ग्यासको कृत्रिम अभाव हटाउन सक्रिय बन्यो निगम, एकै दिन साढे २७ हजार सिलिण्डर बजारमा

231
Shares

काठमाडौं । पछिल्लो समय उपत्यकामा देखा परेको खाना पकाउने ग्यासको कृत्रिम अभावलाई समाधान गर्न आज (शुक्रबार) एकै दिन साढे २७ हजारभन्दा बढी सिलिण्डर वितरण गरिएको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार आज ११ वटा ग्यास उद्योगले ३५४ वटा डिलरमार्फत उपत्यकाका ३५४ स्थानमा २७ हजार ६ सय ४३ थान सिलिण्डर वितरण गरेका छन् ।

पछिल्लो समयमा हल्लै हल्लाको भरमा उपत्यका खाना पकाउने ग्यासको अभाव सिर्जना भएको थियो । हल्लाको भरमा उपभोक्ता र होटल तथा रेस्टुरेन्टहरूले बढी संख्यामा ग्यास भरिएका सिलिण्डरको भण्डारण (जम्माखोरी) गरेकाले पनि बजारमा समस्या देखा परेको थियो ।

निगमका अनुसार नेपाल ग्यास उद्योगले सबैभन्दा बढी ग्यास वितरण गरेको छ । यस उद्योगले आज ५९ डिलरमार्फत उपत्यकाका विभिन्न ५९ स्थानमा ७ हजार ४ सय ९४ वटा सिलिण्डर वितरण गरेको छ ।

यस्तै, श्री ग्यासले ३६ डिलरमार्फत ३ हजार २ सय ३४, हिमालयन ग्यासले ३५ डिलरमार्फत २ हजार ८ सय ५६, एभरेस्ट ग्यास उद्योगले ४३ डिलरमार्फत २ हजार ७ सय ५५, श्रीराम उद्योगले २६ डिलरमार्फत २ हजार ३ सय २०, ओम ग्यास उद्योगले २६ डिलरमार्फत १ हजार ७ सय ४४ र साल्ट ट्रेडिङ कर्पोरेसनले २५ डिलरमार्फत १ हजार ७ सय सिलिण्डर आज वितरण गरेका छन् ।

यस्तै, सुगम ग्यास उद्योगले २५ डिलरमार्फत १ हजार ६ सय १२, साइबाबा उद्योगले ३४ डिलरमार्फत १ हजार ६ सय ५, हिमाल ग्यास उद्योगले २१ डिलरमार्फत १ हजार २ सय ५५ र सीताश्री ग्यासले २४ डिलरमार्फत १ हजार ६८ थान सिलिण्डर वितरण गरेका छन् ।

पछिल्लो समय सामान्य अवस्थामा भन्दा बढी परिमाणमा ग्यास आयात भए तापनि माघ महिनाको दोस्रो सातादेखि तेस्रो साताको मध्यसम्म काठमाडौं उपत्यकाका उपभोक्ताले केही ब्रान्डका ग्यासको अभाव झेल्न बाध्य भएका थिए ।
सामान्य महिनामा खपत हुने परिमाणको तुलनामा जनवरी महिना (पुस १७ देखि माघ १७ सम्म) मा साढे २ हजार मेट्रिक टन बढी ग्यास आयात भएको थियो ।

सामान्यतया देशभर मासिक ४५ हजार मेट्रिक टन खाना पकाउने ग्यास खपत भइरहँदा नोभेम्बर २०२५ मा ४७ हजार २ सय ६४ मेट्रिक टन, डिसेम्बरमा ४८ हजार ५ सय ३१ मेट्रिक टन र जनवरी २०२६ मा ४७ हजार ३ सय ४ मेट्रिक टन ग्यास आयात भएको थियो ।

बजारमा देखा परेको कृत्रिम अभावलाई समाधान गर्ने उद्देश्यले निगमले पछिल्लो समय मागभन्दा बढी परिमाणमा आपूर्ति बढाएको छ । जसका कारण बिहीबारदेखि बजारमा बिस्तारै ग्यासको समस्या समाधान हुँदै गएको छ ।

निगमका अनुसार करिब डेढ महिनाअघि भारतको बरौनीस्थित रिफाइनरी केन्द्र नियमित कार्यतालिका अनुसार मर्मतसम्भार तथा सरसफाइ प्रक्रियामा गएको थियो । यसले गर्दा माग अनुसारको ‘लोडिङ’ मा समस्या भई उपत्यकाको बजारमा केही प्रभाव परेको हो ।

पछिल्लो समय जाडोयामका साथै आसन्न निर्वाचनका कारण पनि सिलिण्डरको माग बढ्दै गएको छ । अर्कोतर्फ, केही साताअघिसम्म रिफाइनरी केन्द्रबाट पर्याप्त आपूर्ति हुन नसक्नु र ढुवानीमा संलग्न भारतीय नम्बर प्लेटका झन्डै २५ प्रतिशत (करिब १ हजार ७ सय ५०) बुलेटले ढुवानी कटौती गर्नुले पनि अभाव सिर्जना भएको थियो ।

यसबाहेक, निर्वाचनको मुखमा ढुवानी भाडादर वृद्धि गराउन दबाब दिने उद्देश्यले केही उद्योगीले कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ ।

निगमका अनुसार भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई चारवटा बरौनी, हल्दिया, मथुरा र पारादीप रिफाइनरी केन्द्रबाट मासिक रुपमा ग्यास आयात गर्नका लागि कोटा निर्धारण गरेको छ । यी चार स्थानबाट स्थानअनुसार कोटा तोकेको हुन्छ ।

त्यो कोटाअनुसार निगमले ग्यास उद्योगलाई पायक पर्ने रिफाइनरी केन्द्रका नाममा प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गर्छ । त्यो पीडीओका आधारमा ग्यास उद्योगीले भारतीय ट्रान्सपोर्टरको सहयोगमा ग्यास आयात गर्दै आएका छन् ।

निगमका अनुसार घरायसी, होटल तथा रेस्टुरेन्ट, उद्योगको नियमित माग र आगामी निर्वाचनको समयमा बढ्न सक्ने थप मागका आधारमा फेब्रुअरी महिना (माघ १८ देखि फागुन १६ गते) का लागि ग्यासको कोटा ५२ हजार मेट्रिक टन तोकेर आईओसीलाई पत्र पठाएको छ ।

आईओसीले नेपाललाई ४९ हजार ५ सय मेट्रिक टनको मासिक कोटा उपलब्ध गराएको छ ।

यस्तै बजारमा देखिएको अभावको समस्यालाई समाधान गर्न उपत्यका केन्द्रित ग्यास उद्योग र डिलरमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोली अनुगमनमा खटिएका छन् ।

Skip This