
काठमाडौं । जापान सरकारको एक नयाँ घोषणाले विश्व अर्थतन्त्रमा नयाँ आँधीको संकेत गरेको छ । जापानले २१.३ ट्रिलियन येन बराबरको नयाँ प्रोत्साहन (स्टिमुलस) प्याकेज घोषणा गरेसँगै यसले विश्व अर्थतन्त्रमा संकट पैदा गरेको हो ।
जापानले मूल्यवृद्धिको दबाबलाई सम्बोधन गर्न स्टिमुलस प्याकेज घोषणा गरेको बताएको छ । प्रधानमन्त्री सानाए ताकाइचीले देशको सुस्त अर्थतन्त्रलाई गति दिन तथा मूल्यवृद्धिले प्रभावित सर्वसाधारणलाई राहत दिन यस्तो प्याकेज घोषणा गरेको बताएकी छन् । यो प्याकेज कोभिड १९ पछिकै सबैभन्दा ठूलो हो ।
मन्त्रिपरिषद्ले स्थानीय सरकारको अनुदान बढाउने तथा बिजुली र ग्यासको बिलमा छुट दिने पनि उद्घोष गरेको छ । यो सबै ताकाइचीको अल्पमतको सरकारको पहिलो आर्थिक प्याकेज थियो ।
सरकारद्वारा प्रोत्साहन प्याकेजको घोषणासँगै जापानको सरकारी ऋणपत्र (बोन्ड)को औसत प्रतिफल आकाशिएको छ ।
नोभेम्बर १९ अर्थात् प्याकेज घोषणा गरेकै दिन बोन्ड यिल्ड (ऋणपत्रको प्रतिफल) सन् १९९९ यताकै उच्च २.८१५ प्रतिशत पुगेको छ । यसको अर्थ, जापानी लगानीकर्ताले विदेशमा पोर्टफोलियो इन्भेस्ट गर्नुभन्दा जापान सरकारको ऋणपत्र किन्दा बढी लाभ हुनेछ ।
सरकारी बोन्डको प्रतिफल राम्रो भएसँगै ‘येन क्यारी ट्रेड’ पनि कम हुने अनुमान गरिएको छ ।
के हो त येन क्यारी ट्रेड ? सुरुमा त्यसलाई बुझौं । येन क्यारी ट्रेड भनेको यस्तो रणनीति हो जसमा कम ब्याजदर (हाल ०.५ प्रतिशत)को फाइदा उठाउँदै लगानीकर्ताले जापानी येन खरिद गर्ने, सो मुद्रालाई बढी ब्याजदर भएको मुद्रासँग साट्ने र ब्याजदर अन्तरको लाभ लिने काम हुन्छ ।
मानौं, लगानीकर्ताले वार्षिक ०.५ प्रतिशतमा १ अर्ब येन ऋण लिएछन् र अमेरिकी बोन्ड (ब्याजदर ३.७५ प्रतिशत) खरिद गरेछन् । यस्तो स्थितिमा उनले अमेरिकामा १ वर्षमा ३ करोड ७५ लाख येन कमाउँछन् । तर, उनले जापानमा ५० लाख येन मात्र ब्याज तिर्नुपर्छ । यसरी उनले ब्याजदरको अन्तरको लाभ लिँदै सजिलै ३ करोड २५ लाख येन कमाउन सक्छन् । यो जापानी लगानीकर्ताका लागि सबैभन्दा नाफाको बिजनेस हो ।
जापानी लगानीकर्ताले देशको सस्तो ब्याजदरको फाइदा उठाउँदै अमेरिकासहित भारतको बोन्ड तथा अस्ट्रेलियाको रियल इस्टेट लगायतमा लगानी गर्दै आएका छन् ।
तर, विदेशमा लगानी गर्नु कम जोखिमपूर्ण छैन । अमेरिकी डलरको तुलनामा जापानी येन निकै कमजोर छ । विनियमदर उतारचढावका कारण जापानी लगानीकर्ताले १ प्रतिशतसम्म नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ । येन बलियो बन्यो भने थप नोक्सानी हुनेछ ।
यस्तोमा लगानीकर्ताका लागि सरकारको ऋणपत्र किनेर देशमै सजिलै करिब ४ प्रतिशत कमाउन सक्ने वातावरण जापान सरकारले बनाएको छ ।
२१ ट्रिलियन डलर राहत प्याकेज वितरण गरेपछि यो पैसा पुनः बजारमा आउनेछ भने आम लगानीकर्ताको ऋण लिने क्षमता अझै बढ्नेछ । अहिले जापान सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २५० प्रतिशत ऋण लिएको छ ।
यस्तोमा लगानीकर्ताहरू बोन्डको प्रतिफल दर बढी भए मात्र सरकारलाई थप ऋण दिने अर्थात् ऋणपत्र किन्ने वा भएको ऋणपत्र नवीकरण गर्ने मनस्थितिमा छन् । तसर्थ, जापानको सरकारी ऋणपत्रको ब्याजदर २६ वर्षयताकै उच्च भएको हो ।
जापानमा ब्याजदर थप बढ्ने हो भने जापानी लगानीकर्ताका लागि येन किनेर डलरमा लगानी गर्नु घाटाको बिजनेस हो ।
२१.३ ट्रिलियनको प्याकेजले आन्तरिक ऋण बढ्ने, बोन्ड यिल्ड बढ्ने, ब्याजदर बढ्ने, विदेशबाट पैसा फिर्ता आउने, जापानी येन थप बलियो हुने र विदेशमा लगानी गर्नु घाटाको बिजनेस हुने चक्र चलाइरहनेछ ।
यसो हुँदा अमेरिकालाई सबैभन्दा धेरै ऋण दिने विदेशी लगानीकर्ता अर्थात् जापानी लगानीकर्ता कम हुनेछन् । भारतको विकास ऋणपत्र किन्ने जापानी कम हुनेछन् । अस्ट्रेलियाको रियल इस्टेटमा जापानी लगानीकर्ताले पैसा हाल्नेछैनन् ।
विश्व वित्तीय बजारबाट जापानीहरूले अर्बौं डलर बराबरको रकम जापान फिर्ता लैजाँदा यसले ठूलो आर्थिक संकट निम्त्याउने आकलन गरिएको छ ।
तर, मूल्यवृद्धि घटाउन प्रणालीमा मुद्रा आपूर्ति घटाउनुपर्ने सामान्य सिद्धान्त विपरीत प्रोत्साहन प्याकेज घोषणा उल्टो बाटो हुने मानिएको छ ।
हाल जापानको मुद्रास्फीति दर ३ प्रतिशत पुगेको छ । यही समयमा जापानको केन्द्रीय बैंक (बैंक अफ जापान)ले ब्याजदर बढाइदिएको छ । यसले जापानमा महँगी झनै बढ्ने र विश्व वित्तीय बजारमा आँधी नै ल्याउने अनुमान गरिएको छ ।
येन क्यारी ट्रेड बिथोलिँदा विश्व वित्तीय बजारको स्थायित्वमा पर्ने असर
जापानी येन क्यारी ट्रेड विगत ३ दशकदेखि विश्वको वित्तीय संरचनालाई आधार दिँदै आएको एउटा विशाल तर अदृश्य संयन्त्र हो । जापानको करिब शून्य ब्याजदर नीतिले जापानबाट सस्तो पूँजी विश्वभर पुगेको थियो । अमेरिकी स्टकदेखि युरोपेली बोन्ड, उदाउँदो अर्थतन्त्रका लागि रियल इस्टेटदेखि तथा वैकल्पिक लगानीको स्रोत जापान बनेको थियो । यो संरचना अचानक भत्कँदा अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व गम्भीर जोखिममा पर्ने अनुमान गरिएको छ ।
पहिलो जोखिम हो, लगानी फिर्ता । बैंक अफ जापानले ब्याजदर बढाउनुलाई जापानी ऋणपत्रको प्रतिफल उकालो लाग्नुको एक कारण मानिएको छ । येन क्यारी ट्रेडको आधारभूत गणित उल्टिँदा सस्तो येनमा ऋण उठाएर विदेशमा लगानी गर्ने प्रोत्साहन हराएको छ । यसो हुँदा विश्वभर एकैपटक ठूलो मात्रामा सम्पत्ति लिक्विडेसन हुनेछ र सम्पत्तिको मूल्य घट्नेछ ।
दोस्रो जोखिम हो, येन बलियो बन्नु । विश्वव्यापी वित्तीय बजारमा येनमा लिइएका कर्जाको लागत बढ्नेछ जसले प्यानिक सेलिङ बढ्नेछ ।
तेस्रो जोखिम हो, अमेरिका र विश्व प्रणालीमा तरलताको कमी । अमेरिकी डलरको खरिद घट्दा विश्वमा तरलताको कमी हुनेछ ।
कठिन स्थितिमा जापान
जापान विश्वमै सबैभन्दा खुला अर्थनीति अवलम्बन गर्ने देशमध्ये एक हो । त्यसैले जापानी लगानीकर्ता विश्वभर लगानीको प्रमुख स्रोत मानिन्छन् । तर, जापान अहिले धेरै कठिन अवस्थामा छ ।
प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानको सुरक्षालाई जापानसँग जोडेर कडा बयान दिएपछि चीन रिसाएको छ । चीनले फिल्म अनुमोदन रोक्ने, समुद्री खानेकुरा आयातमा कडाइ गर्ने जस्ता आर्थिक चेतावनी दिइसकेको छ । यसरी टोकियो कूटनीतिक दबाबमा परिरहेको छ ।
तर, ठूलो समस्या त देशमै छ । मूल्यवृद्धिले सताइएका नागरिकलाई राहत दिन सरकारले प्रोत्साहन प्याकेज घोषणा गरेको छ । यसले जनतालाई केही राहत दिन सक्छ तर यसबाट पहिले नै संवेदनशील बनेको बोन्ड बजार झन् अस्थिर भएको छ ।
जापानको केन्द्रीय बैंक हच्किएको छ । ब्याजदर बढ्दैछ भने बोन्डको प्रतिफल बढ्दो छ ।
यसले दशकौंदेखि चल्दै आएको अति खुकुलो मौद्रिक नीतिको अन्त्य भइरहेको देखाउँछ ।
जापानको सरकारी बोन्डको प्रतिफल तीव्र रूपमा बढ्दैछ । १० वर्षे बोन्डको प्रतिफल १.८ प्रतिशत नजिक पुगेको छ भने ३० वर्षे बोन्डको प्रतिफल ३.३ प्रतिशत नाघेको छ ।
महँगी नियन्त्रण गर्न विशाल खर्च योजना ल्याइँदा केन्द्रीय बैंकले बोन्ड नकिन्ने घोषणा गरेको छ । यसर्थ सर्वसाधारणले ऋणपत्र किन्न परेकाले प्रतिफल बढेको हो । यस्तो सरकारले बजेटमा नियन्त्रण गुमाउँदैछ भनेर बजारले ठान्न थाल्यो भने फाइदा होइन, ऋण मात्र बाँकी रहने चेतावनी विशेषज्ञहरूले दिएका छन् ।
धेरै वर्षसम्म जापानी बोन्डको प्रतिफल बढ्ने अनुमान गरिन्थ्यो तर समयकालमा त्यो अनुमान गलत हुन्थ्यो । बैंक अफ जापानले पैसा छापेरै ब्याजदर शून्यमा राख्थ्यो । तर अहिले स्थिति उल्टिएको छ । बैंक अफ जापानले नकारात्मक ब्याजदर समाप्त गरेको छ, यिल्ड कन्ट्रोल रेट हटाएको छ । नीतिगत दर ०.५ प्रतिशत पुर्याएको छ ।
येन क्यारी ट्रेडमा लगानीकर्ताहरूले जापानमा सस्तोमा येन उधारो लिएर विदेशी उच्च प्रतिफल भएका सम्पत्तिमा लगानी गर्थे । अब जापानी प्रतिफल बढेपछि येन उधारो लिन महँगो पर्नेछ किनकि पैसा नछाप्नाले येन आफैं बलियो बन्दैछ ।
लगानीकर्ताले विदेशको लगानी वा सम्पत्ति बेचेर ऋण तिर्न थाल्नुको प्रभाव अमेरिकीदेखि भारतीय बजारसम्म असर पार्नेछ ।
फेरि जापानमा दीर्घकालीन बोन्डको माग घट्दैछ । अर्थात्, सरकारले ऋणपत्रको ब्याजदर थप बढाउनुपर्नेछ । यो चक्रले जापानी अर्थतन्त्रसँगै विश्वव्यापी बजारको स्थायित्वमा खलल पुग्नेछ ।
ब्याजदर बढेसँगै सरकारको ब्याज भुक्तानी बढ्नेछ र सरकारी बजेटमा ठूलो दबाब पर्नेछ । त्यसलाई पूर्ति गर्न जापान सरकारले अझै बढी ऋण लिनुपर्ने हुन्छ र फलस्वरूप ऋणपत्रको ब्याजदर झनै बढ्छ ।
अर्थशास्त्रका जानकारहरूले जापान अन्ततः सामान्य ब्याजदरमा फर्किएको बुझेका छन् तर यो सामान्यीकरण विश्व अर्थतन्त्रका लागि निकै ठूलो जोखिम बनेर उदाएको छ ।








प्रतिक्रिया