
अघिल्ला केही वर्षहरूमा चीनको नौसेना (सुद्री जहाजको माध्यमबाट युद्ध गर्ने फौज, जलसेना)का बारेमा तथा यसले अमेरिकी चासोहरूलाई पार्न सक्ने सम्भावित असरबारे चिन्ता निरन्तर बढ्दै गएको छ । दुई दशकअघि अमेरिकी नौसेनासँग २८२ युद्धपोतहरू थिए भने चिनियाँ नौसेनासँग २२० मात्र थिए ।
सन् २०१० को मध्यतिर यो अग्रता समाप्त भयो । अहिले चिनियाँ युद्धपोतहरूको संख्या अमेरिकी नौसेनाको तुलनामा धेरै बढी छ । चीनसँग ४०० युद्धपोत हुँदा अमेरिकासँग २९५ मात्र छ । यदि अमेरिकाले आफ्नो हालको जहाज निर्माणको गति परिवर्तन गरेन भने यो ‘जहाज अन्तर’ अझ बढ्दै जानेछ ।
तर, संख्याको आधारमा मात्र कुनै नौसेनाको गुणस्तर वा क्षमताको सही मूल्यांकन गर्न सकिँदैन । कुनै पनि सैन्य बलको रणनीति, त्यससँग सम्बन्धित स्थलआधारित क्षमता तथा अन्य विविध कारकहरूले पनि नौसैनिक युद्धमा प्रभाव पार्न सक्छन् ।
अमेरिकी युद्धपोतहरू सामान्यतया चिनियाँ जहाजहरूको तुलनामा ठूला छन् र तिनमा उच्चस्तरीय सेन्सर, इलेक्ट्रोनिक्स र हतियारहरू जडान गरिएका छन् । उदाहरणका लागि चिनियाँ पनडुब्बी बेडामा प्रायः परम्परागत डिजेल इन्जिनबाट चल्ने पनडुब्बीहरू छन् । जबकि अमेरिकी नौसेनासँग भएका ४९ वटा आक्रमण पनडुब्बीहरू परमाणु ऊर्जाबाट सञ्चालित छन् जसले ती धेरै गुणा शक्तिशाली बनाउँछ । त्यस्तै, अमेरिकी नौसेनासँग ठूलो संख्यामा विमानवाहक पोतहरू छन् र क्रूजर तथा डेस्ट्रोयर जस्ता ठूला तथा शक्तिशाली युद्धपोतहरू छन् ।
यसको अतिरिक्त, अमेरिकी जहाजहरू राम्रो तालिमप्राप्त चालक दल तथा अनुभवी अधिकृतहरूको नेतृत्वमा सञ्चालन हुन्छन् । उदाहरणका लागि, अमेरिकी नौसेनाले मध्यपूर्वमा हुथी विद्रोहीहरूविरुद्ध सञ्चालन गरेको पछिल्लो सैन्य कारबाहीमा आफ्नो उत्कृष्ट रणनीतिक क्षमता देखाएको थियो । यस्तो वास्तविक युद्ध अनुभव चिनियाँ नौसेनासँग छैन ।
चिनियाँ जहाजहरूको सङ्ख्या बढी हुनुमा मुख्य योगदान चीनको विशाल औद्योगिक जहाज निर्माण क्षमताले गरेको छ । यसले लामो युद्धमा महत्वपूर्ण लाभ दिन सक्छ र केवल गुणस्तर वा सीपले मात्र यसको क्षतिपूर्ति गर्न सक्दैन।
चीनसँग सबैभन्दा ठूलो जहाज निर्माण उद्योग
चीनसँग विश्वकै सबैभन्दा ठूलो जहाज निर्माण उद्योग छ जसले हरेक वर्ष बाँकी विश्वले निर्माण गर्ने जहाजको कुल भारभन्दा बढी मात्रामा उत्पादन गर्छ।
अमेरिकी नौसेना गुप्तचर कार्यालका अनुसार जहाज निर्माण क्षमताको मामिलामा चीन अमेरिकाभन्दा २०० गुणा अगाडि छ । हाल चीनको उत्पादन मुख्यतः व्यावसायिक जहाजहरूमा केन्द्रित छ । आधुनिक युद्धपोतहरू निर्माण गर्न धेरै जटिल हुन्छ।
यद्यपि, लामो युद्धको अवस्थामा चिनियाँहरूले युद्धपोत निर्माण गर्न पनि सिक्न सक्छन् । यो विशाल औद्योगिक क्षमताका कारण चीनले तीव्र गतिमा विस्तार गर्न वा युद्धमा गुमाएका जहाजहरूको ठाउँमा नयाँ निर्माण गर्न सक्छ । तर यो काम अमेरिकाले गर्न असमर्थ हुन सक्छ।
यस्तै प्रकारको शक्ति र कमजोरीको भिन्नता दोस्रो विश्वयुद्धको प्रशान्त महासागर क्षेत्रमा अमेरिका र जापानबीच देखिएको थियो । त्यस युद्धको सुरुआतमा अमेरिकी नौसेना जापानी नौसेनाको तुलनामा कम अनुभवी थियो । तर अमेरिकासँग अपार औद्योगिक क्षमता थियो । यस क्षमताका कारण अमेरिकाले लामो युद्धमा जापानलाई पछार्न सक्यो ।
अहिले चीनको सन्दर्भमा परिस्थिति ठीक उल्टो देखिन्छ । अमेरिकाले आफ्नो कमजोर औद्योगिक क्षमताका नतिजा बुझ्नुपर्छ र तत्काल कदम उठाउनु आवश्यक छ । जसमा जहाज निर्माण परियोजना र सञ्चालनहरू विस्तार गर्नुका साथै सम्भावित युद्धकालीन निर्माणका लागि आवश्यक जहाज निर्माण सामग्रीहरूको मौज्दात राख्ने काम पनि समावेश हुन सक्छ । अमेरिकाले चीनको नौसेना हेर्दा आफूले विगतमा देखाएको शक्तिशाली छविको भयावह रुप देख्नुपर्छ । र, अमेरिकाले अझै प्रतिक्रिया जनाउनुपर्छ-जबसम्म उसँग समय छ ।
ऐतिहासिक रूपमा नौसैनिक युद्धहरू अत्यन्तै विनाशकारी भएका छन् ।
सत्रौं शताब्दीको मध्यदेखि शीतयुद्धको अन्त्यसम्म समुद्री युद्धमा पराजित भएका पक्षहरूले औसतमा आफ्नो युद्ध स्क्वाड्रनको लगभग एक तिहाइ गुमाएका थिए । १३ प्रतिशत अवस्थामा त पराजित पक्ष पूर्ण रूपमा ध्वस्त नै भएको थियो । अझ भौतिक रूपमा बलियो सेनाले पनि युद्धमा हार व्यहोर्न सक्छ । उदाहरणका लागि १९४१ मा जब अमेरिका दोस्रो विश्वयुद्धमा प्रवेश गर्यो अमेरिकी नौसेना जापानी नौसेनाभन्दा संख्यात्मक रूपमा ठूलो थियो। तर, अमेरिकाले महँगो मूल्य चुकाउनु पर्यो । पर्ल हार्बरमा अप्रत्याशित आक्रमण मात्र होइन बादुंग स्ट्रेट, जाभा सागर र सुन्दा स्ट्रेटका युद्धहरूमा पनि गम्भीर पराजय भोग्नु पर्यो। यी सबै लडाइँहरू डच इस्ट इन्डिज (हालको इन्डोनेसिया) वरपर भएका थिए ।
नौसेनालाई ‘डेथ स्पाइरल’ (लगातारको हारले झन् बढी कमजोरी निम्त्याउने अवस्था) बाट जोगाउन प्रमुख युद्धहरूमा सहभागी नौसेनाहरूले नष्ट भएका युद्धपोतहरूलाई छिटोभन्दा छिटो पुनः निर्माण गर्न सक्नुपर्छ।
१९४० को दशकको सुरुवातमा अमेरिका यो गर्न सक्षम थियो । पर्ल हार्बर हमलापछि एक वर्षमै अमेरिकाले आफ्ना जहाजहरूको संख्यालाई दोब्बर बनाए । जसरी नै नौसेनाले युद्धमा ठूलो क्षति बेहोरिरहेको थियो । यता, जापानको सीमित औद्योगिक क्षमताका कारण जापानले युद्धमा गुमाएका जहाजहरू प्रतिस्थापन गर्न समेत हम्मे हम्मे पर्नु पर्यो । नयाँ जहाज थप्ने कुरा त टाढाको विषय बन्यो।
युद्धकालीन जहाज निर्माणमा भएको यस्तो लाभले लामो युद्धको परिणाम नै परिवर्तन गर्न सक्छ । जब अमेरिका दोस्रो विश्वयुद्धमा प्रवेश गर्यो त्यतिबेला यसको नौसेनासँग सातवटा ठूला विमानवाहक पोत र एउटा एस्कर्ट क्यारियर मात्र थियो । तर, युद्धको अन्त्यसम्म पुग्दा अमेरिकासँग २८ वटा ठूला विमानवाहक पोत र ७१ वटा एस्कर्ट क्यारियर भइसकेका थिए ।
१९४० मा अमेरिकासँग कुनै एम्फिबियस (जलस्थल दुबैमा सञ्चालन गर्न सकिने) युद्धपोत थिएन तर युद्ध समाप्त हुने बेलासम्म अमेरिकासँग २ हजार ५४७ वटा एम्फिबियस जहाज भइसकेका थिए । १९४५ अगस्टमा अमेरिकी डुँगा जापानको तुलनामा २० गुणा ठूलो भइसकेको थियो र त्यसको अधिकांश हिस्सा त्यस्ता जहाजहरू थिए जुन युद्ध सुरु हुँदा अस्तित्वमै थिएनन् । यसरी युद्धकै क्रममा निर्मित नयाँ नौसेनाले जापानलाई पराजित गर्यो।
जापानी नेताहरूलाई थाहा थियो कि अमेरिका औद्योगिक उत्पादन क्षमतामा निकै अगाडि छ र लामो युद्धमा अमेरिकाले जापानलाई निर्मूल पार्नेछ । त्यसैले जापानीहरूले उच्च-गुणस्तरका जहाजहरू र अत्यधिक प्रशिक्षित नाविकहरूद्वारा प्रारम्भिक विजय हासिल गर्ने योजना बनाएका थिए ।
उनीहरूले प्रशान्त महासागरभरि टापुहरूमा किल्लाजस्तो सुरक्षा बल राखेर अमेरिकी प्रतिआक्रमणलाई रोक्ने र आफ्ना सर्तहरूमा शान्ति सम्झौता गर्न बाध्य पार्ने रणनीति अपनाए । युद्ध सुरुवातमा जापानले अपेक्षाअनुसार नै सफलता प्राप्त गर्यो । जापानीहरू रातको युद्धमा सिपालु थिए उनीहरूसँग उत्कृष्ट टार्पेडोहरू र लडाकु विमानहरू थिए । जसले उनीहरूलाई थुप्रै जित दिलायो । तर, अमेरिकाले हार मानेन । युद्ध लामो बन्दै गयो र जापान एक यस्तो ‘खर्चिलो’ युद्धमा फस्यो जसमा यसको कमजोर औद्योगिक क्षमता घातक साबित भयो ।
हालको चीन-अमेरिका नौसैनिक प्रतिस्पर्धामा पनि त्यस्तै परिस्थिति देखिन्छ।
दोस्रो विश्वयुद्धको समयमा जापानले जस्तो सोच राखेको थियो अहिले अमेरिका पनि त्यस्तै सोचमा रहेको देखिन्छ । उत्कृष्ट हतियार र तालिम प्राप्त सेना नै पर्याप्त हुनेछ र ढिलो जहाज निर्माण प्रक्रियाले असर गर्ने छैन भन्ने उसको सोचाइ छ । अमेरिकाले सोचेजस्तै युद्ध भएन भने लामो समुद्री युद्धमा अमेरिकी जहाज कमजोर हुन सक्छ किनकि चीनसँग युद्धकालीन पुनर्निर्माण गर्ने ठूलो क्षमता छ।
निर्माण अन्तर
अमेरिकाको जहाज निर्माण प्रक्रिया अहिले निकै सुस्त छ। दोस्रो विश्वयुद्धको तुलनामा अहिलेका युद्धपोतहरू निर्माण गर्न धेरै समय लाग्छ । त्यसमाथि, अमेरिकी औद्योगिक उत्पादकत्व बढ्नुको सट्टा झन् घट्दो अवस्थामा छ।
अहिले अमेरिकी शिपयार्डलाई एउटा विमानवाहक पोत बनाउन ११ वर्ष लाग्छ । एउटा परमाणु-संचालित पनडुब्बी वा डेस्ट्रोयर बनाउन ९ वर्ष लाग्छ। जबकि दोस्रो विश्वयुद्धको समयमा एउटा विमानवाहक पोत एक वर्षमै निर्माण गर्न सकिन्थ्यो र एउटा पनडुब्बी केही महिनामा नै तयार हुन्थ्यो।
यदि आज अमेरिकी नौसेनाले प्रारम्भिक युद्धमा ठूलो क्षति व्यहोर्नुपर्यो भने नयाँ जहाज निर्माण गरेर त्यस क्षतिपूर्ति गर्न अमेरिका असमर्थ हुनेछ । यदि अहिले अमेरिकी नौसेनाले एउटा विमानवाहक पोत गुमायो भने त्यसलाई प्रतिस्थापन गर्न दशकौं लाग्न सक्छ या सायदै सम्भव होला ।
चीनको गुणस्तर सुधार हुँदैछ
यस समस्यालाई झन् जटिल बनाउने कुरा के भने, चीनले अमेरिकी नौसेनाको गुणस्तरीय अग्रतालाई खुम्च्याउँदै लगेको छ । उदाहरणका लागि, चीनको ‘टाइप ०५५ रेनहाई-क्लास’ डेस्ट्रोयर अहिलेका अमेरिकी क्रूजर तथा डेस्ट्रोयरहरू बराबरको स्तरमा आइपुगेको छ । २०२० मा अमेरिकी नौसेना गुप्तचर कार्यालयले अमेरिकी कंग्रेसलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको थियो कि चिनियाँ नौसैनिक जहाजहरू धेरै अवस्थामा अमेरिकी जहाजहरूसँग ‘उस्तैस्तरको’ भइसकेका छन् र चीन यो ‘गुणस्तरीय अन्तर’ चाँडै नै पूरा गर्दैछ ।
चीन अमेरिकाभन्दा आधा समयमै विमानवाहक पोत तथा परमाणु-सञ्चालित पनडुब्बीहरू निर्माण गर्न सक्षम भइसकेको छ । यही औद्योगिक अग्रताले चीनलाई युद्धमा थप क्षमतावान बनाउँछ ।
अमेरिकाले चिनियाँ जहाज निर्माण क्षमतासँग प्रतिस्पर्धा गर्न चाहे पनि २०० गुणा कम उत्पादक क्षमताका कारण सो लक्ष्य व्यवहारिक छैन । तर, केही उपायहरू अवलम्बन गर्न सकिन्छ । अमेरिका, जापान र दक्षिण कोरियाको जहाज निर्माण क्षमताको संयुक्त उपयोग गर्न सकिन्छ । युद्धकालीन जहाज निर्माणलाई तीव्र बनाउन अत्यावश्यक घटकहरू जस्तै:प्रोपेलर शाफ्ट, परमाणु-संचालित भागहरू आदि स्टक गर्न सकिन्छ। साना, कम लागतका, क्षेप्यास्त्रसहितका युद्धपोतहरू निर्माण गरिनुपर्छ।
व्यापारी जहाजहरूलाई क्षेप्यास्त्र बोक्ने क्षमतायुक्त बनाउन सकिन्छ।
चीन र अमेरिकाबीचको नौसैनिक प्रतिस्पर्धामा ध्यान दिनुपर्ने मुख्य पक्ष भनेकै युद्धकालीन निर्माण क्षमताको प्रतिस्पर्धा हो । इतिहासले कमजोर औद्योगिक क्षमता भएकाले लामो समुद्री युद्ध जित्न सकिँदैन भन्ने देखाएको छ। अमेरिकी नीति-निर्माताहरूा कारण लामो युद्धमा जित्न सक्ने मात्र होइन, लड्न सक्ने क्षमतासमेत गुम्ने खतरा हुन सक्छ ।
फरेन अफेयर्सबाट भावानुवाद
प्रतिक्रिया