
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य शक्तिको विषयमा निकै फरक धारणा प्रस्तुत गरेका छन् । ट्रम्प आफूलाई विदेशी युद्धप्रति शंकालु मान्छन् । उनले युक्रेनको युद्ध अन्त्य गर्ने आशासहित रुससँगको सम्बन्ध द्रुत रूपमा सुधार गरेका छन् । उनको ‘अमेरिका फर्स्ट ‘ विदेश नीति सामान्यतः विदेशमा सैन्य संलग्नताको आलोचक छ ।
उद्घाटन भाषणमा उनले आफ्नो दोस्रो राष्ट्रपतिकाल ‘हामी नलगेका युद्धहरू ‘ द्वारा मापन गरिने बताएका थिए ।
तर अर्कोतर्फ, ट्रम्पले निरन्तर रूपमा अमेरिकी सैन्य शक्तिको प्रदर्शन गरेका छन् । उनको स्टेट डिपार्टमेन्टले यदि चीनले फिलिपिन्स-अमेरिकी सन्धि साझेदारको भूभाग, जहाज वा विमानमाथि आक्रमण गरेमा अमेरिका हस्तक्षेप गर्ने घोषणा गरेको छ । उनले इरान र उत्तर कोरियालाई लिएर आक्रामक धम्की दिएका छन् । चुनाव जितेपछि ट्रम्प अमेरिकी मित्रहरूप्रति पनि आक्रामक देखिएका छन् । उनले क्यानडालाई ‘उत्तम अमेरिकी राज्य बन्न सक्ने ‘ भन्दै ग्रिनल्याण्ड र पानामा नहर नियन्त्रण गर्न सेना प्रयोग गर्ने विचार व्यक्त गरेका छन् ।
सुरुको नजरमा, अलगाववाद (आइसोलेसनिज्म) र आक्रामकता (बेलिजिरेन्स) को यो संयोजन ट्रम्पको सामान्य अप्रत्याशित स्वभाव वा असंगत सोचलाई दर्शाउने जस्तो देखिन सक्छ । राष्ट्रपति आफ्नै फराकिलो नीतिहरूलाई विरोध गर्ने विचारहरू व्यक्त गर्नेमै परिचित छन् । तर, वास्तविकता के छ भने अमेरिकी जनतासमेत बाहिरबाट फिर्ता हुन चाहँदै शक्ति प्रयोग गर्न इच्छुक देखिन्छन् ।
अमेरिका आफ्नो युद्धप्रवृत्त धारणा (हकिशनेस) मा निकै परिवर्तनशील रहँदै आएको छ । सन् १९३० को अलगाववादबाट १९८० को प्रारम्भिक दशकको आक्रामक नीतिसम्म । अहिले देशले स्यालको जस्तो (हेजहग-लाइक) रणनीति अपनाएको छ जसमा उसले पछि हट्ने संकेत देखाउँछ तर अझै पनि सतर्क र आक्रामक छ ।
जब अमेरिकी जनतालाई सोधियो वासिङ्टनले विश्व राजनीतिमा ठूलो वा सानो भूमिका खेल्नु पर्ने हो कि होइन ? धेरैजसोले कम संलग्नता अपनाउनु उचित हुने बताएका छन् ।
जुलाईमा गरिएको एक सर्वेक्षणमा सामान्य अमेरिकी नागरिकहरू र पूर्वअमेरिकी नीतिनिर्माताहरू सहभागी थिए । चिनियाँ जनमुक्ति सेनाले दक्षिण चीन सागरमा अमेरिकी जहाजहरूमा आक्रमण गरेमा अमेरिकाले चीनमाथि प्रहार गर्नुपर्छ भन्ने स्पष्ट बहुमत पाइएको थियो । उनीहरू अमेरिकी सेनाहरू मारिएको नभए पनि हस्तक्षेप गर्नुपर्ने पक्षमा थिए । यी तथ्यांकहरूले अमेरिकीहरू अन्य अमेरिकी विरोधीहरू विरुद्ध पनि अमेरिकी सेना परिचालन गर्न इच्छुक देखिन्छन् भन्ने देखाउँछ ।
यी निष्कर्षहरूले अमेरिकीहरू युद्ध चाहिरहेका छन् भन्ने अर्थ भने लगाउँदैन । ट्रम्पको पहिलो कार्यकालमा नयाँ सैन्य संघर्षहरूमा सम्हालिएको नीति अपनाइएको थियो र त्यहाँ धेरै कारण छन् जसले वासिङ्टनले सामान्य रूपमा र विशेष गरी बेइजिङसँग संघर्षबाट जोगिन चाहन्छ भन्ने देखाउँछ ।
तर, यसले यदि दक्षिण चीन सागरमा चीनसँग अन्यत्र, वा अन्य प्रमुख प्रतिस्पर्धीसँग तनाव चर्कियो भने अमेरिकी स्थल सेनाहरू परिचालन गर्ने समर्थन सामान्यतः अनुमान गरिएभन्दा धेरै उच्च हुन सक्ने देखाउँछ । वासिङ्टनको विदेश नीति सधैं जनमतद्वारा निर्देशित हुँदैन । तर, प्रशासनहरूले सेना परिचालनका सम्बन्धमा सार्वजनिक विचारहरूलाई संवेदनशील रूपमा लिने गर्छन् । जसले यदि प्रतिस्पर्धी शक्तिहरूले अमेरिकी फौजमाथि आक्रमण गरेमा युद्ध सुरु हुने सम्भावना उच्च रहन सक्ने देखाउँछ ।
दुईवटा मनस्थिति
जब सोझै सोधिन्छ, अधिकांश अमेरिकीहरूले विश्वबाट पछि हट्न चाहेको बताउँछन् । सन् २०२५ को जनवरीमा गरिएको न्यूयोर्क टाइम्सको एक सर्वेक्षणमा ६० प्रतिशत उत्तरदाताहरूले अमेरिकाले विदेशका समस्याहरूमा कम ध्यान दिनु पर्ने र ‘यहाँ घरभित्रका समस्याहरूमा ध्यान केन्द्रित गर्नुपर्ने’ बताएका थिए । जसमध्ये ७५ प्रतिशत रिपब्लिकन (तुलनात्मक रूपमा डेमोक्र्याटहरूमा ४७ प्रतिशत) थिए ।
मात्र ३८ प्रतिशत उत्तरदाताहरूले अमेरिकाले ‘विश्व मामिलामा सक्रिय रहनु पर्छ’ भनेका थिए । त्यसैगरी, शिकागो काउन्सिल अन ग्लोबल अफेयर्सद्वारा हालै गरिएको सर्वेक्षणमा केवल १७ प्रतिशत अमेरिकीहरूले मात्र अमेरिकाको सम्पत्ति र शक्ति रहेकोले उसले ‘विश्व मामिलामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी छ’ भन्ने सोचेका थिए ।

जटिल अमेरिकी दृष्टिकोण
अमेरिकीहरूले आफ्नो देशको अन्तर्राष्ट्रिय भूमिकाबारे गर्ने सोच जटिल देखिन्छ । राजनीतिक वैज्ञानिक जेफ्री फ्राइडम्यानको अनुसन्धानअनुसार, अमेरिकी मतदाताहरू प्रायः कम आक्रामक उम्मेदवारको तुलनामा आक्रामक राष्ट्रपति उम्मेदवारलाई नै प्राथमिकता दिन्छन् ।
फ्राइडम्यानले मतदाताहरू सौम्य नीतिहरू चाहने दाबी गरे पनि व्यवहारमा आक्रामक नीतिहरूको समर्थन गर्ने पत्ता लगाए ।
उदाहरणका लागि, १९९० को दशकमा अमेरिकीहरू पोलकर्ताहरूसँग अमेरिकाले बाल्कन क्षेत्रमा सैन्य हस्तक्षेप गर्नु हुँदैन भन्ने बताउँथे । तर, राष्ट्रपति बिल क्लिन्टनले सर्बियामा बमबारी गरेपछि उनको लोकप्रियता बढ्यो ।
कमजोर प्रतिस्पर्धीसँग युद्ध गर्नु एउटा कुरा हो, जब कि शक्तिशाली प्रतिस्पर्धीसँग लड्नु अर्कै कुरा हो । यस्तो परिस्थितिमा अमेरिकीहरू बल प्रयोग गर्ने पक्षमा कत्तिको छन् भन्ने बुझ्नका लागि हामीले दक्षिण चीन सागरमा सम्भावित झडपलाई केन्द्रित गरेर एक प्रयोगात्मक सर्वेक्षण सञ्चालन गर्यौँ । यो समुद्री क्षेत्र ताइवानको वरपर रहेको छ र विश्व व्यापारको एक-तिहाइ ओसारपसार हुने मार्ग हो ।
बेइजिङ र वासिङ्टनबीचको मुख्य प्रतिस्पर्धाको केन्द्रका रूपमा यस क्षेत्रमा अमेरिकी तथा चिनियाँ युद्धपोतहरू नियमित गस्ती गर्छन् । ट्रम्प प्रशासनले युरोपको सट्टा यहाँ आफ्नो सैन्य शक्ति केन्द्रित गर्न चाहन्छ ।
शिकागो प्रोजेक्ट अन सेक्युरिटी एन्ड थ्रेट्सको समर्थनमा अनुसन्धान संस्था एनओआरसीद्वारा गरिएको एक सर्वेक्षणमा २ हजार साधारण अमेरिकी नागरिक र ७०० पूर्व नीतिनिर्माताहरूसँग परिकल्पना गर्न लगाइयो कि चीनले एक अमेरिकी सन्धि साझेदारको तट नजिकै अमेरिकी विमानवाहक पोतमा आक्रमण गर्यो ।
उत्तरदातामध्ये आधालाई आक्रमणमा २५० अमेरिकी नाविकहरू मारिएको भनियो । जबकि अर्को आधालाई कुनै पनि नाविक नमारिएको भनियो । त्यसपछि, हामीले उनीहरूलाई सोध्यौँ-के उनीहरू वासिङ्टनले थप सैन्य बल उक्त क्षेत्रमा पठाउने निर्णयलाई समर्थन गर्छन् ? साथै, के ती थपिएको सैन्य बललाई चिनियाँ जलसेना र हवाई सेनामाथि प्रतिआक्रमण गर्न अनुमति दिनुपर्छ ?
कुनै पनि नाविक मारिएन भने ५१ प्रतिशत उत्तरदाताहरूले प्रतिआक्रमणको समर्थन गरे । तर, यदि अमेरिकी नाविकहरू मारिए भने ५७ प्रतिशतले प्रतिआक्रमणको पक्ष लिए ।
विशेष गरी रिपब्लिकनहरू प्रतिशोधमा बल प्रयोग गर्ने पक्षमा थिए । ६० प्रतिशतले कुनै नाविक नभए पनि प्रतिआक्रमणको समर्थन गरे । ६७ प्रतिशतले नाविकहरू मारिएमा प्रतिआक्रमण आवश्यक रहेको बताए ।
ध्यान दिनुपर्ने कुरा के हो भने, यो सर्वेक्षण एक डेमोक्र्याट राष्ट्रपति जो बाइडेन सत्तामा हुँदा गरिएको थियो । यसले रिपब्लिकनहरू जोसुकै सत्तामा रहे पनि कम्तीमा चीनप्रति आक्रामक धारणा राख्छन् भन्ने देखिन्छ ।
डेमोक्र्याटहरू भने केही संयमित देखिए ।
उनीहरू बराबर दुई भागमा विभाजित भए । यदि चिनियाँ आक्रमणमा कुनै अमेरिकी मृत्यु नभएको भए ५० प्रतिशतले मात्र प्रतिआक्रमणको समर्थन गरे । तर, यदि अमेरिकी सैनिकहरू मारिए भने समर्थन ५७ प्रतिशतसम्म पुग्यो ।
प्रतिष्ठा रक्षा मुख्य
अमेरिकीहरू मुख्य रूपमा मृत्युप्रति प्रतिशोध खोज्ने मनस्थितिमा थिएनन् । सर्वेक्षणमा सहभागी सर्वसाधारण उत्तरदातामध्ये मात्र ३६ प्रतिशतले मृत्युसँग सम्बन्धित प्रतिशोधलाई आफ्नो निर्णयमा निकै महत्त्वपूर्ण कारक माने ।
बरु अमेरिकीहरू आफ्नो देशको प्रतिष्ठा जोगाउने कुरामा बढी चिन्तित देखिए । अमेरिकी नाविकहरूको मृत्युपछि चीनमाथि प्रतिआक्रमणको समर्थन गर्ने सर्वसाधारण उत्तरदातामध्ये ५३ प्रतिशतले वासिङ्टनको अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगाउन बल प्रयोग आवश्यक रहेको बताए ।
यसको तुलनामा, प्रतिआक्रमणको समर्थन नगर्ने समूहमा केवल १६ प्रतिशतले मात्र यस्तो धारणा राखे ।
रिपब्लिकनहरूमा ६३ प्रतिशतले अमेरिकाको प्रतिष्ठा कायम राख्न बल प्रयोग अपरिहार्य रहेको बताए ।
चीनसँगको संकटमा अमेरिकाको व्यवहारले इरानजस्ता अन्य प्रतिस्पर्धी राष्ट्रहरूलाई कत्तिको असर गर्छ भन्नेबारे अन्तर्राष्ट्रिय सम्बन्धका विद्वानहरूबीच खुला बहस भइरहेको छ ।
तर, वास्तविक प्रभाव जेसुकै भए पनि, अमेरिकी मतदाताहरूले दृढताको प्रतिष्ठा बनाउनु महत्त्वपूर्ण रहेको ठान्छन् ।
हाम्रा निष्कर्षहरूले अन्य अमेरिकी प्रतिस्पर्धीहरूका लागि पनि महत्त्वपूर्ण संकेत दिन्छन् । यद्यपि हामीले इरान वा रुसबारे प्रत्यक्ष रूपमा सोधेनौँ । ती देशहरूले अमेरिकी सेनामाथि आक्रमण गरेमा अमेरिकाले त्यस्तै प्रकारको प्रतिकार गर्ने सम्भावना उच्च देखिन्छ ।
अन्ततः, अमेरिकी जनताले यी देशहरूलाई नकारात्मक रूपमा हेर्ने गर्छन् । ८१ प्रतिशत अमेरिकीहरूले इरानलाई नराम्रो दृष्टिकोणले हेर्छन् । साथै, २०२४ को एक सर्वेक्षणले यदि इरानले इजरायलमाथि आक्रमण गर्यो भने, अमेरिकीहरूको बहुमतले अमेरिकी सेना प्रयोग गर्न समर्थन गर्नेछन् ।
यसैगरी, पिउ रिसर्चद्वारा गरिएको सर्वेक्षणले ८६ प्रतिशत अमेरिकीहरूले रुसलाई नकारात्मक रूपमा हेर्छन् ।
यसमा ८८ प्रतिशत रिपब्लिकनहरू र रिपब्लिकन समर्थकहरू पनि सामेल छन्, यद्यपि ट्रम्पले मस्कोप्रति सकारात्मक भाषा प्रयोग गरेका छन् ।
२०२४ मा गरिएको यूगोभ सर्वेक्षणले रिपब्लिकनहरूको संख्यामा तीन गुणा बढीले आक्रमणमा परेको नेटो साझेदारको बचाउ गर्नुपर्ने धारणा राखे ।
तर, यस्तो समर्थनको सिमा पनि हुन्छ । अमेरिकी जनताको बल प्रयोग गर्ने इच्छाशक्ति सधैं सन्दर्भद्वारा प्रभावित हुने गर्छ ।
यदि वासिङ्टन स्पष्ट आक्रामक कारबाहीको प्रतिक्रिया दिइरहेको छ, यदि अमेरिकी आक्रमण सफल हुने सम्भावना देखिन्छ र यदि महत्त्वपूर्ण अमेरिकी स्वार्थहरू दाउमा छन् भने जनता बल प्रयोगको पक्षमा बढी हुने गर्छन् ।
तर, यी अवस्थाहरू नभएमा अमेरिकीहरू निरन्तर रूपमा बल प्रयोगको विरोधमा देखिएका छन् । यही कारणले गर्दा सन् १९५६ मा सोभियत संघले हङ्गेरीमाथि आक्रमण गर्दा १९६५ र १९७१ मा भारत-पाकिस्तान युद्धमा र १९९५ मा रवाण्डा नरसंहारको बेला अमेरिका हस्तक्षेप गरेन ।
यही कारणले गर्दा अमेरिका सिरियाली गृहयुद्धमा गहिरो रूपमा संलग्न भएन । उसको हस्तक्षेप इस्लामिक स्टेट (आईएसआईएस) लाई रोक्नमात्र सीमित रह्यो ।

चीनसँगको टकरावको सम्भावना
चीनजस्तो आणविक हतियारधारी प्रतिस्पर्धीसँग अमेरिकीहरू बल प्रयोग गर्न तयार देखिनुले बेइजिङले हमला गरेमा वासिङ्टनले प्रतिआक्रमण गर्ने सम्भावनालाई बढाउँछ ।
यो विशेष रूपमा ट्रम्पको शासनकालमा झन् सान्दर्भिक हुन्छ । ट्रम्प दक्षिणपन्थी मिडियाका कट्टर समर्थक हुन् र रिपब्लिकनहरूको विश्वासप्रति संवेदनशील छन् ।
तर, यसको अर्थ यी दुई देशबीच युद्ध अनिवार्य रूपमा हुन्छ भन्ने चाहिँ होइन ।
किनभने दुवै देश आणविक हतियारधारी भएकाले उनीहरू प्रत्यक्ष युद्धबाट जोगिन बलियो इच्छाशक्ति राख्छन् ।
न चीन न अमेरिका यस्तो युद्ध चाहन्छ, जसले संसार समाप्त पार्न सक्छ ।
इतिहासले निरोध नीति कायम रहने देखाउँछ ।
संयुक्त राज्य अमेरिका पूरै शीतयुद्ध अवधिभर आफ्नो सोभियत प्रतिस्पर्धीसँग लडाइँमा संलग्न नभइकन नै टिक्न सफल भयो ।
त्यसैगरी, बेइजिङ पनि अमेरिकी सेनासँग प्रत्यक्ष टकराव गर्न सधैं हिचकिचाएको देखिन्छ ।
सन् १९५० को ताइवान स्ट्रेट संकटका क्रममा चिनियाँ नेता माओ जेदोङले आफ्ना सैनिकहरूलाई अमेरिकी फौजमाथि प्रत्यक्ष आक्रमण नगर्न आदेश दिएका थिए ।
सन् १९९५ मा अमेरिका चीनको क्षेप्यास्त्र परीक्षणको आक्रामकताविरुद्ध उभिँदा चीन पछि हट्यो ।
सन् १९९९ मा अमेरिकाले गल्तीवश बेलग्रेडमा रहेको चिनियाँ दूतावास बमबारी गर्दा पनि चीनले संयमता अपनायो ।
सन् २००१ मा अमेरिकी विमानसँग हवाई टक्कर हुँदा एक चिनियाँ लडाकु पाइलटको मृत्यु भयो । तर चीनले तुरुन्तै कूटनीतिक समाधान खोज्यो ।
हाल यी दुई देशहरू सन् २००० को आसपासको समयभन्दा बढी प्रतिस्पर्धात्मक छन् ।
तर, आफ्नो शक्ति बढ्दो भए पनि बेइजिङ अझै पनि सैन्य शक्तिको प्रयोगमा सावधानी अपनाइरहेको देखिन्छ ।
हालसम्म चीनले ताइवानमाथि हवाई आक्रमण गर्नुको सट्टा साइबर आक्रमण मात्र गरेको छ ।
फिलिपिन्सका जहाजहरूलाई रोक्न उसले ठोक्क्याउने रणनीति अपनाएको छ । तर प्रायः घातक नहुने लेजर र पानीका तोपहरू मात्र प्रयोग गरेको छ ।
ट्रम्पको प्रभाव
बल प्रयोग गर्ने इच्छाशक्ति भएमा अमेरिका-चीन सम्बन्धमा स्थिरता ल्याउन पनि मद्दत हुन सक्छ ।
ट्रम्प प्रशासनले फिलिपिन्सलाई समर्थन गर्ने घोषणा गर्दा चीनले उक्साउने गतिविधिहरू कम गर्न सक्छ, बरु संयमता अपनाउने सम्भावना बढ्छ ।
तर, ट्रम्पले सोचिएभन्दा छिटो अमेरिका युद्धमा तान्न सक्ने सम्भावना पनि उत्तिकै छ ।
राष्ट्रपति ट्रम्प आफ्नो बहुप्रतीक्षित नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने लक्ष्यमा बढी केन्द्रित देखिन्छन् । तर, उनी ठूला धम्की दिन्छन् । यदि अमेरिकामाथि कुनै आक्रमण भयो भने, अमेरिकी जनता उनलाई बलपूर्वक प्रतिक्रिया दिन सशक्त समर्थन गर्नेछन् ।
फरेन अफेयर्सबाट भावानुवाद
प्रतिक्रिया