प्रसाईंलाई हत्कडी लगाएर ल्याइयो

854
Shares

काठमाडौं । दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई बुध्द एयरमार्फत काठमाडौं ल्याइएको छ ।

झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरु सवार विमान काठमाडौं आइपुगेको हो । चन्द्रगढी विमानस्थलमा ल्याउँदा प्रसाईंलाई हत्कडी लगाइएको थियो । तर विमानमा चढाउँदा भने हत्कडी फुकालिएको छ ।

प्रहरीले प्रसाईं र उनका बडिगार्डलाई झापाबाट नियन्त्रणमा लिएको जनाएको छ । प्रसाईंलाई भारतको आसामबाट पक्राउ गरिएको थियो । उनलाई आज विहान नेपाल ल्याइएको हो ।

चैत १५ मा राजावादी प्रदर्शनको क्रममा तोडफोड, आगजनी र लुटपाटको नेतृत्व गरेको आरोप प्रसाईंमाथि लागेको छ । उनले निषेधित क्षेत्र तोड्ने भन्दै प्रहरीको ज्यानै लिने गरी गाडी कुदाएका थिए ।

त्यस्तै राजावादीहरुले सञ्चारगृह, व्यापारिक केन्द्र, निजी तथा सरकारी भवन गरी ४० वटा संरचनामा क्षति पुर्‍याएका थिए । त्यसैगरी ६९ वटा सवारी साधन तोडफोड र आजगनी गरेका थिए ।

उक्त घटनामा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको ज्यान गएको थियो । १२९ जना घाइते भएका थिए । त्यसक्रममा प्रहरीले कयौं राउण्ड गोलीसमेत चलाएको थियो ।

प्रसाईं फरार रहे पनि प्रहरीले राप्रपाका नेताहरु रवीन्द्र मिश्र र धवलशमशेर राणासहित १ सय बढी पक्राउ परेका छन्।