
कास्की । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा आज भोलि ऐंसेलु बेच्ने स्थानीयहरुको बाक्लै भीड लाग्ने गर्दछ ।
पाखा, डाँडा र खर्कहरुमा फल्ने ऐंसेलु अहिले सो क्षेत्रका स्थानीयको आम्दानीको स्रोत बनेको छ । पोखरा बाग्लुङ सडक खण्डमा यात्रा गर्ने प्राय हरेक यात्रुले यहाँको ऐंसेलु किन्ने गर्दछन् । प्रतिसोली (पातबाट बनाइएको सोली) १०० रुपैयाँमा बिक्री हुने ऐंसेलु टिप्न भने एक बिहानै खर्च गर्नु पर्ने स्थानीय ऐंसेलु व्यापारी रशिका बिश्वकर्माले बताइन् ।
‘बिहानै अधेरीखोला तिर जानु पर्छ, टिप्न पनि गाह्रो नै छ, काँडाले घोच्छ,’ उनले भनिन् ।
त्यस्तै ऐंसेलु बेचेरै प्रतिदिन २ हजारसम्म कमाइ हुने स्थानीय अस्मी बिश्वकर्माले बताइन् । ऐंसेलु वर्षको चैत-वैंशाख-जेठ महिनामा मात्र फल्ने हुँदा अन्य दिन खेतिकिसनी नै गर्ने गरेको उनले सुनाइन् ।

गाउँमा धेरै मात्रामा ऐंसेलु फल्ने भए पनि त्यसको सही उपयोग हुन नसकेको स्थानीयले बताए । पूर्वका केही जिल्लामा वाइन बनाउन र जुस बनाउनको लागि ऐंसेलुको उपयोग गरी राम्रो आम्दानी गरेको भए पनि आफूहरुकोमा त्यसो हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।
ऐंसेलु नेपालको पहाडी भेग लगायत अन्यत्र पनि पाइन्छ । जस्तो, भारत, पाकिस्तान, चीन । यसलाई ‘गोल्डेन हिमालयन रासबेरी’ भनेर चिनिन्छ । कतिपय भेगमा चाहि यसलाई ‘रासबेरी’ नामले पनि चिनिन्छ ।

ऐंसेलु स्वादिलो र रसिलो फल मात्र होइन । यसमा भिटामिन-सि, फिनोल, फ्लेवोनोइड जस्ता सुक्ष्म पोषक तत्व हुन्छ ।
ऐसेलुको जरामा औषधिय गुण हुन्छ । ज्वरो आउँदा, झाडापखाला लाग्दा, ग्याष्ट्रिक हुँदा ऐंसेलुको जरा सेवन गर्नु फाइदाजक हुन्छ ।















तस्बिर : नेपाल फोटो लाइब्रेरी/क्लिकमान्डु










प्रतिक्रिया