ब्याजदर घटेपछि मुद्दती नवीकरण हुन छाड्यो, सेयर बजारको लागि ‘भ्याक्युम’ बन्दै

8.4k
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून विन्दुमा पुगेसँगै सेयर बजारमा लगानी गर्ने क्रम बढ्दै गएको छ । विभिन्न राजनीतिक उतारचढाव र अनिश्चितताका कारण सेयर बजारमा त्यसको प्रभाव नदेखिए पनि तथ्यांकहरुले भने ब्याजदर घट्दै जाँदा चालु आर्थिक वर्षको सेयरबजारमा ठूलो लगानी भित्रिएको देखाउँछ ।

२०८१ माघसम्मको तथ्यांक हेर्दा वाणिज्य बैंकहरुको निक्षपको भारित औसत ब्याजदर ४.६२ प्रतिशतमा सीमित भएको छ । जबकि, २०८० माघमा यस्तो ब्याजदर ७.०१ प्रतिशत थियो ।

चालु वर्षको माघसम्ममा साधारण बचत (सेभिङतर्फ)को ब्याजदर ३.३६ प्रतिशत र मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट)को ३.२ प्रतिशत छ । तर, माघ महिनासम्मको उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.१६ प्रतिशत छ । यसरी, बैंकले प्रदान गर्ने ब्याजदर न्यून हुँदा सर्वसाधारणलाई बैंकमा पैसा राखेर नाफा हुने भन्दा पनि उल्टै घाटा हुने स्थिति छ ।

बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर ५ प्रतिशतको करिब र साधारण बचतमा ३ प्रतिशत मात्रै छ । यस्तोमा बैंकमा पैसा राख्नेभन्दा पनि आम नागरीकहरु लगानीका अन्य क्षेत्रको खोजीमा लाग्ने अवस्था आउने बैंकरहरुको पनि बुझाइ देखिन्छ ।

ब्याजबाट प्राप्त हुने आम्दानी घटेसँगै मुद्दती निक्षेप नवीकरण कम हुँदै गएको छ । लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयबिक्रम शाह ब्याजदर न्यून विन्दुमा पुगेसँगै मुद्दती निक्षेप नवीकरण घटेर गएको बताउँछन् । ‘पछिल्लो समय मुद्दती निक्षेप नवीकरण घटेर गएको छ । यद्यपि, बचत तर्फको हिस्सा भने बढ्दो मात्रामा छ,’ सीईओ शाह भन्छन्, ‘ब्याज आम्दानी घटेसँगै मानिसले सो पैसा अन्य क्षेत्रमा लगाउन खोजेको जस्तो संकेत देखिन्छ ।’

यस्तै, नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी पनि मुद्दती निक्षेपको नवीकरण घटेको बताउँछन् । ‘अहिले मुद्दती निक्षेपको नवीकरण घटे पनि बचततर्फको भने बढेको छ । यसले अन्य क्षेत्रमा खर्च बढाउन खोजेको जस्तो संकेत देखिए पनि कुन क्षेत्रतर्फ जान खोजेको भन्ने स्पष्ट आँकलन गर्न सकिने ठाउँ छैन,’ सीईओ केसीले भने ।

यसरी, ब्याज न्यून विन्दुमा खुम्चिएर मुद्दती निक्षेप नवीकरण घट्दा सेयर बजारमा पनि त्यसतर्फको पुँजी भित्रिने स्थिति देखिन्छ। ब्याज आम्दानी न्यून भएकाले बैंकमा राखेको पैसालाई झिकेर सेयर बजारमा लगानी गर्न खोजिएको स्थिति अन्य तथ्यांकहरुले पनि देखाउँछ।

नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको सात महिना (माघ)सम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने ८५ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।

गएको असारसम्म भने ९० अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो । वाणिज्य बैंकहरुको सेयर धितो कर्जा ७ महिनामै करिब २३ अर्ब रुपैयाँले बढेर ९३ अर्ब १२ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ रहेको वाणिज्य बैंकहरुको सेयर धितो कर्ता माघ मसान्तसम्म आइपुग्दा २२ अर्ब ७८ करोड अर्थात ३२.३८ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

अर्थशास्त्रको सिद्धान्तले ब्याजदर कम भएको बेलामा सर्वसाधारणले नगद (पैसा)लाई ‘स्पेकुलेसन मोटिभ’ले होल्ड गर्छन् भन्छ । तथ्यले पनि यस्तै देखाउँछ । ब्याजदर कम भएको बेलामा एफडी घटेकाले पनि लगानीकर्ता सेयर बजारमा राम्रै अवसरको खोजीमा रहेको देखाउँछ ।

राष्ट्र बैंकको तथ्यांक हेर्दा पछिल्लो पटक ठूलो सेयर लगानीकर्ताले सेयर धितो कर्जा लिनेक्रम पनि बढेको देखिन्छ । माघ मसान्तसम्ममा १० करोड माथिको ७६ अर्ब ४० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको देखिन्छ । गत असारसम्म भने १० करोड माथिको ५५ अर्ब ९३ करोडको सेयर धितो कर्जा प्रवाह भएको थियो । पछिल्लो सात महिनामा नै १० करोड माथिको २० अर्ब ४७ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ ।

यसले पनि बचत गरिएको रकम सेयर बजारमा भित्र्याउने अवस्थामा लगानीकर्ता पुगेको देखाउँछ । यसका अलावा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन स्थितिलाई हेर्दा पनि सेयर बजारतर्फ लगानी भित्रिने क्रममा रहेको देखिन्छ । माघ महिनासम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ४५ अर्ब ३४ करोड (३.८ प्रतिशत)ले मात्रै बढेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो निक्षेप ३ खर्ब ९७ अर्ब २० करोड (७ प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ । माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, ३४.८ प्रतिशत र ५२.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.२ प्रतिशत, २७.४ प्रतिशत र ५९.८ प्रतिशत थियो ।

ब्याजदर घट्दै जाँदा मुद्दती निक्षेपको अंक घट्ने र बचतको रकम बढ्नु स्वभाविक भएको वित्तीय क्षेत्रका जानकारहरु बताउँछन् । अझै पछिल्लो केही समय यताको आयातको तथ्यांकमा पनि घरयासी प्रयोजनाको विद्युतीय उपकरण लगायतका उपभोग्य बस्तुको आयात बढेको छ । यसले पनि ब्याजदर घटेको अवस्थामा बैंकमा पैसा राखेर पैसाको भ्यालु घटाउनेभन्दा पनि घरयासी आवश्यकता पूरा गर्ने भन्नेमा पनि उपभोक्ता केन्द्रित भएको हुनसक्ने नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन् ।

नेपालको सन्दर्भमा विगतदेखि नै मुद्रास्फीतिभन्दा बचतको ब्याजदर कम भएर वास्तविक ब्याजदर ऋणात्मक हुँदा कुल गार्हस्थ बचत घट्ने गरेको उनको तर्क छ । यसले पनि ब्याजदर घट्दा नागरिकले बचत भन्दा खर्च वा बैकल्पिक लगानीलाई प्राथमिकता दिने गरेको देखाउने उनले बताए ।

२०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत रहेको छ । २०८० माघ मसान्तमा यस्तो निक्षेपको अंश ३६.४ प्रतिशत रहेको थियो । यसअघि बैंकले १२ प्रतिशतभन्दा बढी ब्याज दिने गरेकाले धेरैले आफ्नो पुँजीलाई बैंकमा राख्ने गरेको देखिन्थ्यो । तर, हाल ब्याजदर निकै न्यून विन्दुमा रहेकाले मानिसलाई बैंकमा पैसा जम्मा गर्दाभन्दा सेयरमा लगानी गर्दा बढी फाइदा हुने स्थिति देखिन्छ । ठूला लगानीकर्ताले बैंकबाट लिने मार्जिक प्रकृतिको सेयर धितो कर्जा बढाइरहेको अवस्था छ। पछिल्लो २ साता यता देखिएको राजनीतिक गतिविधि र प्रदर्शनका कारण सेयर लगानीकर्तामा केही प्रभाव परेको अवस्था देखिन्छ ।

अर्थशास्त्रको सिद्धान्तले ब्याजदर कम भएको बेलामा सर्वसाधारणले नगद (पैसा)लाई ‘स्पेकुलेसन मोटिभ’ले होल्ड गर्छन् भन्छ । तथ्यले पनि यस्तै देखाउँछ । ब्याजदर कम भएको बेलामा एफडी घटेकाले पनि लगानीकर्ता सेयर बजारमा राम्रै अवसरको खोजीमा रहेको देखाउँछ ।

पछिल्लो दुई महिनाका घटनाक्रम र बजारमा देखिएको रिफ्लेक्सन

दुई महिनाअघि अर्थात् माघ २१ गते नेप्से २७३० विन्दुमा थियो । माघ २१ अघिका तीन कारोबार दिन लगातार बढेको नेप्से यसपछिका पाँच कारोबार दिन भने लगातार घट्दै ५३ अंकको गिरावटका साथ माघ २८ मा २६७७ विन्दुमा सीमित भयो । लगातारको पाँच दिनको गिरावटपछि नेप्से दुई दिन सामान्य अंकले बढेर फागुन १ गते २६७८ विन्दुमा कायम भयो ।
यो समयमा बजार केही दिन निरन्तर बढ्ने र फेरि निरन्तरजसो घट्नेक्रम चलेको थियो । फागुन १ गते २६७८ विन्दुमा रहेको नेप्से ९ कारोबार दिन लगातार बढ्दै २१२ अंकको वृद्धिका साथ फागुन १८ मा २८९० विन्दु पुग्यो ।

तर, सेयर बजार बढ्ने क्रमले फागुन १८ पछि भने निरन्तरता पाउन सकेन । लगातार २१२ अंकको वृद्धिपछि नेप्से सामान्य करेक्सनमा जाने र फेरि बढ्ने अपेक्षा गरिएको थियो । यद्यपि, त्यसो हुन सकेन । सो समयमा मुलुकका विभिन्न ठाउँमा राजावादी आन्दोलन भइरहेका थिए । झन्, पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा फागुन २५ गते विमानस्थलमा धेरै मानिसको उपस्थिति रह्यो । राजतन्त्र फर्काउन भन्दै सुरु भएको राजावादी मुभमेन्ट, सकार परिवर्तन हुने भन्दै समय समयमा चल्ने गरेका हल्ला जस्ता अस्थिर राजनीतिक घटनाक्रमले गर्दा सेयर बजार प्रभावित बन्दै आएको छ ।

यसले राजनीतिक माहोल अनिश्चिततामा रहनसक्ने त्रास लगानीकर्तामा फैलियो । जसले गर्दा फागुन १८ गते २८९० विन्दुमा रहेको नेप्से त्यसपछिको सात कारोबार दिन लगातार घट्दै फागुन २७ मा २७१९ विन्दुमा खुम्चियो । सात दिनको लगातारको गिरावटपछि फागुन २८ मा भने नेप्से १७ अंकले बढ्दै २७३६ विन्दुमा पुग्यो ।

फागुन २८ मा नेप्सेले केही सुधारको संकेत देखाए पनि त्यसो हुन सकेन । फेरि फागुन २८ पछिको छ कारोबार दिन नेप्से निरन्तर संकुचित बन्दै चैत १० मा २६१४ विन्दु कायम भयो । छ कारोबार दिन लगातार घटेपछि चैत ११ मा नेप्से २६ अंकले बढेर २६४० विन्दुमा कायम भएपनि, चैत १२ गते फेरि ५८ अंकले घट्दै २५८२ विन्दुमा रोकियो ।

चैत १२ पछिका तीन कारोबार दिन नेप्से दाहोरो अंकले बढ्दै तीन दिनमा १११ अंकको वृद्धिका साथ चैत १७ मा आईपुग्दा २६९३ विन्दुमा कायम भयो । यसपछि, चैत १९ गते नेप्से १६ अंकले घटेपनि चैत २० मा फेरि २३.८६ अंकले बढेर २७०० विन्दुमा उक्लिएको छ । चैत २१ (बिहीबार) भने पनि नेप्से ३.३५ अंकले बढेर २७०३ विन्दुमा कायम छ ।

खासगरी, गत सातादेखि भने नेप्से पुन बढ्दोक्रममा देखिएको छ । पछिल्लो दुई महिनाको कारोबार रकमलाई हेर्ने हो भने नेप्सेमा एकै दिन १४ अर्ब बढीसम्मको कारोबार भएको देखिन्छ । गत फागुन १८ गते नेप्सेमा १४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

यसपछि, फागुन १९ मा १३ अर्ब ७३ करोड, फागुन २० मा १२ अर्ब ८२ करोडको कारोबार भएको थियो । तर, त्यसबाट निरन्तर घट्दै कारोबार रकम ४ अर्बसम्म खुम्चिएको थियो। यद्यपि, बिहीबार (चैत २१)मा भने नेप्सेमा कुल ७ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्लो केही दिन यता कारोबार रकम पनि बढ्दो मात्रामा देखिएको छ । समग्र, वित्तीय सूचकलाई हेर्दा बजारका लागि सकारात्मक माहोल रहेको देखिन्छ ।

ठूला लगानीकर्ताले बढाएको सेयर धितो कर्जा मात्रै नभएर बीमा कम्पनीहरुले बढाएको संस्थागत लगानीले समेत सेयर बजारमा एउटा ‘भ्याक्युम’ तयार भएको संकेत देखाउँछ । साधारण सेयरमा जीवन बिमा कम्पनीको लगानी हेर्ने हो भने पनि बढ्दो मात्रामा देखिन्छ। २०८० पुसमा १२ अर्ब ३७ करोड रहेको जीवन बिमा कम्पनीको सेयर लगानी चालु आर्थिक वर्षको पुसमा आउँदा दोब्बले बढेर २५ अर्ब ७७ करोड पुगेको छ । यसबाट पनि संस्थागत लगानीकर्ताले बजारमा लगानी बढाएको संकेत गरेको छ । जीवन बिमा कम्पनी मात्रै नभएर निजी क्षेत्रको पुनर्बीमा कम्पनीले पनि साधारण सेयरमा लगानी राम्रै बढाएको छ ।

भुक्तानी सन्तुलन गत वषर्कै जस्तो अवस्थामा देखिदा पनि बैंकहरुके निक्षेपको वृद्धिदर भने न्यून छ । यस्तोमा आम नागरिकको आकर्षण निक्षेपमा राख्नेभन्दा पनि अन्य क्षेत्रमा लगानीको अवसर खोजेको पनि हुनसक्ने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन् ।

ब्याजदर कम हुँदा हुन्डी जस्त माध्यम प्रयोग हुने साथै पुँजी पलायनको जोखिम पनि रहने उनको तर्क छ । वास्तविक ब्याजदर ऋणात्मह हुँदा एउटा लगानीको क्षेत्र पुँजी बजार भए पनि अस्थिर राजनीतकि माहोलकका कारण लगानीकर्तामा सकारात्मक वातावरण बन्न सकेको अवस्था भने देखिँदैन ।

फागुनमा सेयर बजारमा केही नयाँ मुभमेन्ट सुरु भएको जस्तो देखिए पनि फागुन २० पछि देखिएको घनाक्रमले भने सेयर बजारलाई ठूलो टेवा दिन सकेको छैन । तर, सेयर बजारमा देखिएको संस्थागतक लगानीकर्ताको लगानी र ठूला लगानीकर्ताले बढाएको कर्जा तथा पछिल्लो केही दिनयता धमाधम सुरु भएको सार्वजनिक निष्कासनले पनि नयाँ मुभमेन्ट सुरु हुने अपेक्षा आम लगानीकर्तामे देखिन्छ । त्यसको लागि बजारले बलियो आधार बनाए पनि गति लिन नसकेको लगानीकर्ताको विश्लेषण छ ।

ब्याजदर मात्रै नभएर अन्य वित्तीय सूचक पनि बजारका लागि सकारात्मक स्थितिमा छन् । लगानी योग्य रकम पर्याप्त छ भने सेयर बजारसँग महत्वका साथ जोडेर हेरिने विदेशी मुद्रा सञ्चिति राम्रो छ । रेमिट्यान्सको वृद्धि दर सकारात्मक छ भने कसिला नीति पनि सेयर बजारमाथि लगाइएको अवस्था छैन । राजनीतिक घटनाक्रमेसँगै बजार अस्थिर बन्दा लय समाउन नसकेको स्थिति देखिन्छ ।

राजावादी आन्दोलन, सत्तासमीकण फेरिने चर्चा जस्ता विषयले बजारलाई अस्थिर बनाउँदै आएको छ । सेयर लगानीकर्ता देव गुरागाईं अहिले समग्र वित्तीय सूचक राम्रो हुँदा पनि राजनीतिक उतारचढाव र नयाँ गभर्नर जस्ता विषयमा फैलाइने हल्लाका पछाडि लगानीकर्ता लाग्दा बजार मजबुद बन्न नसकेको बताउँछन् ।

‘विशेषतः राजनीतिक घटनाक्रमसँगै सेयर बजारले धेरै प्रतिक्रिया नदेखाउनुपर्ने हो । तर, हाम्रोमा यस्तै हल्लाको पछि लागेर आत्तिएर सेयर खरिद तथा बिक्री हुने गरेको छ,’ गुरागाईं भन्छन्, ‘लामो समयदेखि यस्तै विषयका पछाडि लागेर सेयर कारोबार गर्ने प्रवृत्ति चलेकाले यसमा सुधार हुन सहज छैन ।’ बजार स्थिर बन्न लगानीकर्ताको कारोबार शैलीमा सुधार आउनुपर्ने उनको तर्क छ ।