महानगरमा लफडा चलिरहँदा कहाँ थिए बालेन ?

10.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा आज कार्यालय समयदेखिनै लफडा चल्यो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर हुन आउने भन्दै कर्मचारीहरु उनको स्वागतमा जुटेका थिए ।

ठूलो संख्यामा नगरप्रहरीहरु परिचालन गरिएको भए पनि कर्मचारीको उल्लेख्य उपस्थिति भएपछि महानगर प्रहरी केही पछि हटेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश गरे । तर उनको कार्यकक्षमा ताला लगाइएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ताला लगाउन लगाएर चाबी लिएर गएको आरोप कर्मचारीहरुको थिए ।

कोठाको ढोका फोडेर भित्र प्रवेश गर्नुअघि महानगर प्रहरीले उनीहरुलाई रोकेको थियो ।

त्यसपछि बालेनको अनुपस्थितिमा बसेको बैठकले उनलाई हाजिर गराउने निर्णय गर्‍यो र ढोका फोरेर प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरे ।

कर्मचारीले ३ महिनायता प्रमुख प्रशासकीय अधिकृत नभएकाले तलब पाउन नसके पनि मेयर शाह भने सामाजिक सञ्जालमा स्टाटस लेखेर भाग्न खोजेको र कर्मचारीको बेवास्ता गरेको भन्ने आरोप लाग्यो । महानगर उपप्रमुख सनिता डंगोलले नै सामाजिक सञ्जालमा लेख्ने मात्र नभएर कार्यालयमै उपस्थित भएर बालेनले समस्या समाधान गर्नु पर्ने बताएकी थिइन् ।

कहाँ थिए बालेन?

आफू नेतृत्वको महानगरमा कर्मचारी आन्दोलित भइरहँदा बालेन शाह कहाँ गए भन्ने प्रश्न उठिरहेको छ।

शाह भने आज काभ्रेपलाञ्चोक जिल्ला पुगेको फेला परेको छ । उनी काभ्रेको पाँचखाल नगरपालिका क्षेत्रमा पुगेको पाइएको हो । मेयर शाह केराघारीस्थित एक लस्सी सेन्टरमा पुगेका थिए ।

पाँचखाल केराघारी एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टरमा पुगेका बालेन लस्सी खाएर निस्किएका थिए ।

होटलका सञ्चालक कविन्द्रराज तिमल्सिनाले मेयर बालेन शाहले आफ्नो होटलमा लस्सी खाएर निस्किएको क्लिकमान्डुलाई जानकारी दिए ।

‘बिहान ९-१० बजेको समयमा आउनु भएको थियो,’ तिमल्सिनाले क्लिकमान्डुसँग भने, ‘हतारमा हुनुहुन्थ्यो होला धेरै समय बस्नु भएन । यहाँबाट कता जानु भयो थाहा भएन ।’