बालेनको सचिवालयले भन्यो: एम्बुलेन्स खरिदमा सबै प्रक्रिया पूरा, अनुचित लाभको गुञ्जायस छैन

2.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको सचिवालयले एम्बुलेन्स खरिदमा सार्वजनिक खरिद प्रणालीको सबै प्रकृया पूरा गरिएको जनाएको छ ।

एम्बुलेन्स खरिदमा सार्वजनिक खरिद प्रणालीका सबै प्रक्रिया पूरा गरिएको र अनुचित लाभको गुञ्जायस नभएको सचिवालयले जनाएको छ ।

एम्बुलेन्स खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भन्दै सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएको थियो ।

दुर्गम गाउँपालिकाहरुबाट वितरण भइरहेको स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच वृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले विरामीलाई स्वास्थ्य संस्थामा लैजान प्रयोग गरिने एम्बुलेन्स वितरणका सन्दर्भमा समाचारहरु प्रकाशन भएको र लाञ्छानयुक्त सामग्रीप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बालेनको सचिवालयले जनाएको छ ।

‘एम्बुलेन्स वितरण गर्ने योजना नगर सभा र नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भएको नीतिगत निर्णय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक सुचना आह्वान गरी देशभरीका गाउँपालिकाबाट प्राप्त निवेदनका आधारमा प्रादेशिक भार छुट्याई वैज्ञानिक प्रक्रियाबाट आठ छनौट मापदण्डका आधारमा ३५ वटा गाउपालिका छनौट गरिएको थियो । सोहि बमोजिम कार्यक्रम र बजेट स्वीकृत भएपछि खरिद प्रक्रिया अगाडि बढेको हो ।’

सार्वजनिक खरिद प्रक्रियाका लागि काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री तथा मन्त्री परिषदअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले सञ्चालन गरेको इजिपी (इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्युरमेन्ट प्रणाली) बाट काम गर्ने गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘यो महानगरपालिकाले विकास गरेको प्रणाली होइन । सरकारको प्रणाली सञ्चालन गरेको हो । महानगरपालिकासँगै सार्वजनिक खरिद कार्य गर्ने सरकारी कार्यालयहरुले यही प्रणाली प्रयोग गर्ने गरेका छन्,’ उनले भने, ‘यसमा प्रचलित कानुनबमोजिम एम्बुलेन्स खरिद गर्न बोलपत्र सम्बन्धी कागजातहरु तयार गरेर स्पेसिफिकेसन, लागत अनुमान अधिकार प्राप्त आधिकारिक तहबाट स्वीकृत गरेर प्रचलित खरिद सम्बन्धी व्यवस्थाबाट खरिद प्रक्रिया गरिएको हो । खुला प्रतिस्पर्धाका माध्यमबाट कानुन बमोजिम गठित समितिबाट मुल्याकंन गरेर बोलपत्रदाताको छनोट गरिएको हो । छनोट भएको बोलपत्रदातासँग सम्झौता गरेर कार्यादेश दिइएको छ ।’