५ करोड घुस ‘अफर’को भिडियो लिक भएपछि लफडा, बालेनले राखेको सीसीटीभी कसले हटायो ?

50.7k
Shares

काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)र वडाअध्यक्षहरु, कर्मचारीबीचको सम्बन्ध हार्दिक हुन सकिरहेको छैन ।

चैत २१ गते अधिकांश वडाअध्यक्षहरु, कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराए । त्यतिबेला महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय भित्र प्रवेशमा रोक्न खोजेको भन्दै कर्मचारी र वडा अध्यक्षहरु आक्रोशित बने ।

कानुनअनुसार प्रमुख प्रशासकीय अधिकृत मातहत हुने महानगर प्रहरी बलले मेयर शाहको निर्देशनमा गुरागाईंलाई भित्र प्रवेश गर्न नदिएपछि समस्या देखियो।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको चाँबी नभएपछि ढोका तोडफोड गरेर उनलाई कार्यालयमा प्रवेश गराइएको थियो । जसविरुद्ध बालेनका स्वकीय सचिव भूपदेव शाहले सञ्चारमाध्यममा कारबाहीको चेतावनी दिएका थिए ।

बालेनको सचिवालयले निर्वाचित जनप्रतिनिधिलाई धम्की दिने र कर्मचारीलाई अनावश्यक लाञ्छाना लगाएको भन्दै ५ वटा स्थानीय तह कर्मचारी संगठनहरुले महानगरमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

उनीहरुले प्रहरी प्रमुख पाण्डे र बालेनका स्वकीय सचिवमाथि कारबाहीको मागसमेत अघि सारेका छन् ।

सीसीटीभी हटाइयो

उक्त प्रकरणपछि सामाजिक सञ्जालहरुमा एउटा भिडियो भाइरल बन्यो । वडाअध्यक्षहरुको छलफलको भिडियोमा काठमाडौं टावर निर्माणका लागि ५/५ करोड घुस अफर गरिएको संवाद सुन्न सकिन्थ्यो ।

बालेन कर्मचारीहरुप्रति असहिष्णु भएको आरोप लागिरहँदा उक्त सीसीटीभी क्लिप काटेर उनको सचिवालयले भ्रम छर्न खोजेको आरोप वडाअध्यक्षहरुले लगाएका छन् ।

यो घटनापछि महानगरको कार्यालयमा राखिएका सीसीटीभीलाई हटाउन थालिएको छ भने सीसीटीभीको नियमन र नियन्त्रणका लागि पनि कार्यविधि बनाउने तयारी थालिएको छ ।

सीसीटीभी माथिको नियन्त्रण अहिले बालेन र उनको टीममा रहेको जनाइएको छ । अडियोसहित रेकर्ड हुने उक्त सीसीटीभी फुटेजमा छेडखानी गरि अर्थ लाग्ने क्लिपमात्र बाहिर ल्याइएको भन्दै वडाअध्यक्ष र कर्मचारीहरुले आपत्ति जनाएपछि अहिले केही स्थानको सीसीटीभी निकालिएको छ ।

महानगरको सुशासन समितिका प्रमुख खेमराज तिवारीले सीसीटीभी राख्ने वा हटाउने भन्ने क्षेत्राधिकार कार्यकारी अधिकृतको क्षेत्राधिकार भएको बताए ।

‘सीसीटीभी राख्ने वा हटाउने भन्ने कार्याकारी अधिकृतको क्षेत्राधिकारको कुरा हो,’ उनले क्लिकमान्डुसँग भने, ‘दुई/तीन ठाउँको सीसीटीभी हिजोतिर झिकिएको मैले पनि सुनेको छु ।’

कार्यकारी प्रमुख, बैठक कक्ष लगायत २/३ ठाउँको सीसीटीभी निकालिएको छ ।

तिवारीले सीसीटीभी कहाँकहाँ राख्ने, कसले त्यसलाई सञ्चालन गर्ने लगायतको विषय तय गर्न कार्यविधि बनाउने तयारी भइरहेको र त्यसका लागि वैशाखको पहिलो साता सूचना प्रविधि र सुशासन समितिको संयुक्त बैठक बस्ने तयारी भइरहेको बताए ।

‘सीसी क्यामेरा कसले हेर्न पाउने, कहाँ कहाँ राख्नु पर्ने हो त्यसको कार्यविधि बनाउनु पर्ने छ,’ उनले भने, ‘मेयरको बैठकको सीसीटीभी लिक हुन्छ भने त ठिक भएन, त्यसलाई सार्वजनिक गर्ने को हो, गर्नेमाथि के हुन्छ भन्ने त चाहियो नि, होइन?’

सीसीटीभी जसले पायो त्यसले निकाल्ने र प्रशारण गर्न पाउन नहुनेमा वडाअध्यक्षहरु र कर्मचारीको एक स्वर छ ।