गुरु न्यौपानेको ट्रेड टावरले करिब ४० करोडको आईपीओ जारी गर्न पायो स्वीकृति

5.2k
Shares

काठमाडौं । गुरु न्यौपानेको मुख्य लगानी रहेको ट्रेड टावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । गौशलामा तीन तारे होटलसहितको व्यापारीक कम्प्लेक्स सञ्चालनमा ल्याएको कम्पनीले करिब ४० करोड रुपैयाँ सार्वजनिक निष्कासन मार्फत संकलन गर्ने भएको हो ।

ट्रेड टावर लिमिटेडले करिब १५ वर्षदेखि काठमाडौंको थापाथलीमा ट्रेड टावर सञ्चालन गर्दै आएको छ । उक्त ट्रेड टावरसहित गौशलामा नयाँ परियोजनाको रुपमा तीन तारे होटलसहित मल सञ्चालनमा ल्याएको हो । उक्त कम्पनीलाई ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।

कम्पनीले ३ वर्ष अगाडि नै आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ रहेको कम्पनीले ४८.६९६ प्रतिशत सेयर सार्वसाधारणलाई जारी गर्ने भएको छ । त्यस्तै ५१.३० प्रतिशत सेयर स्वामित्व संस्थापहरुको छ । गौशलामा जग्गा ३६ वर्षको लागि ४ रोपनी जग्गा भाडामा लिएर होटल सहितको सपिङ मल सञ्चालनमा ल्याएको हो ।

कम्पनीको कार्यकारी अध्यक्षमा शिवहरी दंगाल छन् । गुरु न्यौपानेको छोरा सतिश न्यौपाने कम्पनीको सञ्चालक छन् ।