
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले बिमा कसुरमा ४० जना विरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । कार्यालयले यसै साता जिल्ला अदालत काठमाडौंमा बिमा कसुरमा मुद्दा दर्ता गर्न लागेको हो ।
यसअघि, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिमालयन रि-इन्स्योरेन्ससहितका बिमा कम्पनीमा अर्बौंको घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । सीआईबीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउँदै सुलभ अग्रवाल, दीपक भट्ट लगायतमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो ।
सीआईबीको उक्त प्रतिवेदनपछि जिल्ला अदालतमा यो साता मुद्दा दर्ता गर्न लागिएको हो । ‘बिमा कसुरमा कुल ४० जना विरुद्ध यो साता मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘सीआईबीको अनुसन्धान प्रतिवेदन प्राप्त गरेपछि जिल्ला अदालतमा सो व्यक्तिहरु विरुद्ध मुद्दा दर्ताको तयारी गरिएको हो ।’
स्रोतका अनुसार संभवत सोमबार अभियोजन गरिने छ ।
सीइआईबीको अनुसन्धानले नेपालको बिमा क्षेत्रमा ठूलो वित्तीय अनियमितता र संगठित आर्थिक अपराधको खुलासा गरेको थियो । हिमालयन रि–इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्ससहितका कम्पनीका पदाधिकारीहरूले नियामक निकायलाई समेत अटेर गरी अर्बौं रुपैयाँ सर्वसाधारण लगानीकर्ताको हितविपरीत व्यक्तिगत लाभका लागि प्रयोग गरेको सीआईबीको अनुसन्धानका क्रममा खुलेको छ ।
भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५)ले हिमालयन रि–इन्स्योरेन्स र अन्य सम्बद्ध संस्थाहरूबाट विभिन्न मितिमा ‘अग्रिम रकम’ माग गरी सो रकमलाई बिमाकको हितविपरीत प्रयोग गरेको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रचलित धितोपत्र सम्बन्धी ऐन, २०६३ को बर्खिलाप हुने गरी बिमा कम्पनीहरूको टीएमएस (टीएमएस) खाताबाट भएको कारोबारको राफसाफ नगरी उक्त रकम असम्बन्धित व्यक्ति तथा संस्थाहरूको निजी कारोबार मिलाउन प्रयोग गरेको पाइएको हो ।
हिमालयन रि–इन्स्योरेन्सबाट प्राप्त २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ रकम दीपक भट्ट, राजबहादुर शाह, शुभी अग्रवाल र ऋषिराज मोरको नाममा रहेका व्यक्तिगत ग्राहक आइडीहरूको सेयर खरिद राफसाफका लागि प्रयोग भएको भृकुटी स्टक ब्रोकिङ कम्पनीले स्वीकार गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, विभिन्न बिमा कम्पनी र तिनका सहायक कम्पनीको कुल ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ बराबरको सेयर दीपक भट्ट, राजबहादुर शाह, शुभी अग्रवाल, ऋषिराज मोरसहितको नाममा खरिद गरी बिमा कम्पनीको फन्ड दुरुपयोग भएको निष्कर्ष सीआईबीले निकालेको छ ।
सीआईबीले हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीहरू, हिमालयन लाइफ इन्स्योरेन्स र यसका सहायक कम्पनीहरू, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक र उच्च व्यवस्थापनका पदाधिकारी साथै दीपक भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रबन्ध निर्देशक सन्दीप चाचानसहितलाई प्रतिवादी बनाएर मुद्दा चलाउने सिफारिस गरेको थियो ।
को प्रतिवादी विरुद्ध के छ मागदाबी ?
नेपाल बिमा प्राधिकरणद्वारा जारी लगानी निर्देशन, २०८२ ले पुनर्बिमा कम्पनीले धितोपत्र बजारमा कुल लगानीको अधिकतम १५ प्रतिशत मात्र लगानी गर्न पाउने र कुनै एक कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतको सीमाभित्र मात्र लगानी गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।
साथै, बिमा क्षेत्रमा लगानी गर्दा प्राधिकरणको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था छ। स्पष्ट कानुनी र नियामकीय व्यवस्थाको बर्खिलाप हुने गरी हिमालयन रि-इन्स्योरेन्सका पदाधिकारी तथा कार्यकारी प्रमुखको मिलेमतोमा, पहिले नै लगानीको सीमा नाघिसकेको अवस्थामा समेत भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. (ब्रोकर नं. ५५) मार्फत थप सेयर खरिद गर्न बदनियतपूर्वक पेस्की रकम उपलब्ध गराइएको सीआईबीको निष्कर्ष छ ।
‘सेयर बिक्रीको रकम समेत फिर्ता नलिई दूषित मनसाय र नियामकीय छलछाममार्फत प्रतिवादी शेखर गोल्छा, सुलभ अग्रवाल र दीपक भट्टको समूहलाई संगठित रूपमा सहयोग गरी बिमाकको रकम दुरुपयोग गरिएको देखिन्छ,’ सीआईबीको प्रतिवेदनमा भनिएको छ, ‘हिमालयन रि-इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स लगायतका बिमाकहरूबाट ब्रोकरको खातामा रकम स्थानान्तरण गर्नुको मुख्य उद्देश्य प्रतिवादी सुलभ अग्रवालको योजना बमोजिम दीपक भट्ट लगायतका व्यक्तिका नाममा सेयर खरिद गर्नु रहेको देखिन्छ। संस्थागत लाभ वा प्रतिफलभन्दा पनि आरोपीहरूको व्यक्तिगत लाभका लागि सीमा नाघी सेयरमा लगानी गर्ने योजना बनाइएको र यसबाट बिमाकलाई नोक्सानी पुर्याई कोषको रकम अपचलन गरिएको पुष्टि हुन्छ।’
प्रतिवादीहरूले सौर्य सिमेन्ट र जगदम्बा स्टिलको कार्यालयलाई केन्द्र बनाएर हिमालयन रि-इन्स्योरेन्स लगायतका संस्थाहरूको सेयर कारोबार र सेटलमेन्टका निर्णयहरू गर्ने गरेको पाइएको छ ।
संस्थाको लगानी समितिको स्वतन्त्र निर्णयविना नै सुलभ अग्रवाल र दीपक भट्टको चाहना बमोजिम ब्रोकर नं. ५५ मार्फत कारोबार सञ्चालन गरेको सीआईबीको निष्कर्ष छ ।
बिमा कम्पनीको ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ रकम व्यक्तिगत सम्पत्ति सरह प्रयोग गरी, कृत्रिमरूपमा बजार प्रभावित पारी र भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मार्फत सर्वसाधारण लगानीकर्ताको हितविपरीत कार्य गरेको पुष्टि भएको सीआईबीले उल्लेख गरेको छ ।
प्रतिवादीहरू सुलभ अग्रवाल, दीपक भट्ट र शेखर गोल्छासमेतको उक्त कार्य बिमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुर ठहरिने भएकाले, सोही ऐनको दफा १४१ को उपदफा (३) बमोजिम ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ बिगो कायम गरी हदैसम्मको सजाय मागदाबी गर्नुपर्ने रायसहितको प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
सीआईबीले हिमालयन रि-इन्स्योरेन्समा प्रतिवादीहरू शेखर गोल्छा, अमित मोर, शाहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, सुभेच्छा खरेल, सुभासकुमार झुनझुनवाला, उपासना पौडेल, मनिष कुमार र दीपककुमार श्रेष्ठ र दीपक भट्टसमेतलाई बिमा ऐन, २०७९ को दफा १४१ को उपदफा (३) अनुसार २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ बिगो कायम गरी उक्त बिगो जफत गरी ऐनको दफा १४१ को उपदफा (३) को खण्ड (घ) बमोजिम सजायको मागदाबी गर्न सिफारिस गरेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्समा प्रतिवादीहरू आशिष श्रेष्ठ, सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, सुनिता श्रेष्ठ, अनुप मालाकार, बद्री सिग्देल, प्रविना दाहाल, मृगेन्द्रनाथ रिमाल र सुजल मल्लसमेतलाई १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ बिगो कायम गर्न सिफारिस गरेको छ ।
उनीहरूले बिमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुर गरेको र बिमा ऐन, २०७९ को दफा १४१ को उपदफा (३) को खण्ड (घ) बमोजिम सजाय माग गर्न सिफारिस गरिएको छ ।
हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी ‘हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड’ मा २२ करोड रुपैयाँभन्दा बढी आर्थिक हिनामिना भएको भन्दै चार जनाविरुद्ध मुद्दा दायर गर्न सिफारिस गरिएको छ ।
दीपककुमार श्रेष्ठ, सीताराम वाग्ले, आकांक्षा गुप्ता र सुभाषबहादुर श्रेष्ठविरुद्ध भृकुटी ब्रोकिङ कम्पनीबाट सेयर बिक्री बापतको २२ करोड १९ लाख ७१ हजार ४४५ रुपैयाँ असुल नगरी संस्थालाई हानि पुर्याएको आरोपमा प्रतिवादी बनाउन सिफारिस गरिएको हो । बिमा ऐन, २०७९ को दफा १४० अनुसारको कसुर गरेको भन्दै उनीहरूबाट २२ करोड १९ लाख ७१ हजार ४४५ रुपैयाँ बिगो कायम गरी सो रकम जफत गर्न र ऐनको दफा १४१ (३) (घ) बमोजिम कडा सजाय माग गर्न सिफारिस गरिएको छ। सहायक कम्पनीको रकम दुरुपयोग हुनु मूल कम्पनी हिमालयन रि-इन्स्योरेन्सकै लगानी जोखिममा पर्नु रहेको सीआईबीको निष्कर्ष छ ।
हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी ‘हिमालयन क्यापसर्व लिमिटेड’ मा ३७ करोड रुपैयाँ आर्थिक दुरुपयोग भएको सीआईबीको निष्कर्ष छ ।
संस्थाको रकम हिनामिना गरेको आरोपमा चार जना सञ्चालक तथा पदाधिकारीविरुद्ध मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ । प्रतिवादीहरू शिशिर गैह्रे, दीपककुमार श्रेष्ठ, सीताराम वाग्ले र रितेश प्रधानले भृकुटी ब्रोकिङ कम्पनीबाट सेयर बिक्री बापतको ३७ करोड रुपैयाँ असुल नगरेको र उक्त रकम प्राप्त गर्न कुनै कानुनी पहल नगरी मिलेमतोमा दुरुपयोग गरेको सीआईबीको निष्कर्ष छ ।
बिमा ऐन, २०७९ को दफा १४० (१) (छ) बमोजिमको कसुरमा उनीहरूलाई ३७ करोड रुपैयाँ बिगो कायम गरी सो रकम जफत गर्न र ऐनको दफा १४१ अनुसार सजायको मागदाबी गर्न सिफारिस गरिएको छ ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी ‘हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेड’ र ‘हिमालयन लार्ज क्याप फन्ड’ मा २५ करोड ३७ लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको सीआईबीको निष्कर्ष छ । उक्त प्रकरणमा संलग्न १० जना सञ्चालक तथा पदाधिकारीविरुद्ध मुद्दा दायर गर्न सिफारिस गरिएको छ ।
प्रतिवादीहरू कपिलकुमार दाहाल, राजनप्रसाद अधिकारी, विदुर पुरीसहित १० जनाले भृकुटी स्टक ब्रोकिङ कम्पनीसँगको मिलेमतोमा संस्थाको रकम अपचलन गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।
हिमालयन लार्ज क्याप फन्डले ब्रोकरबाट करोडौँ रकम लिन बाँकी हुँदाहुँदै पुनः पेस्की उपलब्ध गराएको र उक्त रकम असुल गर्न कुनै पहल नगरी संस्थालाई हानि पुर्याएको सीआईबीले उल्लेख गरेको छ ।
उक्त मुद्दामा कुल २५ करोड ३७ लाख ११ हजार १०१ रुपैयाँ बिगो कायम गरी प्रतिवादीहरूलाई बिमा ऐन, २०७९ बमोजिम हदैसम्मको सजाय र बिगो जफतको मागदाबी गर्न सिफारिस गरिएको छ ।
भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी सञ्चालक सन्दीप चाचानले विभिन्न बिमा कम्पनीहरूको ३ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।
चाचानले दीपक भट्ट र सुलभ अग्रवाल लगायतका व्यक्तिहरूसँगको मिलेमतोमा बिमा कम्पनीहरूको कोषलाई व्यक्तिगत स्वार्थ र सेयर बजार हेरफेरमा प्रयोग गरेको अभियोगमा मुद्दा दायर गर्न सिफारिस गरिएको छ ।
उनले हिमालयन रि-इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र हिमालयन लाइफसँग सम्बन्धित म्युचुअल फन्डबाट ‘एडभान्स’ का नाममा करोडौँ रकम लिई सो रकम असम्बन्धित व्यक्तिहरू दीपक भट्ट, सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरका नाममा सेयर किन्न प्रयोग गरेको पाइएको हो ।
उनलाई बिमा ऐन, २०७९ को दफा १४० (१) (छ) अनुसारको कसुर गरेको ठहर गर्दै सन्दीप चाचानविरुद्ध ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ बिगो कायम गरी सो रकम जफत र कैद सजायको मागदाबी गर्न सिफारिस गरिएको छ।
प्रतिवादीहरू दीपक भट्ट, सुलभ अग्रवाल, शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहलाई बिमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुरमा कारबाही माग गर्न सिफारिस गरिएको छ ।
उनीहरूमाथि बिमाक (बिमा कम्पनी) को रकम अपचलन, हिनामिना, भित्री कारोबार र धितोपत्रको मूल्य हेरफेर गरी संस्थालाई हानि पुर्याएको अभियोग लगाउन सिफारिस गरिएको हो ।
सुलभ अग्रवाललाई मुख्य योजनाकार मान्दै ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ र दीपक भट्टलाई २ अर्ब ८९ करोड २० लाख रुपैयाँ बिगो कायम गर्न सिफारिस गरिएको छ ।
यस्तै, गैरकानूनी रूपमा सेयर खरिद गरिएका शुभी अग्रवाललाई ६२ करोड ९० लाख रुपैयाँ, राजबहादुर शाहलाई ८९ करोड ७१ लाख रुपैयाँ र ऋषिराज मोरलाई २३ करोड १ लाख रुपैयाँ बिगो र कैद सजायको मागदाबीसहित बिमा ऐन, २०७९ को दफा १४१ (३) (घ) बमोजिम कैद र जरिवानासमेत माग गर्दै मुद्दा दायर गर्न सिफारिस गरिएको छ ।









प्रतिक्रिया