भाटभटेनी लुटपाटमा भाटा हानेका गार्ड पराजुली: २३ वर्ष जागिर खाँदा छोरा पढाएँ, घर-गाडी जोडेँ

10.1k
Shares

काठमाडौं । भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुली केही दिनयता चर्चामा छन् ।

चैत १५ गते राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेपछि तीनकुनेबाट कोटेश्वर पुगेको समूहले भाटभटेनीमा ढुंगामुढा गर्‍यो । केही भाटभटेनी भित्र छिरे र लुटपाट गर्न थाले । केहीले बाहिर पार्किङमा रहेको गाडी तोडफोड गरे ।

सामाजिक सञ्जालमा देखिएको भिडियोमा सुरक्षा गार्ड दुलप्रसाद पराजुलीसहित गार्डले लुटपाटका लागि भाटभटेनी भित्र प्रवेश गरेको समूहलाई बहादुरी देखाइ त्यहाँबाट हटाउन सफल भएका थिए ।

उनीसहितको बहादुरीले भाटभटेनीमा कम क्षति भएको भन्दै सञ्चालक मीनबहादुर गुरुङ दम्पतिले उनीहरुलाई सम्मान गरेका थिए ।

पराजुलीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान पाए । त्यस्तै अन्य सुरक्षागार्डलाई पनि नगदसम्म सम्मानित गरिएको थियो ।

राजावादीको तोडफोड र लुटपाटमा मा ७० लाखको क्षति भएको भाटभटेनीले जनाएको छ ।

सम्मान पाएपछि पराजुलीले केही बेर सम्बोधन गरका थिए । त्यसक्रममा उनले आफू २३ वर्षदेखि भाटभटेनीमा जागिरे रहेको र घर–गाडी जोडेको सुनाए । ‘मैले जागिर खाएको २०५८ सालदेखि हो । यही जागिर खाएर जग्गा किनेँ, घर बनाएँ, त्यसपछि छोरा पढाएँ, छोराको बिहे गरेँ, गाडी किनेँ,’ उनले यसो भनिरहँदा कार्यक्रममा उपस्थित भएकाले ताली बजाएर उनलाई सम्मान गरे ।

राजावादी आन्दोलनका दिनको घटनाबारे उनले यसो भने-

त्यो दिन आतंककारी आए । ढुंगामुढा गर्न थाले । ज्यान त जोगाउनुपर्‍यो भनेर साइड लागेर बस्यौँ । हामी साइडमा बस्दाखेरि उनीहरू सबै पसेर लुट्न थाले । फलफूल, बियरका बोतल, वाइन, राइसकुकर फ्रिज सबै लिएर गए । लौ भएन भनेर हामी सबैजना टिम मिलेर यता आयौँ । अरू भित्रबाट लखट्ने, म चाहिँ बाहिर बसेर ड्याङ् कि ड्याङ हान्ने । बाहिर म एक्लै भए पनि डर लागेन ।