
काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति नजुट्दा नेपाल राष्ट्र बैंकले गभर्नर पाएन । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भागबन्डा नमिल्दा राष्ट्र बैंक जस्तो सम्वेदनशील निकाय कायम मुकायम गभर्नरको भरमा चल्नुपर्ने अवस्था आएको छ ।
दुई दलको भागबन्डा नमिल्दा सरकारले नै राष्ट्र बैंक ऐनको उल्लंघन गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नयाँ गभर्नर नियुक्त गरी नाम सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । एक महिनाअघि नियुक्ति त परै जाओस् पद रिक्त भइसक्दा पनि सरकारले गभर्नर नियुक्ति नगरेर कानूनी राज्यको उपहास गरेको छ ।
यही चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएको छ । अर्थमन्त्री विष्णु पौडेलले चैत २५ गते (आज) बरिष्ठ डेपुटी गभर्नर डा नीलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री ओलीको नीलम ढुगानालाई गभर्नर बनाउने प्रस्तावमा कांग्रेसले असहमति राखेको छ । कांग्रेस सभापति देउवाले राजेन्द्रकिशोर क्षेत्री, रविन्द्र पाण्डे, ज्ञानेन्द्र ढुंगाना र डा गुणाकर भट्टमध्ये १ जनालाई गभर्नर बनाउन प्रधानमन्त्री ओलीलाई नाम दिइसकेका छन् ।
देउवाले नाम दिएका ४ जनामध्ये २ जनाको नाममा प्रधानमन्त्री ओली सहमति हुनै नसक्ने अडान राखेको स्रोतको दाबी छ । २ वटा नामका विषयमा छलफल गर्न सकिने भए पनि अहिलेलाई नीलमलाई नै बनाउनुपर्ने ओलीको अडान छ । झापा स्थायी घर भएकी नीलम एमाले निकट हुन् ।
मौद्रिक तथा विदेशी विनिमय नीति समेत तर्जुमा र कार्यान्वयन गर्ने महन्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने राष्ट्र बैंकअर्थतन्त्रमा देखिएको शिथिलताको समयमा पनि कायम मुकायमको भरमा चल्लु पर्ने अवस्था आउनु दुखद भएको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् ।
गभर्नर सिफारिस समितिको संयोजक समेत रहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सोमबार मन्त्रिपरिषदमा सहभागि हुँन जाँदा समिति सिफारिस समितिले दिएको नामा लिएर जानुको सट्टो त्यसअघि नै बरिष्ठ डेपुटी गभर्नर निलमलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकिदिए ।
सोमबार सरकारले गभर्नर नियुक्त नगरी कायम मुकायम गभर्नर तोकेसँगै केही समय केन्द्रिय बैंक कामु गभर्नरको भरमा चल्ने अवस्था आएको छ । नेपाल सरकारको आर्थिक सल्लाहकार समेत रहेको केन्द्रिय बैंकको नेतृत्व बजेटको मुखमा नै गभर्नरबिहिन भएको छ ।
राष्ट्र बैंकले सरकारलाई सुझाव दिने उदेश्यले पुर्वबजेटकालिन छलफल समेत सुरु गरीसकेको छ । तर, केन्द्रिय बैंकको कार्यकारी प्रमुख मसते रहने गभर्नर रिक्त हुँदा पनि राजनीतकि भागवण्डा नमिलेकै कारण केन्द्रिय बैंकमा कायम मुकायम जिम्मेवारी तोकिएको हो ।
अर्थमन्त्री पौडेलको संयोजकत्वमा चैत ११ गते गठन भएको सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद डा विश्व पौडेल सदस्य छन् । अहिलेसम्म समितिको एउटा पनि बैठक बसेको छैन । चैत २६ गते (भोलि) देखि एक साताका लागि सिफारिस समितिका सदस्य पौडेल विदेश भ्रमणमा जाँदैछन् । यो समाचार तयार पार्दासम्म सिफारिस समितिको बैठक बसेको छैन । समितिको बैठक नबसी पौडेल विदेश गएको अवस्थामा कम्तिमा एक हप्ता गभर्नर नियुक्त हुने संभावना छैन ।
स्रोतका अनुसार ओली र देउवा कुनै एउटा नाममा समझदारीमा नआएसम्म राष्ट्र बैंकले कामू गभर्नरकै भरमा चल्ने छ ।
‘ओली र देउवा तत्काल समझदारीमा आउने सम्भावना कमै छ त्यसैले केही समय कामु गभर्नरले नै राष्ट्र बैंक चलाउने पक्का छ’ स्रोतले भन्यो ।
प्रतिक्रिया