर इन्स्योरेन्सले ३० करोड ७९ लाख १ हजार, एनएलजी इन्स्योरेन्सले १७ करोड ३८ लाख १६ हजार, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १७ करोड ४९ हजार, नेको इन्स्योरेन्सले ११ करोड ४७ लाख, दि ओरियन्टलले ११ करोड ३९ लाख १२ हजार, नेशनल इन्स्योरेन्सले ९ करोड ८० लाख ८३ हजार, सिद्धार्थ इन्स्योरेन्सले ३ करोड ३० लाख ५३ हजार रुपैयाँ लगानी गरेका छन् ।

प्राधिकरणका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ करोड ९५ लाख ७० हजार,नेपाल इन्स्योरेन्सले ७३ लाख ३८ हजार र युनाइटेड अजोड इन्स्योरेन्सले ६२ लाख ५३ हजार रुपैयाँ लगानी गरेका छन् ।

अहिले बैंकहरुको रिटर्न अफ इक्विटी (आरओई) १० प्रतिशत भन्दा कम छ । बैंकहरुको आरओई कम हुँदा पनि बिमा कम्पनीहरु भने संस्थापक सेयरमा लगानी बढाइरहेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुको आरओई औसतमा ९.०६ प्रतिशत रहेको छ । बैंकहरुको आरओई घटेपछि कतिपय संस्थापक सेयरधनीहरुले बैंकको स्वामित्व घटाउँदै गएका छन् भने केही संस्थापक सेयरधनी बैंकबाट सेयर बिक्री गरेर बाहिरिन थालेका छन् ।

बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) भएपनि कर्जाको माग न्यून रहेको छ । बैंकहरुले प्रभावकारी रुपमा कर्जा प्रवाह गर्न नसक्दा त्यसको असर आरओईमा परेको छ । आरओई न्यून हुँदा पनि बिमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा भने १३ अर्ब रुपैयाँ लगानी गरेका हुन् ।

बिमा प्राधिकरणद्धारा जारी बिमकको लगानी निर्देशिका, २०७५ बमोजिम निर्जीवन बिमा कम्पनीहरुले घर जग्गामा न्यूनतम ५ प्रतिशत र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् ।

कम्पनीहरूले क वर्गको बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, घर जग्गामा बढिमा ५ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत, क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढिमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढिमा २० प्रतिशत लगानी गर्नसक्ने व्यवस्था छ ।

त्यसैगरी, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढिमा २० प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढिमा ५ प्रतिशत, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा २० प्रतिशत र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।

बिमा कम्पनीहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि लगानीका क्षेत्रहरू पनि विस्तार गर्नुपर्ने कम्पनीहरूले माग गर्दै आएका थिए । सोहीबमोजिम प्राधिकरणले लगानी निर्देशिका जारी गरेको थियो । समितिले जीवन, निर्जीवन तथा पुनर्बिमा कम्पनीहरूले लगानी गर्ने क्षेत्रहरू तोकिदिएको थियो ।


सोभित थपलिया