
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोमबार रुपन्देही कारागारमा पठाइएको छ ।
दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएका लामिछाने सोमबार जिल्ला कारागार चलान भएका हुन् ।
सोमबार बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि उनलाई थुनुवा पुर्जी दिइएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरेलगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो । जिल्ला प्रहरीको टोलीले सोमबार बिहान कार्यालय समय भएपछि बुटवल पुगेर उच्च अदालतको आदेशको मिसिल बुझेको थियो । मिसिल बुझेर भैरहवा ल्याएपछि जिल्ला प्रहरीको हिरासतबाट लामिछानेलाई अदालत पेस गरिएको थियो ।
जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नं ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले बताए ।
लामिछानेलाई राखिएको कक्ष अन्य कैदीबन्दीलाई राखिएका भवनभन्दा बाहिर रहेको छ । शुक्रबार राति काठमाडौँमा पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।
सोमबार बिहान अदालत लैजानुअघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।
त्यस्तै, जिल्ला कारागार परिसर र आसपास पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो।
कति समय बस्नुपर्छ कारागार ?
लामिछाने कारागार चलान भएपछि उनी कति सयम बस्नुपर्छ भन्ने चासो आम रुपमा देखिएको छ । लामिछानेको कारागारको अवधि दुई कारणले निर्धारण हुन सक्ने कानुन व्यावासायी बताउँछन् । सर्वोच्च अदालतले धरौटी माफ गर्दै उच्च अदालतको थुनछेक आदेश रद्द गरेमा वा रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी प्रकरणबाट उनलाई निर्दोष सावित गरेमा उनी थुनामुक्त हुन सक्ने उनीहरुको भनाइ छ ।
यी दुई मध्ये कुनै पनि प्रक्रिया टुंगोमा नपुगेसम्म लामिछानेले कारागारमै बस्नुपर्नेछ । ‘अदालतले मुद्दा टुंगो लगाउन लाग्ने समय देखिएको नै छ,’ एक कानुन व्यावसायीले भने, ‘त्यसैले उहाँ केही दिन वा हप्तामा बाहिरि आउने भन्ने देखिँदैन ।’
लामिछानेले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेका छन् । मुलुकी अपराध संहिता, २०७४ को दफा ७३ ले ५ वर्षभन्दा बढी सजाय हुनसक्ने मुद्दामा सर्वोच्चमा अपिल गर्न अनुमति दिन्छ । निवेदन पश्चात् सर्वोच्चले उच्च अदालतबाट कैफियत मागी विस्तृत सुनवाइ गरी निर्णय सुनाउने र यसमा लामो समय लाग्न सक्ने उनी बताउँछन् ।
लामिछानेविरुद्ध अन्य जिल्लामा पनि मुद्दा रहेको र ति जिल्ला अदालतबाट उनी धरौटीमा रिहा भएका हुन् । त्यहाँ पनि सरकारी वकिलले उच्च अदालतहरुमा पुनरावेदन दिएका छन् । ति अदालतहरुमा आउने आदेशले पनि लामिछानेको कारागार वा बाहिर बसाइ टुंगोमा पुग्ने छ ।
सुप्रिम सहकारी बाहेक पोखरा (सूर्यदर्शन), काठमाडौं (स्वर्णलक्ष्मी) र चितवन (सहारा चितवन) मा पनि उनमाथि ठगीको मुद्दा छन् । यी सबैमा उनी अहिले धरौटीमा छन्, तर सरकारी वकिलले उच्च अदालतमा यसको विरुद्ध अपिल गरिसकेका छन् ।
रुपन्देही जिल्ला सरकारी वकिलले लामिछानेविरुद्ध १०.९९ करोड रुपैयाँ क्षतिपूर्ति र ६ देखि ९ वर्ष सम्म कैद सजाय माग गरेका छन् । सहकारी ऐन, २०४८ को दफा १२४(क)(५) अनुसार ठगीमा ६–८ वर्ष तथा संगठित अपराध ऐनअन्तर्गत डेढ गुणा सजाय हुन सक्छ ।
लामिछानेले दिएको ४ सन्देश
रवि लामिछानेले कारागार चलान हुँदै गर्दा ४ सन्देश दिएका छन् । लामिछानेको सचिवालयले चार सन्देश दिएको उल्लेख गरेको छ ।
‘अदालतको आदेशको सम्मान छ । कानूनले दिएको अधिकार प्रयोग गर्छु,’ लामिछानेले भनेका छन्, ‘तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।’
उनले अदालतबाट न्याय पाउनेमा आफू आशावादी भएको बताएका छन् । ‘न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु । तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्,’ उनले भनेका छन् ।
उनले पार्टीलाई एक ढिक्का राखेर पार्टीको अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन् । ‘पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला । सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्याउनुस्।’
लामिछानेले आफूमाथि प्रतिशोध भएको भन्दै परीक्षाको पहिलो विद्यार्थी आफू भएको र सबैको पालो आउने चेतावनी दिए ।
‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ,’ लामिछानेले सन्देशमा भनेका छन् ।
जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
समान प्रकृतिको मुद्दामा एकजनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालयले लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो ।
प्रतिक्रिया