
काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा कम्पनीहरु भ्यालू एडेड सेवा प्रवाहमा जोड दिएर अगाडि बढ्न आवश्यक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित सूर्यज्योति केयर र सूर्यज्योति ई–कर्जाको उद्घाटन कार्यक्रममा अध्यक्ष ओझाले यस्तो बताएका हुन् ।
भ्यालू एडेड सर्भिसतर्फ मानिसलाई आकर्षण गर्ने गरी अब बिमा कम्पनीहरुले काम गर्न आवश्यक देखिएको ओझाको भनाइ छ । ‘टर्म इन्स्योरेन्सको माध्यमबाट सानो प्रिमियममा धेरै ठूलो रकमको जोखिम बहन हुन्छ भने जीवनमा केही भएको खण्डमा परिवारलाई आर्थिक समस्याबाट पनि बचाउँछ,’ अध्यक्ष ओझाले भने, ‘यस्तै, जीवनमा केही नभएको खण्डमा पनि टर्म इन्स्योरेन्सको दायित्व निश्चित समयपछि त्यति धेरै रहँदैन ।’
उनले टर्म इन्स्योरेन्सबाट रकम प्राप्त नहुँदा पनि धेरै असर नपर्ने भएकाले यस्ता विषयमा बिमा कम्पनीहरुले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक भएको बताए । टर्म इस्योरेन्सलाई बढावा दिएको खण्डमा यसले बिमाको दायरालाई थप विस्तार गर्ने ओझाको भनाइ छ । उनले अन्य इन्स्योरेन्स पोलिसीका लागि निश्चित लक्ष्य (टार्गेट) दिए जस्तै टर्म पोलिसीको पनि लक्ष्य तोकिदिन बिमा कम्पनीलाई आग्रह गरे ।
‘डिजिटल दुनियाँमा राम्रो पक्ष र नराम्रो दुबै पक्ष छिट्टै बाहिर आउँछ । त्यहि भएर बिमा कम्पनीहरुले ल्याएका सेवाहरुलाई निरन्तरता दिँदै विश्वसनीय बनाउँदै जानुपर्छ,’ ओझाले भने, ‘पाँच लाख भन्दा माथिको पोलिसीको हकमा जुन कार्डको थालनी भएको छ ।
यसले बिमाको दायरा बढाउन थप भूमिका खेल्ने हाम्रो अपेक्षा छ ।’ उनले सूर्यज्योति केयर र सूर्यज्योति ई–कर्जाले बिमाको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउँदै डेटा सुरक्षामा पनि ध्यान दिन आग्रह गरे ।
प्रतिक्रिया