यसरी समाप्त भयो अमेरिकीहरूको सपना

घरजग्गा संकटभन्दा धेरै पहिले नै भएको थियो प्रक्रिया सुरु

1.3k
Shares

अमेरिकी अर्थतन्त्रका उत्कृष्ट दिनहरू अब विगतको कुरा भइसकेका छन् र भविष्यमा त्यसभन्दा राम्रो हुने सम्भावना धेरै कम देखिन्छ ।

बीसौँ शताब्दीको ‘अमेरिकन ड्रीम’ भन्ने सोच- जसमा धेरैजसो अमेरिकीहरूले मध्यम वर्गको जीवन बिताउने, सम्पन्न बन्ने वा एकदमै धनी हुने सपना देख्थे । त्यो अब २१औँ शताब्दीको दोस्रो चौमासिकसम्म आइपुग्दा लगभग समाप्त भइसकेको छ ।

सन् २०२४ को फेब्रुअरीमा मूडीज एनालिटिक्स नामक संस्थाले गरेको एक अध्ययनअनुसार सबैभन्दा धनी १० प्रतिशत अमेरिकीहरू (जसको वार्षिक आम्दानी कम्तीमा २ लाख ५० हजार डलर अर्थात् करिब ३ करोड ३० लाख रुपैयाँ छ) ले सन् २०२३ को सेप्टेम्बरदेखि २०२४ को सेप्टेम्बरसम्म भएको सम्पूर्ण उपभोक्ता खर्चको आधा हिस्सा (लगभग १० ट्रिलियन डलर अर्थात् एक हजार खर्ब रुपैयाँ) खर्च गरेका छन् ।

१२.७० लाख घरपरिवारहरूले बाँकी सम्पूर्ण देशभन्दा धेरै खर्च गर्नु निकै अचम्मको कुरा हो । यसले देखाउँछ कि दोस्रो विश्वयुद्धपछि सामान्य श्रमिक वर्गको आवश्यकतामा आधारित खर्चको भरमा चलेको अमेरिकी अर्थतन्त्र अब समाप्त भइसकेको छ ।

तर अमेरिकी सपना टुटेको कुरा धेरैजसो अमेरिकीहरूका लागि अचम्मको विषय भने होइन । वास्तवमा, सन् २००८ को घरजग्गा संकटभन्दा धेरै पहिले नै यो प्रक्रिया सुरु भइसकेको थियो । पछिल्लो पाँच दशकदेखि गरिबी घटाउने, सामाजिक सुरक्षा कार्यक्रमहरूलाई सुदृढ बनाउने, र शिक्षा प्रणालीमा लगानी बढाउने प्रयासहरू क्रमशः कमजोर पारिँदै आए । यसै क्रममा धनी र ठूला व्यापारिक घरानालाई करमा छुट दिँदै लगियो । यसले गर्दा खासगरी गरिब अवस्थामा रहेका अमेरिकीहरूका लागि सामाजिक उन्नतिको बाटो बन्द भयो ।

उद्योगमा आधारित रोजगारीबाट सेवा क्षेत्रमा आधारित अर्थतन्त्रमा संक्रमण, मेशिनद्वारा काम गराउने प्रविधि, उद्योगहरूको बन्द, रोजगारी सस्तो देशहरूमा स्थानान्तरण, स्वास्थ्य सेवा र उच्च शिक्षामा बढ्दो ऋण लगायतका यस्ता धेरै परिवर्तनले अमेरिकाको मध्यम वर्गलाई संघर्षरत वर्गमा परिणत गरिदिएको छ । र सबैभन्दा दुःखलाग्दो कुरा—यो परिस्थिति चाहिँ धनी अमेरिकीहरूकै चाहना अनुसार भएको हो ।

धेरैजसो विशेषज्ञहरूको अनुसार, साधारण अमेरिकीहरूको आर्थिक शक्ति सन् १९७० देखि १९७४ को बीचमा उच्चतम अवस्थामा थियो । त्यतिबेला ६० प्रतिशतभन्दा बढी अमेरिकीहरू आफूलाई मध्यम वर्गको हिस्सा मान्थे र कालो, ल्याटिन अमेरिकी, तथा अन्य जातीय समुदायहरूका मानिसहरू पनि क्रमशः मध्यम वर्गमा समावेश हुँदै थिए ।

धेरैले भन्ने गर्छन् अमेरिकाले इजरायललाई १९७३ को युद्धमा समर्थन गरेपछि पेट्रोलियम उत्पादक देशहरूको संगठन (ओपेक) ले तेल आपूर्ति घटायो । त्यसपछि अमेरिका भित्र महँगी र बेरोजगारी दुवै बढे- जसलाई स्ट्यागफ्लेसन भनिन्छ । यो घटनाले अमेरिका भित्रको तीन दशक लामो समृद्धिको अन्त्य गर्यो । तर वास्तविकता भने अर्कै थियो । ठूला उद्योगहरू, धनी अमेरिकीहरू र संघीय सरकारले क्रमशः समाजवादजस्तो देखिने नीति, गरिबी अन्त्यका कार्यक्रमहरू र श्रमिक वर्गलाई सशक्त बनाउने पहलहरूबाट पछि हट्न थालेका थिए ।

सन् १९६५ मा राष्ट्रपति लिण्डन बी. जोनसनले सुरु गरेका गरिबी विरुद्धको युद्ध र उत्तम समाज कार्यक्रमहरू धनी वर्ग र नव-रूढीवादी नेताहरूलाई मन परेन । ती नेताहरूका अनुसार यस्ता कार्यक्रमहरू गरिबी अन्त्य गर्ने होइन, बरु वर्ग संघर्ष बढाउने काम थियो । प्रसिद्ध नवरूढिवादी विचारक इर्विङ क्रिस्टोलले आफ्नो जीवनीमा लेखे अनुसार उनीहरूले यस्तो नीति ‘शाप’जस्तै ठानेका थिए ।

उनीहरूका अनुसार समृद्ध समाज बनाउने सपना समाजवादी थियो र खतरनाक पनि । यो सोच १९८० को दशकमा राष्ट्रपति रोनाल्ड रेगनको कार्यकालमा झनै बलियो बन्यो । उनका अनुसार, न्यू डिल र ग्रेट सोसाइटी दुबैले अमेरिकाको आर्थिक न्यायलाई गलत दिशामा लिएको थियो । उनले आफ्नो डायरीमा लेखेका थिए, ‘म न्यू डिललाई उल्ट्याउन खोजिरहेको छैन, म ग्रेट सोसाइटी हटाउन चाहन्छु ।’ तर व्यवहारमा भने उनले सामाजिक सुरक्षा र गरिबी अन्त्यका सबै नीतिहरूलाई कमजोर बनाएका थिए ।

रेगनले भनेका थिए- ‘१९३० को दशकदेखि हामीसँग विचारहरूको अभाव थियो, तर नयाँ रूढिवादीहरूले अब फेरि आर्थिक विकास र सामाजिक न्यायलाई जोड दिएका छन् ।’ उनले त्यसैले धनीहरू र ठूला कम्पनीहरूका लागि कर दर घटाउने नीति अघि सारे ।

सन् १९५० को दशकमा धनी अमेरिकीहरूले प्रत्येक २ लाख डलरभन्दा माथिको आम्दानीमा ९१ प्रतिशतसम्म कर तिर्दथे, र १९७० को दशकमा यो दर ७० प्रतिशत थियो । तर रेगनको पालामा कर दर ५० प्रतिशतदेखि २८ प्रतिशतसम्म झरियो । बिल क्लिन्टनको पालामा थोरै कर बढाइयो, तर सामाजिक कार्यक्रमहरूमा लगानी भने महँगीअनुसार नबढेकाले तिनले पुरानै प्रभाव कायम राख्न सकेनन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा कम्पनीहरूको कर दर २१ प्रतिशतमा झारियो- जुन अमेरिकाको इतिहासमा सबैभन्दा कम हो । यी सबै नीतिहरूले मध्यम वर्ग, श्रमिक वर्ग, कामदार वर्ग र गरिब वर्गबाट सम्पत्ति खोसेर धनी वर्ग र ठूला व्यापारिक घरानातर्फ स्थानान्तरण गर्यो ।

सन् २०२० मा कार्टर प्राइस र क्याथरिन एडवार्ड्सले र्‍याण्ड संस्थानको लागि तयार गरेको अध्ययनअनुसार सन् १९७५ देखि २०१८ को बीचमा कर छुट र सामाजिक कार्यक्रमहरूको कटौतीले गर्दा तल्लो ९० प्रतिशत अमेरिकीहरूको सम्पत्तिबाट माथिल्लो १० प्रतिशततर्फ झण्डै ५० ट्रिलियन डलर (पाँच हजार खर्ब रुपैयाँ) सम्पत्ति स्थानान्तरण भएको छ । अझ २०१० को दशकमा यो स्थानान्तरणको गति वार्षिक २.५ ट्रिलियन डलरसम्म पुगेको थियो— जुन त कोरोनाभाइरस महामारी सुरु हुनु अघि नै हो ।

त्यसबाहेक, अरू आर्थिक सूचकहरू पनि सामान्य अमेरिकीहरूको लागि खराब नै छन् । संघीय न्यूनतम तलब सन् २००९ यता ७.२५ डलरमै स्थिर छ । अघिल्लो दशकमा जस्तै यो पनि ८ वर्षसम्म जस्ताको तस्तै छ । बजारमा एकाधिकार, कम्पनीको सङ्कुचन, तथा स्वचालनले धेरै मानिसहरूलाई काम विहीन बनाएको छ । आधा कामदारहरूले ५० हजार डलरभन्दा कम तलब पाउँछन् र चौथाईभन्दा बढीले २५ हजार डलरभन्दा कम कमाउँछन् । जुन गरिबीको रेखामुनिको तलब हो ।

अमेरिकाका पूर्वमुद्रा नियन्त्रक यूजिन लडविगले यसै वर्ष पोलिटिकोमा लेखेका थिए— ‘यदि हामी बेरोजगार, अल्पकालीन काम मात्र पाउने वा न्यून तलब पाउने कामदारहरूलाई समावेश गर्छौं भने लगभग २४ प्रतिशत अमेरिकी श्रमिकहरू व्यवहारिक रूपमा बेरोजगार नै छन् । यो कुरालाई गर्व गर्नुपर्ने उपलब्धि भनेर दाबी गर्नु हास्यास्पद हो ।’

त्यसैले, सन् २०२५ को अमेरिका फेरि महामन्दीको युगमा फर्किएको छ । तर फरक यति छ— अहिलेको अवस्थामा देशका सबैभन्दा धनी १० प्रतिशत जनताको खर्चले सम्पूर्ण अर्थतन्त्रलाई चलाइरहेको छ, जबकि बाँकी ३० करोडभन्दा बढी जनताका लागि घर भाडा, बिदा, खाना, वा स्वास्थ्य सेवा जुटाउनु नै चुनौतीपूर्ण बनेको छ ।

साँचो उपभोक्ता पूँजीवाद त्यत्तिबेला मात्र सम्भव हुन्छ जब जनतासँग सामान र सेवा खरिद गर्न सक्ने शक्ति हुन्छ । तर अहिलेको अवस्थामा आम अमेरिकीहरूको त्यस्तो शक्ति छैन । र यो स्थिति आकस्मिक होइन । वर्षौंदेखि दुबै प्रमुख राजनीतिक दलका नेतृत्वहरू (रिपब्लिकन र डेमोक्र्याट) ले मिलेर यस्तै व्यवस्था बनाउने काम गरेका छन् ।

अब बाँकी रहेको ‘अमेरिकन ड्रीम’ केवल एउटा कल्पनाको विषय बनिसकेको छ। किनभने मध्यम वर्गको समृद्धितर्फ जाने सबै बाटाहरू क्रमशः नष्ट पारिएका छन् ।

(अमेरिकाको वासिङ्टन डीसीस्थित अमेरिकन विश्वविद्यालयका प्राध्यापक डोनाल्ड अर्ल कोलिन्सको अलजजिरामा प्रकाशित लेखको अनुवाद ।)