
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कार्यक्षेत्रमा उपस्थित भएर समस्या समाधान गर्न आग्रह गरेकी छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा उत्पन्न समस्यालाई संवादमार्फत हल गर्नुपर्ने उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृतको हाजिरीका विषयमा झडप हुनु राम्रो नभएको भन्दै उनले कर्मचारीको समस्या समाधान गर्नुपर्ने बताइन् ।
‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनुभएको छ,’ उनले भनिन्, ‘उहाँको हाजिरीका क्रममा झडप हुनु राम्रो होइन । कर्मचारीहरूबीचको विवाद समाधान गर्न आवश्यक छ ।’
डंगोलले अहिलेसम्म गुरागाईं दोषी प्रमाणित नभएकाले उनलाई काम गर्न दिनुपर्ने बताउँदै थप अनुसन्धान आवश्यक भए कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपर्ने उनले बताइन् । ‘हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले यस अवस्थाका कारण सास्ती भोगिरहेका छन् । क्यान्सरपीडितलाई आवश्यक सहयोगसमेत रोकिएको छ । यदि थप छानबिन गर्नुपर्छ भने गरौं, तर कामकाज अवरुद्ध गरिनुहुँदैन,’ उनले भनिन् ।
उनले मेयर शाहको प्रत्यक्ष हस्तक्षेप आवश्यक भएको भन्दै कोठामा बसेरमात्र आदेश दिन नमिल्ले बताइन् ।
‘यो अवस्था हेरेर मात्र बस्ने? यदि यो मेयरको निर्णय हो भने उहाँ आफैं अघि आउनुपर्छ । कोठामा बसेर मात्र आदेश दिन मिल्दैन । अहिलेको समस्याको तत्काल समाधान गरेर मात्रै बोर्ड बैठक बस्नुपर्छ,’ ढंगोलले भनिन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं आज कार्यालयमा हाजिर गर्न पुगेका थिए । कर्मचारीहरुले उनलाई स्वागत गर्दै कार्यकक्षतर्फ लगेका थिए । तर कार्यकक्षमा तालाबन्दी भएपछि कार्यकारी अधिकृत भित्र प्रवेश गर्न पाएनन् । तीनमहिना यता कार्यकारी अधिकृतलाई मेयर शाहले हाजिर गर्न नदिएपछि कर्मचारीहरुको तलब रोकिएको छ ।
प्रतिक्रिया