
काठमाडौं । ब्यानर टाँग्ने, कालोपट्टी बाँधेर काम गर्नेदेखि पेनडाउनसम्ममा उत्रिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले संसदमा दर्ता भएको विधेयकविरुद्धको आन्दोलन स्थगित गरेका छन् ।
उड्डयन प्राधिकरणका आधिकारिक ट्रेड युनियनले १२ दिनसम्म गरेको आन्दोलन संसदको हिउँदे अधिवेशन अन्त्यसँगै आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ता र छफलमा केन्द्रित भएका छन् ।
प्राधिकरणको आधिकारिक ट्रेड युनियका अध्यक्ष सुवास कोइरालाले भने ‘संसदमा दर्ता भएको उड्डयन प्राधिकरण विभाजन गर्ने विधेयकमाथि छलफल भएको छैन भने अहिले संसद पनि छैन् । संसद नभएको बेला आन्दोलनको औचित्य नहुने र यो बेला पर्यटन मन्त्री बद्रि पाण्डे, संसद सदस्यसहितका सम्बन्धित व्यक्तिसँग छलफल गरेर कर्मचारीको माग बुझाउनु पर्ने आवश्यकता देखिएकोले आन्दाेलन स्थगित गरिएको हो ।’
क्यान टुक्राउने नहुने तर्क स्थापित गर्न कर्मचारीले छलफल गरेर यसको आवश्यकता र औचित्य बुझाउने प्रयास भइरहेको पनि कोइरालाले बताए । उनका अनुसार संसद नभएको बेला आन्दोलन गरेर काममा बाधा पुर्याउनु हुँदैन भन्ने निष्कर्षसहित हाललाई आन्दोलन स्थगित गरिएको हो ।
सम्बन्धित निकायको ध्यानाकर्षण नभए वा सरकारले विधेयक फिर्ता नलिए अबको बजेट अधिवेशनपछि चल्ने संसदसँगै पुनः आन्दोलन गर्ने चेतावनी पनि कोइरालाले दिए ।
प्रतिक्रिया