ताला फोडेर प्रमुख प्रशासकीय अधिकृतले गरे हाजिर

1.3k
Shares

काठमाडौं । तीन महिना १४ दिनपछि आज कार्यालय पुगेका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कर्मचारीहरुले कार्यकक्षको ताला फोडेर प्रवेश गराएका छन् ।

उपप्रमुख डंगोल, कार्यपालिका सदसस्यसहितको अनौपचारिक बैठकपछि उनीहरुले ताला फोडेर गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराएका हुन् ।

अनौपचारिक बैठकमा नगरप्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ‘तपाईँले लिखित आदेशमा ताला लगाउनु भएको हो कि मौखिक आदेशमा’ भनेर प्रश्न गर्दा पाण्डेले मौखिक आदेशमा लगाएको जनाएका थिए ।

पाण्डेले त्यस्तो प्रतिक्रिया दिएपछि कर्मचारीहरु थप आक्रोशित बनेका थिए । त्यसपछि कर्मचारीहरुले गुरागाईँलाई लिएर कार्यकक्षमा प्रवेश गराएका थिए । त्यसपछि उनले हाजिर गरेका हुन् ।

त्यसअघि गुरागाईँसहितको बैठकमा उपप्रमुख डंगोलले मेयर साहलाई कोठामा बसेर निर्देशन दिने नभइ कार्यालयमा आएर समस्या समाधानका लागि पहल गर्न सुझाव दिएकी थिइन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै एक महिनाअघि पत्र पठाएको थियो । पत्र पठाएको एक महिनापछि आज गुरागाईँ महानगरपालिका पुगेका हुन् । उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारी पनि उनी कार्यालय पुग्दासँगै रहेका थिए । मेयर बालेन साहले उनलाई प्रवेशमा रोक लगाउन नगरप्रहरी परिचालन गरे पनि नगरप्रहरीको अवरोध छिचोल्दै गुरागाई कार्यालय प्रवेश गरेका थिए ।

मेयर बालेन साहले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अघिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरुको नियमित तलब समेत रोक्का गरिदिएको आरोप कर्मचारीको छ ।

मेयर साहले पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि कारवाही गर्न छानबिन समिति बनाएका थिए ।