१ लाख लगानी गरेर रातारात अर्बपति बनेका इच्छाराज तामाङः जसरी उदाए, उसैगरी अस्ताए



काठमाडौं । इच्छाराज तामाङ अर्थात् अर्बपति व्यवसायी । सिभिल होम्स, सिभिल सहकारी, सिभिल समूह र सिभिल बैंकका अध्यक्ष । नेपाल कम्युनिष्ट पार्टी एमालेका समानुपातिक सभासद् पनि ।

सिभिल सहकारीको प्रयोग गरेर सिभिल होम्सका नाममा नेपालमा व्यवस्थित बसोबास निर्माण गर्ने क्रममा व्यवसायको आकार बढ्दै जाँदा त्यसको व्यवस्थापन गर्न नसकेर पैसाको थुप्रोले किचेर उठ्नै नसक्ने अवस्थामा पुगेका छन् अहिले उनी ।

सहकारीका सबैभन्दा ठूला ठग, राज्यलाई कर छल्ने र कालोधनका कारोबारी भनेर परिचित छन् अहिले
तामाङ । उनको ठगीको जालोमा सयौं मान्छेहरु परेका छन् । उनले प्रत्येक व्यक्तिबाट कम्तिमा ४ हजारदेखि १४ करोड रुपैयाँसम्म ठगी गरेको भेटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

तामाङले यतिधेरै व्यक्तिलाई ठगी गर्न सानो समय खर्चेका छैनन् । आफ्नो कम्पनीमा विश्वास गरेर आएका सदस्यलाई दुई दशकदेखि जालोमा पारे । २०५७ सालमा १ लाख रुपैयाँ सेयर लगानी गरेर ठगीको जालो फिँजाएका तामाङ डेढ दशकैमै अर्बौंका मालिक बने । यो अवधिमा उनको सानसौनक र ऐश्वर्यको ग्राफ सिधै उकालो मात्रै थियो । डेढ दशकअघि नै व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) लिएर हिँड्ने तामाङसँग कीर्तिपुरको ट्याङ्लाफाँटमा अलिशान बङ्ला थियो । १० रोपनी जमिनमा बनेको २६ हजार बर्गफिटको तामाङको निजी निवास व्यावसायिक जगतमा ‘ट्याङलाफाँटा दरबार’ले परिचित थियो । उनको घरभित्र छिर्न धेरैवटा कम्पाउनड क्रस गर्नुपर्थ्यो ।

उनको कार्यालय रहेको सिटीसी मलमा तामाङका लागि छुट्टै लिफ्ट थियो । जसको चाबी पीएसओले बोक्थे । मध्यमवर्गीय परिवारमा जन्मे हुर्केका तामाङले व्यवसायमा हात हालेको केही वर्षमै राजसी जीवन रोजेको देखेर स्थापित व्यवसायीहरु पनि चकित थिए ।

उच्च राजनीतिक नेतृत्वसँगको हिमचिम कम्ता थिएन तामाङको । उनी आफूले चाहेजस्ता नीति नियम बनाउन सक्थे त्यसबेला ।

पैसाको आडमा एमालेका तर्फबाट संविधानसभाका सभासद्समेत बने ।

सहकारी, बैंक तथा वित्तीय संस्था र व्यक्तिबाट ऋण लिएर घरजग्गा व्यवसायमा लगानी गर्दै आएका तामाङले सुरुमा राम्रो नाफा कमाए । त्यसपछि अन्धाधुन्ध ऋण लिएर लगानी विस्तार गरे । एउटा यस्तो समय थियो बैंकका सीईओहरु तामाङलाई ऋण लिइदिनुपर्यो भन्दै घरसम्मै धाउँथे ।

तर, व्यवसायको चक्र बिग्रिएपछि उनी विस्तारै नगद प्रवाहको समस्यामा पर्दै गए । आफूसँग भएको सम्पत्ति बेचेर ऋण तिर्नुपर्नेमा सहकारीका बचतकर्ताको बचत निजी कम्पनीमा हाले । सहकारीकै बचतकर्ताको रकम बैंकको किस्ता तिर्न पनि प्रयोग गरे ।

सहकारीका सदस्यले पाउने ऋणको अधिकतम सीमाको धज्जी उठाउँदै तामाङले निजी सम्पत्ति जसरी गरेर सहकारीको बचत चलाए । त्यहीँबाट सुरु भएको उनको ओरालो यात्रा राजनीकि शक्ति र पैसाको आडमा केही वर्ष रोकिए पनि पछि आएर लड्न पुगे ।

एमाले अध्यक्ष केपी ओलीसँग घनिष्ट सम्बन्ध रहेका तामाङ शक्ति, सत्ता, पैसा र सन्किपनको भरमा जसलाई जति ठगे पनि पचाउन सक्छु भन्ने मानसिकताले ग्रसित थिए । ओली प्रधानमन्त्री र युवराज खतिवडा अर्थमन्त्री भएको बेला खतिवडाले एकदिन ओलीकै सामू ‘चाँडै व्यवहार मिलाउनुहोस्’ भन्दा तामाङले टेरपुच्छर लगाएनन् । स्रोतहरुका अनुसार ओलीले पनि तामाङलाई व्यवहार मिलाउन सुझाएका थिए । तर, उनले ओलीको कुरा पनि सुनेनन् । उनको ठगीले सीमा नाघेपछि ओलीले साथ छोडिदिए । अन्ततः उनी प्रहरी हिरासतमा पुगेरै छाडे ।

ठगीको जालोले ठडिएको तामाङको अर्बौंको साम्म्राज्य गर्ल्यामगुर्लुम्म ढलेको छ ।

किनभने, आइतबारमात्रै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा ३ वर्ष कैद र १ अर्ब ७२ करोड रुपैयाँ जरिवाना सुनाएको छ ।

तामाङकी श्रीमति सिर्जना शाक्यलाई भने डेढ वर्ष कैद र १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ १० पैसा जरिवानाको फैसला सुनाएको छ । दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तामाङले भने सफाइ पाएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङसहित उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केवशलाल श्रेष्ठ र उनकी श्रीमती बिना श्रेष्ठसहित ६ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो ।

तर, त्यसअघि नै उनी सहकारी ठगीमा पक्राउ परेर हिरासतमा थिए । २०७८ असोज १८ गतेदेखि पक्राउ परेका तामाङमाथि सिभिल बचत तथा ऋण सहकारीका १५०३ सदस्यको उजुरीका आधारमा ५ अर्ब ६७ अर्ब ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा बिगो र ८ वर्षको कैद सजाय दाबीसहित ०७८ मंसिर १७ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ ।

हाउजिङका बुकिङकर्ता ठगिएको उजुरीका चाङ पनि उस्तै छन् ।

हाउजिङ निर्माणको लागि आवश्यक पर्ने निर्माण सामग्री सप्लाई गर्ने कम्पनीलाई समेत ठगेका छन् । सप्लायर्स कम्पनीबाट निर्माण सामग्री ल्याउने पैसा नदिने गरेर पनि धेरै कम्पनीलाई उनले ठगेका छन् । कतिपय व्यक्तिलाई तामाङले जग्गा दिने भनेर पैसा लिने तर जग्गा पास गरेर नदिने, घर दिने भनेर पैसा लिने तर घर पास गरेर नदिने, लिएको पैसा पनि फिर्ता नगरेर पनि ठगेका छन् ।

यी सबै मुद्दामा तामाङ दोषी देखिए भने उनले १०/१२ अर्ब रुपैयाँको हाराहारीमा जरिवाना तिर्नुपर्ने देखिन्छ । होइन, भने बाँकी रहेको अधिकांश जीवन जेलको चिसो छिँडीमै बिताउनुपर्ने हुन्छ । घरजग्गा र सेयर बजार उच्च मूल्यमा पुगेका बेला उनीसँग करिब १२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति भएको सीआईबीका अधिकारीहरु बताउँछन् । जुन आजको मूल्यमा १०/१२ अर्ब हाराहारी हुन आउँछ । र, यसमध्ये पनि उनका कतिपय सम्पत्तिहरु बैंकले लिलामी गरिसकेका छन् ।

एउटा अर्बपति व्यवसायीले जेल जीवन बिताउनुपर्दा धेरैको रोजिरोटी र घरबार उजाडिन्छ । त्यस अर्थमा व्यवसायीमाथि सहानुभूति राखिनुपर्छ । तर, इच्छाराज तामाङको व्यावसायिक उडानमा ब्रेक नलागेको भए झन् धेरैको घरबार उजाडिने थियो ।

जसकारण अढाई वर्षदेखि हिरासतमा बसिरहेका तामाङलाई ‘कठै’ भनेर सहानुभूति दिने समेत भेटिँदैनन् । किनभने, पैसा, शक्ति र आशक्तिले जेलिएको छ उनको दुई दशक लामो व्यावसायिक यात्रा ।

कम्युनिष्ट शासन व्यवस्था भएको रसियाबाट सिभिल इन्जिनियर पढेर नेपाल आई तामाङले पुल्चोक इन्जिनियरिङ कलेजमा पढाउन सुरु गरे । उनको नेतृत्वमा त्यसबेलै अर्थात् २०५७ सालमा हाउजिङ व्यवसायका लागि सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ खोलिएको थियो । जसमा उनको सुरुवाती लगानी १ लाख रुपैयाँ रहेको थियो । सहकारी खोल्न उनलाई हरिहर लामिछाने, प्रकाश कुमार बर्मा, जीवनराज बज्रचार्य, डा.दुर्गा प्रसाद संग्रौला, सूर्यप्रसाद संगौलालगायतले साथ दिएका थिए ।

तामाङले पटक पटक संस्थामा आफ्नो सेयर स्वामित्व बढाउँदै गए । संस्थाको स्थापनाकालदेखि २०६७ सम्म उनी सञ्चालक समितका अध्यक्ष बने । २०७३ सालसम्म संस्थापक सल्लाहकारका रुपमा काम गरे । २०६७ सालपछि सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठलाई बनाइयो । श्रेष्ठलाई अध्यक्ष बनाए पनि सबै काम तामाङ आफैंले गर्दै आएका थिए ।

तामाङको हस्ताक्षरबाहेक केही पनि नचल्ने र सबै काम तामाङले नै गर्ने गरेको श्रेष्ठले प्रहरीको बयानमा भनिसकेका छन् ।

सहकारीले त्यो समयमा हाउजिङमा मात्रै नभएर जलविद्युत्, यातयात, सञ्चारलगायतका उपयुक्त देखिने आयोजनाहरु निर्माण तथा संचालन गर्ने लक्ष्य राख्यो ।

२०६० सालमा सिभिल सेभिङ एण्ड क्रेडिट संस्थाले पहिलो चरणमा आफ्नै नाममा हाउजिङ परियोजनाका लागि ललितपुर भैंसेपाटीमा जग्गा खरिद गरी घर निर्माण गरी बेचबिखन गरेको थियो ।

२०६२/६३ सालसम्म हाउजिङ परियोजनाकारुपमा विभिन्न स्थानमा जग्गा खरिद गरी हाउजिङ बनाएर उनले आक्रामक रुपमा बिक्री गरे । २०६३ सालमा सहकारी संस्थाबाट हाउजिङ व्यवसाय गर्न नहुने र छुट्टै कम्पनी खडा गरी कारोबार गर्नुपर्ने व्यवस्था भयो ।

त्यसपछि घरजग्गा निर्माण गरी बेचबिखन गर्न सिभिल होम्स प्रालि नामक कम्पनी दर्ता गरी उनले हाउजिङ परियोजना सुरु गरे। एउटा कम्पनीमा ३५ रोपनीभन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीको कारणले २०६५ सालमा सिभिल अपार्टमेन्ट प्रालि पनि दर्ता गरे ।

त्यो बेलासम्म तामाङको आम्दानी दिनमा दुई गुणा, रातमा चौगुणा हुन थाल्यो । यसले उनको मनमा लोभ र पाप एकै पटक पलाउन थाल्यो ।

जसले गर्दा उनले त्यही बेला २१/२२ वटा जति कम्पनीहरु दर्ता गरी सञ्चालन गरे । जसबाट क्रमैसँग सिभिल होम्स समेतका कम्पनीहरुले चरणवद्ध हाउजिङ परियोजनाहरु संचालन गरे ।

भूकम्प अघिसम्म उनको हाउजिङ व्यवसाय राम्रो थियो । जब भूकम्पले अपार्टमेण्टहरुमा ठूलो क्षति पुर्‍यायो त्यसपछि उनले सहकारीमा सदस्यले जम्मा गरेको पैसाको दुरुपयोग गर्न थाले ।

तामाङले सिभिल सहकारीबाट सिभिल होम्ससमेतका सबै कम्पनीमा साढे ५ अर्ब रुपैयाँ लगेका छन् । त्यो रकम तिर्न बाँकी नै छ ।

तामाङले सहकारी खोलेर सदस्यलाई विभिन्न प्रलोभनमा पारेर संकलन गरेको बचत अपार्टमेण्टमा लगानी गरेर लगानीकर्ताको विचल्ली बनाए । उनका सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्स प्रालि, सिभिल स्टेट्स प्रालि, सिभिल बिजनेश कम्प्लेक्स, सिभिल प्रालि र सिभिल अपार्टमन्ट प्रालि र सिभिल ग्रुप प्रालिसमेतका नाममा जग्गा तथा भवनसमेत छन् । यी कम्पनीमार्फत पटक-पटक गरेर सहकारीबाट नियमविपरित साढे ५ अर्ब ऋण प्रवाह भएको हो ।

नियतै ठग्ने

तामाङले सदस्यलाई ठग्न विभिन्न प्रलोभनका जाल बुने । त्यसको निकै रुचाइएको रणनीति बन्यो चिठ्ठा उपहार ।

उपहार पाउने भनेपछि सहकारीका सदस्यहरु पनि लोभिए । सहकारीले १२ देखि १७ प्रतिशतसम्म ब्याज दिने र सुनको सिक्कदेखि घर, गाडी, फ्रिज, टिभी, फ्यान लगायतका विभिन्न उपहार राखे । त्यसले बचतकर्तालाई लोभ्यायो ।

तामाङले सहकारीले १७ प्रतिशत ब्याज दिने, कम्तिमा १५ लाख रुपैयाँ निक्षेप राखेको ३ वर्ष पुगेपछि २.५ ग्रामको सुनको सिक्का उपहार दिने भनेर घोषणा गरे । तर, त्यो सबै प्रलोभन रहेछ ।

उनले ठग्नकै लागि १४०० वटा चिठ्ठा बनाए । १५ लाख रुपैयाँभन्दा बढी निक्षेप राख्नेलाई सुनको सिक्का मात्रै नभएर घर, गाडी, फ्रिज, टिभी, पंखा लगायतका उपहार दिए । तामाङको प्रलोभनमा परेर एक जनाले घर र एक जनाले गाडी पाएको मान्छे आफूले पनि भेटेको पीडितहरु बताउँछन् ।

ठगिनेहरु आफूहरु पनि तामाङको लोभमा परेर ठगिएको बताउँछन्। आफ्नो ५० र श्रीमतीको ३३ लाखसहित ८३ लाख रुपैयाँ सहकारीको मुद्दती निक्षेपमा राखेको र अहिले आफ्नो रकम फसेको सीआईबीमा भेटिएका एक बचतकर्ताले बताए ।

तामाङले उपहारको प्रलोभनमा पारेर सदस्यलाई ठग्ने गरेको प्रतिवादीहरुले प्रहरीसँग बयान दिएका छन् ।

तामाङ आफू ऋणमा डुब्दै गएपछि सिभिल होम्सको नाममा रहेको काठमाडौंको सुन्धारा चाइनाटाउनमा रहेको ६ रोपनीमा बनेको ११ तले भवन अजेयराज सुमार्गीको कम्पनी मुक्ती श्री हस्पिटालिटीलाई १ अर्ब २५ करोड रुपैयाँमा बिक्री गरे । सहकारीको पैसामा बनेको त्यो भवन बेचेको पैसा उनले आफ्नो निजी कम्पनीमा जम्मा गरेका थिए ।

उनले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी तथा सिभिल ग्रुपबाट मासिक ८ लाख रुपैयाँ तलब लिँदै आएका थिए । जसमा सहकारी संस्थाबाट मासिक ५ लाख रुपैयाँ र सिभिल ग्रुपबाट ३ लाख रुपैयाँ गरी मासिक ८ लाख तलब लिने गरेको सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठले प्रहरीमा दिएको बयानमा उल्लेख छ ।

ठगीको जालो बढ्दै गएपछि उनले श्रीमती सिर्जना शाक्यसँग नक्कली डिभोर्स गरि मानाचामल छुट्याएको कागजसमेत बनाउन भ्याए । त्यसपछि सिर्जनाका नाममा सम्पत्ति राखेर कारोबार गर्न थाले । स्मरण रहोस्, कागजमा डिभोर्स गरेका उनीहरु सँगै बस्थे ।

तामाङले आफूसँग १५ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको दाबी गर्दै आएका थिए । तर, सहकारीका बचतकर्ताको रकम फिर्ता गर्नतर्फ सोचेनन् । साथै, सत्ताको आडमा राज्यलाई कर छलि गरिरहे । अन्ततः अर्बपति हुँदाहुँदै पनि प्रहरी हिरासतमा पुगे।

शक्ति र सत्ता हातमा हुँदा तामाङ भन्ने गर्थे- ‘पैसा छ, सबै मिलाइहाल्छु नि !’

अब तामाङले मिलाउन सक्ने छैनन् । किनभने, यतिबेला न उनीसँग सत्ता छ, न शक्ति छ, न त पैसा नै ।

केबल परिचय छ- ठूलो ठगको र बास छ जेलको ।

तामाङको यो घटनाबाट नेपालका थुप्रै व्यवसायीहरुले पाठ सिक्न जरुरी छ । अझ पहिलो पुस्ताका व्यवसायीका हकमा यो घटना ठूलो ज्ञान हुनसक्छ । यसअघि चाँडै उचाइमा पुगेका पहिलो पुस्ताका व्यवसायी कमल ज्ञवाली र सुधीर बस्नेतहरुको कथा पनि दुखद् छ ।


सोभित थपलिया