
काठमाडौं । स्टक ब्रोकर भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई धितोपत्र बोर्डले निलम्बन गर्दा उक्त ब्रोकरबाट कारोबार गर्ने करिब ८० हजार लगानीकर्ताको धितोपत्र बन्धक बनेको छ ।
व्यवसायी दीपक भट्टलाई कोल्याट्रल नलिई सेयर कारोबार गर्न दिएको र अन्य ग्राहकको रकम कारोबार राफसाफ गर्न प्रयोग गरेको पाइएपछि धितोपत्र बोर्डले कम्पनीको इजाजतपत्र निलम्बन गरेको थियो ।
‘धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३१ विपरीत उक्त संस्थाका ग्राहकहरूको सेयर खरिद-बिक्री तथा कोल्याट्रल (धितो) बापतको रकम अन्य ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग गरेको पाइयो,’ धितोपत्र बोर्डले कम्पनीलाई कारबाही गर्दै भनेको छ, ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३१ को उपनियम (२), धितोपत्र कारोबार राफसाफ तथा फर्स्यौट विनियमावली, २०६९ को विनियम १३, १६ र १७ को व्यवस्था पालना नगरी खरिदकर्ता ग्राहकबाट रकम लिने र बिक्रीकर्ता ग्राहकलाई रकम दिने कार्य गरेको देखियो ।’
यस्तै कम्पनीले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम अग्रिम रकम (कम्तीमा २५ प्रतिशत) नलिई धितोपत्र खरिद गर्न सुविधा दिएको पाइएको हो । कम्पनीको सन् २०२६ मार्च २६ को विवरण अनुसार उक्त संस्थाले लगानीकर्तालाई दिनुपर्ने दायित्व रकम ५ अर्ब ११ करोड ३ लाख ७४ हजार २३७.५६ रुपैयाँ रहेको बोर्डले उल्लेख गरेको छ ।
‘कम्पनीले उधारोमा धितोपत्र खरिद गर्न सुविधा दिई लगानीकर्ताले रकम नै नतिरी हितग्राही खातामा धितोपत्र जम्मा गरिदिने कार्यबाट धितोपत्रको मूल्यमा प्रभाव पर्न सक्ने र पुँजी बजारमा प्रतिकूल असर पर्न सक्ने तथा तत्काल निलम्बन नगरी काम गरिरहन दिँदा लगानीकर्ताहरूलाई नोक्सानी हुने सम्भावना देखिन्छ,’ धितोपत्र बोर्डले कम्पनीलाई कारबाही गर्दै भनेको छ, ‘बोर्डको चैत २३ गतेको निर्णयानुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८८ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम ३० को उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ख) बमोजिम धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीको धितोपत्र दलाल सेवा सञ्चालन सम्बन्धी अनुमतिपत्र तत्काल निलम्बन गरिएको छ।’
बोर्डले धितोपत्र सम्बन्धी कानुनी व्यवस्थाको पालना गरी लगानीकर्तालाई दिनुपर्ने रकम फर्स्यौट गर्न निर्देशन दिएको छ । साथै उक्त संस्थाबाट कारोबार गरिरहेका लगानीकर्ताले निलम्बन अवधिभर अन्य धितोपत्र दलाल व्यवसायीबाट कारोबार गर्न चाहेमा प्राविधिक लगायत अन्य कार्यमा अविलम्ब आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।
बोर्डले अर्को ब्रोकरबाट कारोबार गर्ने व्यवस्था गर्न निर्देशन दिए पनि लगानीकर्ताले सिधै अर्को ब्रोकरबाट कारोबार गर्न भने पाउँदैनन् ।
कम्पनीले लगानीकर्ताको रकम राफसाफ गरी प्रमाणपत्र दिएपछि अर्को ब्रोकरमा गएर कारोबार खाता खोली कारोबार गर्न सक्ने नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । उनका अनुसार उक्त ब्रोकरमा कुल ७९ हजार ७१७ जना लगानीकर्ताले कारोबार गरिरहेका थिए।
कम्पनीको धितोपत्र दलाल सेवा सञ्चालन सम्बन्धी अनुमतिपत्र मात्रै निलम्बन रहेकाले उक्त सेयर ब्रोकरमा हितग्राही खाता खोल्ने ग्राहकलाई कुनै समस्या नपर्ने र कारोबार खाता सोही ब्रोकरमा हुनेले भने राफसाफ गरी अन्य सेयर ब्रोकरमार्फत कारोबार खाता सञ्चालन गर्न सक्नेछन् ।
ग्राहकले आफैँ उपस्थित भएर, पत्र पठाएर वा इमेलमार्फत पनि कारोबार खाता बन्द गर्नका लागि निवेदन दिन सक्नेछन् । कारोबार खाता बन्द भएको प्रमाण लिएर अर्को ब्रोकरमा गएर खाता खोल्न सक्नेछन् ।
धितोपत्र बोर्डले अन्य ब्रोकरबाट कारोबार गर्न सहजीकरण गर्न निर्देशन दिएको छ । अब भृकुटी स्टक ब्रोकिङ कम्पनीले सहजीकरण गरेमा चाँडै अन्य ब्रोकरबाट कारोबार गर्न सक्ने भए पनि लगानीकर्तालाई झमेला भने भएको छ।










प्रतिक्रिया