
काठमाडौं । पछिल्लो केही वर्षको अन्तरालमा सेयर बजारमा लगानी गर्ने शैली (प्याटर्न) मा आमूल परिवर्तन आएको छ । केही वर्ष अगाडिसम्म सेयरमा बजारमा लगानी गर्ने भनेपछि राम्रो प्रतिफल दिने र मजबुद कम्पनी छनोट गर्ने गरिन्थ्यो । लगानी अघि सो कम्पनीको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, मूल्य–बिक्री अनुपात, बजार मूल्य, ऋण इक्विटी अनुपात, लाभांश वितरण अनुपात जस्ता वित्तीय सूचकका विषयमा अध्ययन गरिन्थ्यो ।
खासगरी, कम्पनीको वित्तीय विवरण, प्रतिसेयर मूल्य, प्रतिसेयर नेटवर्थ, नाफा/नोक्सान, लाभांश क्षमता, प्रदर्शन, व्यवस्थापकीय पाटोलगायतलाई हेरेर लङ टर्मका लागि लगानी हुन्थ्यो । तर, हाल भने लगानीको यो शैलीमा व्यापक परिवर्तन आएको छ ।
अर्थात्, आजका दिनमा लगानी गर्ने कम्पनीको वित्तीय सूचकलाई हेर्ने भन्दा पनि बजारमा कुन कम्पनीको सेयर मूल्य बढी उतारचढाव भएको छ? कस्ता सेक्टर (समूह)मा लगानीको चर्चा चलेको छ? सामाजिक सञ्जालमा ठूला भनिएका लगानीकर्ताले कस्तो संकेत दिएका छन्? भन्ने विषयलाई आधार बनाउन थालिएको छ ।
अझ भन्नुपर्दा, कुनै पनि कम्पनीको आधिकारिक जानकारीबिना सामाजिक सञ्जालहरू (फेसबुक, एक्स, युट्युब, ह्वाट्सएप, भाइबर, टेलिग्राम र क्लब हाउस)मा विभिन्न टिप्पणी गर्ने र खरिद बिक्री गर्न सुझाव दिनेको पछाडि लागेर ट्रेडिङ गर्ने प्रचलन बढेको छ । कुनै कम्पनी लगानी योग्य छ वा छैन भन्ने विषयमा ध्यान नपुर्याई खरिद गरेर तत्कालै बिक्री गर्ने उद्देश्यमा सेयर बजारमा लगानी भइरहेको छ जसलाई हाम्रो बजारमा ट्रेडिङ हाबी भएको रुपमा परिभाषित हुँदै आएको छ । सेयर कारोबार अनलाइन प्रणालीमा हुन थालेपछि र ठूलो युवा पुस्ता एकै पटक बजारमा प्रवेश गरेपछि सेयर लगानी प्याटर्नमा व्यापक परिवर्तन आएको हो ।
सेयर लगानीकर्ता देव गुरागाईं सेयर कारोबार डिजटलाइज भएपछि लगानी शैलीमा व्यापक परिवर्तन आएको र ट्रेडिङ मात्रै लगानी हो भन्ने स्थितिमा पुगेको बताउँछन् । ‘पहिला अनलाइनबाट आफैंले कारोबार गर्ने स्थिति थिएन । ब्रोकरलाई भनेर, फारम भरेर तथा आफैं उपस्थिति भएर सेयर कारोबार गर्नुपर्ने हुन्थ्यो,’ गुरागाईं भन्छन्, ‘तर, अहिले अनलाइनबाट नै कारोबार गर्न सकिन्छ । आफ्नै डिभाइस तथा ल्यापटप वा फोनबाट जति पटक पनि सेयर किनबेच गर्न मिल्ने भएकाले अधिकांश लगानीकर्ता ट्रेडिङमा नै रमाउन थालेका हुन् ।’
कोरोना महामारीको समयमा सेयर कारोबार अनलाइन भएको र सोही समयमा नयाँ युवा पुस्ता बजारमा भित्रिएर ट्रेडिङमै रमाएका कारण बजारमा ट्रेडर हाबी भएको उनी बताउँछन् । पछिल्लो पटक बजार प्रवेश गरेको युवा पुस्तादेखि बजारका लङटर्म लगानीकर्ता भनेर चिनिने सबै व्यक्ति ट्रेडिङमा नै रमाइरहेको गुरागाईंको भनाई छ । पुरानादेखि नयाँ सबै लगानीकर्ता ट्रेडरमा रमाउँदा सेयर लगानीको शैली नै फेरिएर गएको हो ।
युवापुस्ता बजार प्रवेशले झनै मजबुद बनेको ट्रेडिङ प्याटर्न
हुन त, आर्थिक वर्ष २०७७/७८ बाट सेयर बजारमा युवा पुस्ताको प्रवेश उल्लेख्य मात्रामा भएको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार २०७७ असार मसान्तसम्म डिम्याट खाता (हितग्राही खाता) खोल्नेको संख्या १७ लाख हाराहारी थियो ।
यसबाट थपिएर आर्थिक वर्ष २०७७/७८ अन्त्यमा डिम्याट खाता खोल्नेको संख्या ३७ लाख ३६ हजार ९२६ पुग्यो । डिम्याट खाता खोल्नेको लर्को यतिमा मात्रै रोकिएन, बरु झनै बढेर आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा ५२ लाख ६० हजार २५१ पुग्यो भने आर्थिक वर्ष २०७९/८० मा उक्त संख्या ५८ लाख २३ हजार पुग्यो ।
आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्म यो संख्या झनै बढेर ६२ लाख ७२ हजार ३५१ पुगेको देखिन्छ । जसमध्ये डिम्याट खाता खोल्नेमा पुरुष ३६ लाख ४ हजार ५०७, महिला २६ लाख ६० हजार ६१२, अन्य ५४ र संस्थागत ७ हजार ११५ छन् । यस अवधिसम्ममा बागमती प्रदेशमा सबैभन्दा बढी ३८ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.४५ प्रतिशत खाता खुलेका छन्।
कोशी प्रदेशमा १८.८२, गण्डकी प्रदेशमा १२.९२, लुम्बिनी प्रदेशमा ११.५४, मधेश प्रदेशमा ११.१६ र सुदुरपश्चिम प्रदेशमा ६ प्रतिशत डिम्याट खाता खोलेको तथ्यांक छ ।
त्यसैगरी, २०७७ असारसम्ममा मेरो सेयर खाता खोल्नेको संख्या करिब ७ लाख हाराहारी थियो । त्यसबाट बढेर २०७८ को असारमा उक्त संख्या २८ लाख ५१ हजार पुग्यो। नेप्सेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा ४३ लाख ६८ हजार मेरो सेयर खाता खुलेकोमा सो संख्या बढेर २०७९/८० को अन्त्यमा ४७ लाख ४१ पुग्यो । आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्म आईपुग्दा यो संख्या ५३ लाख २२ हजार पुगेको देखिन्छ ।
यसका अलावा, दोस्रो बजारमा अनलाइन लगइन (अनलाइन युजरनेम) लिने लगानीकर्ताको संख्यामा समेत उल्लेख्य वृद्धि भएको देखिन्छ । २०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजार भन्दा बढीले युजर आईडि लिएकोमा २०७८ असारमा सो संख्या ७ लाख ९५ हजार पुग्यो ।
आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा युजर आईडि लिने लगानीकर्ता १४ लाख ८५ हजार पुग्दा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा १७ लाख ६३ हजार कायम भएको देखिन्छ । नेप्सेका अनुसार २०८०/८१ को वैशाख मसान्तसम्ममा यस्तो युजर आईडि लिने लगानीकर्ताको संख्या २२ लाख १६ हजार पुगेको छ ।
धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता तथ्यांक

यसरी, आर्थिक वर्ष २०७७/७८ बाट सेयर बजारमा उल्लेख्य लगानीकर्ताले प्रवेश गर्दा सोही समयदेखि नै सेयर बजारमा लगानी शैली परिवर्तन भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । ‘पहिला सेयर खरिदबिक्रीका लागि ब्रोकरसँग भर पर्नुपर्ने थियो । तर, अहिले लगानीकर्ताको हातहातमा यो सुविधा छ । विद्यार्थी तथा नयाँ युवापुस्ताले पनि ट्रेडिङ गरेर नै बजारमा उपस्थिति जनाइरहेको देखिन्छ,’ अध्यक्ष ढकाल भन्छन्, ‘वास्तवमा भन्नुपर्दा हाल करिब ९० प्रतिशत लगानीकर्ता टे«डिङमा लागेका छन् ।’
उनले हाल नेपाल राष्ट्र बैंकले व्यक्तिगत तर्फको सेयर कर्जाको सीमा १५ करोड राखेका कारण पनि ट्रेडरमा रमाउनुपर्ने बाध्यता रहेको बताए । पर्पाप्त कर्जा लिन नपाउँदा मानिसले कम्पनी छनौट गरीगरी लगानी गर्न नपाएको र यसले पनि बजारमा टे«डरलाई हाबी गराएको ढकालको तर्क छ । यद्यपि, पछिल्लो पटक बजारमा भित्रिएको युवा पुस्ता ट्रेडिङमा नै रमाउने र कारोबार प्रणाली पनि पहिलाको तुलनामा सजिलो रहेकाले सेयर लगानी शैलीमा परिवर्तन आएको ढकाल बताउँछन् ।
ट्रेडिङसँगै मौलाएको अस्वभाविक मूल्य उताचढाव
पछिल्लो केही वर्ष यता नेपाली सेयर बजारलाई ट्रेडरले नै लिड गरिरहेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई दिने प्रतिफल न्यून बन्दै जाँदा लङटर्म लगानीलाई मानिसले बेवास्ता गर्दै गएका छन् । एक समय बैंक तथा वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई उल्लेख्य मात्रामा लाभांश तथा बोनस सेयर वितरण गर्थे । सोही कारण प्रतिफल लिन बैंकहरुको सेयर खरिद गर्ने लगानीकर्ताको संख्या उल्लेख्य थियो ।
तर, पछिल्लो केही वर्ष यता बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई प्रदान गर्ने प्रतिफल नगन्य मात्रामा छ । अर्थात् कुनै समय ६०/७० प्रतिशतसम्म प्रतिफल दिने बैंकहरुले गत आर्थिक वर्ष १० प्रतिशत पनि दिन सकेनन् । बैंकले वितरण गर्ने प्रतिफलमा यो किसिमको ह्रास आउँदा लगानीकर्ता आकर्षित नहुनु स्वभाविकै पनि हो। यसले हाल धेरै पुँजी भएका र बलिया कम्पनी भन्दा पनि कमजोर कम्पनी मात्रै बजारमा बढी चलिरहेका छन् ।
अर्थात्, ठूला पुँजी भएका कम्पनीको सेयर मूल्य बढाउन वा घटाउन तुलनात्मक रुपमा कठिन हुने हुँदा कम सेयर सूचीकृत भएका र कमजोर कम्पनी बजारमा चलिरहेका छन् । केही निश्चित व्यक्ति वा सानो समूहले चाहँदैमा ठूलो पुँजी भएका कम्पनीको मूल्य घटबढ गर्न कठिन हुने हुनाले सहजै मूल्य तलमाथि गर्न सकिने फाइनान्स, विकास बैंक, लघुवित्त जस्ता कम्पनी ट्रेडरको रोजाईमा पर्ने गरेका छन् ।
यो प्रवृत्तिले केही कम्पनीका बारेमा विभिन्न किसिमका अफहवा फैलाएर, खरिद तथा बिक्री गर्न लगाएर अस्वभाविक मूल्य उतारचढाव गर्ने क्रम भने मौलाएको छ । निश्चित कम्पनीको सेयर मूल्य लगातार सकारात्मक सर्किट लगाउँदै माथि पुर्याउने र केही कारोबार दिनमै न्यून विन्दुमा झार्ने क्रमले पछिल्लो समय निकै स्थान पाएको देखिन्छ ।
करिब ३०० रुपैयाँ प्रतिकित्ता रहेको नेपाल फाइनान्सको सेयर मूल्य लगातार बढेर २६०० रुपैयाँभन्दा माथि पुगेको थियो । यद्यपि, तीब्र गतिमा घट्दै हाल सो कम्पनीको मूल्य ७०० हाराहारी छ । प्रतिकित्ता १५०० पुगेको गुर्खाज फाइनान्सको मूल्य हाल ६०० रुपैयाँ, १४०० नजिक पुगेको गुडवील फाइनान्सको मूल्य ७०० रुपैयाँ र ११०० नजिक पुगेको जानकी फाइनान्सको सेयर मूल्य हाल ५०० रुपैयाँ छ ।
प्रतिकित्ता १६०० माथि पुगेको सप्तकोशी विकास बैंकको मूल्य हाल १२०० रुपैयाँ, १५०० पुगेको सिन्धु विकास बैंकको ११०० रुपैयाँ, ८१८ पुगेको पोखरा फाइनान्सको ४०० रुपैयाँ, २८४२ रुपैयाँ पुगेको कर्पोरेट विकास बैंकको १९०० रुपैयाँ र ११०० माथि पुगेको समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य हाल ५०० रुपैयाँ छ । यसरी, अस्वभाविक सेयर मूल्य उतारचढाव भएका कम्पनी सूची ठूलो छ । ट्रेडिङका नाममा यसरी अस्वभाविक ढंगको सेयर मूल्य उतारचढाव गराउने प्रवृत्तिमाथि भने नियमन जरुरी रहेको लगानीकर्ता गुरागाईं बताउँछन् ।
‘अनलाइन प्रणाली आएसँगै लगानीकर्ताले विभिन्न अफहवा फैलाउने, फेक अर्डर राख्ने र मूल्य उचाल्ने तथा गिराउने काम बढी हुँदै आएको छ । बजारमा ट्रेडर आउँदै गर्दा यसको नियमनको पाटो पनि सँगै आउनुपर्ने थियो,’ गुरागाईं भन्छन्, ‘यसो हुन नसक्दा अस्वभाविक मूल्य उतारचढाव गर्ने कार्य बढी भएको हो ।’
कसैले अस्वभाविक अर्डर राखेर मूल्य धेरै घटबढ गरेमा त्यसलाई सोही समय मूल्यांकन गरी निश्चित समयका लागि कारोबार रोक्का गर्ने व्यवस्था गर्नुपर्ने गुरागाईंको भनाइ छ । यसले, हाल ट्रेडरले लिड गरेको बजारलाई पनि शुद्धिकरण गर्ने उनको तर्क छ ।
प्रतिक्रिया