
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मोफसलमा फुटबलको क्रेज छुट्टै रहेको बताएका छन् ।
चुनावी अभियानको क्रममा कोशी प्रदेशमा रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फुटबलको राष्ट्रिय लिग काठमाडौंमा चलिरहेको छ । दर्शकको उपस्थिति २–३ सय पनि देखिँदैन । दुख लाग्छ, नेपालको लोकप्रिय खेलमा दर्शक छैनन् भनेर । धेरैलाई लागेको छ, अब नेपालमा फुटबल सकियो । उता मोफसलमा फुटबलको छुट्टै क्रेज छ । मोफसलका गोल्डकपहरुमा हजारौँ दर्शक दैनिक फुटबल हेर्न आउँछन् । फाइनल खेल हेर्ने दर्शकले टिकट नै नपाउने अवस्था छ ।’
उनले थप लेखेका छन्,’काठमाडौंमा हुने लिगमा अधिकांश खेलाडी मोफसलले उत्पादन गर्छ । तर देशको मेरुदण्ड मानिने लिग संरचनामा मोफसलका क्लबहरूको उपस्थिति सीमित छ । पछिल्ला वर्षमा एकाध क्लब डिभिजन फुटबल भित्र छिरेका छन् । तर केन्द्रीकृत फुटबल संरचनाले काठमाडौं बाहिरका क्लबलाई टिक्न गाह्रो छ । अब फुटबलको यस्तो नीति बनोस्, जसले फुटबललाई विकेन्द्रीकरण गरोस् र खेलमा व्यवसायीकता भरोस् । फुटबल काठमाडौंमा केही क्लबबिच मात्र सीमित नरहोस् । फुटबल खेल्न कुनै क्लब र खेलाडी काठमाडौंमा मात्र आउन नपरोस् ।’
‘काठमाडौं क्लब, खेलाडीलाई मोफसलका टिमहरूले निम्ता देओस् । पूर्वमा झापा ११ क्लब उत्रँदै गर्दा मैदान धनगढीका दर्शकहरूले भरियोस् । पश्चिमको धनगढी रंगशालमा मच्छिन्द्र, थ्रीस्टार क्लबहरूको झन्डाले रङ्गियोस् । फुटबल नभएर कुनै खेलाडी बिदेसिन नपरोस्’, शाहले लेखेका छन् ।









प्रतिक्रिया