प्रसाईं नेतृत्वको प्रदर्शनमा आगजनी र तोडफोडः ५ करोड बढीको बिमा दाबी, शिखरबाहेकले गरेनन् भुक्तानी

896
Shares

काठमाडौं । चैत १५ गते राजावादीहरुको अराजक समूहले गरेको हुलदंगाबाट तीनकुने क्षेत्र ठूलो असर परेको छ । दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिँदा उक्त क्षेत्रमा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।

भाटभटेनीमा लुटपाट, निजी घर, जडिबुटी उत्पादन कम्पनी, सवारी साधन लगायतमा तोडफोड र आगजनीपछि ५ करोड ४९ हजार ४२१ रुपैयाँको बिमा दाबी परेको छ । १२ वटा बिमा कम्पनीमा उक्त दाबी परेको हो ।

५० वटा दाबी परेकोमा ५ वटा दाबीको ४ लाख ९८ हजार २१३ रुपैयाँको दाबी भुक्तानी भएको छ । यो भुक्तानी शिखर इन्स्योरेन्सले गरेको हो । शिखरमा परेका सबै दाबीको भुक्तानी भएको छ । अन्य ११ वटा कम्पनीले दाबीको भुक्तानी गरेका छैनन् ।

शिखरमा सम्पत्ति बिमातर्फ २ वटाको ४ लाख ५३ हजार २०१ रुपैयाँ, मोटर बिमा (निजी) तर्फ २ वटाको ४३ हजार ८८२ रुपैयाँ र विविध तर्फ १ वटाको १ हजार १३० रुपैयाँ रहेको विद्युत प्राधिकरणले जनाएको छ ।

बिमा प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ३ वटा दाबीबाट बिगो दाबी रकम ३७ लाख रुपैयाँ रहेको छ।

यस्तै मोटर बिमा (निजी) तर्फ २२ वटा दाबीको बिगो रकम १ करोड ६ लाख ४५ हजार ६७७ रुपैयाँ,मोटर बिमा सार्वजनिक तर्फ २ वटा दाबीको बिगो रकम २७ लाख ५० हजार रुपैयाँ, सम्पत्ति बिमातर्फ २१ वटा दाबीको बिगो रकम ३ करोड १९ लाख ५२ हजार ६१४ रुपैयाँ र विविध तर्फ परेको २ वटा दाबीको बिगो रकम १० लाख १ हजार १३० रुपैयाँ रहेको छ ।