इच्छाराज तामाङसँग १२ अर्बको सम्पत्ति भेटियो



काठमाडौं– सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय ब्यूरो (सीआईबी)ले सरकारी वकिलमा प्रतिवेदन बुझाएको छ ।

ब्यूरोले बुझाएको प्रतिवेदनमा १४९३ वटा उजुरीबाट ५ अर्ब ६५ करोड रुपैयाँ जरिवाना माग दाबी संगठित अपराध ठगी अन्तर्गत ७ वर्ष कैद गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ । यता सम्पती सुद्धिकरण विभागले पनि अुनसन्धान गरिरहेको छ । त्यसपछि कैद माग दाबी बढ्ने देखिएको छ ।

ब्यूरोले अनुसन्धान प्रतिवेदन बुझाएपनि अझै उजुरी आउने क्रम रोकिएको छैन । सीआईबी प्रवक्ता श्यामकुमार महतोका अनुसार प्रतिवेदन बुझाईसकेपछि पनि उजुरी आउने क्रम जारी रहेको र जबसम्म अदालतमा फाइल जाँदैन तबसम्म आएका उजुरी समावेश गर्ने बताए ।

ब्यूरोले २ महिना लगाएर गरेको अनुसन्धानपछि प्रतिवेदन तयार पारेको भएपनि अझै पनि उजुरी आउनेक्रम रोकिएका छैनन् । उक्त प्रतिवेदनमा आएका उजुरी पनि समावेश हुने छन् ।

ब्यूरोले सिभिल को–अपरेटिभ बचत तथा ऋण सहकारीका अध्यक्ष तामाङसहित १२ जनालाई असोज १८ गते संगठित अपराधको मुद्दामा पक्राउ गरेको थियो । अहिले पनि केही व्यक्ति फरार रकेको बुझिएको छ ।

ब्यूरो स्रोतका अनुसार सहकारीका बचतकर्ताको ७ अर्ब भन्दा बढी रकम अपचलन भएको हुनसक्ने देखिएको छ ।

नियतबस नै तामाङले ठगी गरेको देखिएको छ । अहिलेसम्म परेको उजुरीका आधारमा हेर्दा ठगिमा बिगो दाबी गरिएको रकम भन्दा बढी उनको सम्पती रहेको देखिएको छ ।

स्रोतका अनुसार तामाङसँग १२ अर्ब रुपैयाँभन्दा बढी चल अचल सम्पती देखिएको छ । उनले चाहेको खण्डमा ठगी गरेको रकम तिर्न पुग्ने सम्पत्ति रहेको छ । उनको सम्पती धेरै कम्पनीहरुमा भएका कारण त्यसको लागि आवश्यक प्रकृया अघि बढाउनुपर्ने देखिएको छ ।

तामाङसँग सिभिल बैंकमा संस्थापक सेयर, अन्य कम्पनीमा पनि सेयर, उनीका अन्य विभिन्न कम्पनी, सिभिल सहकारीको टेकुको भवन, सीटीसी मल, धापाखेल र गोदावरीमा हाउजिङ, कीर्तिपुरको ट्याङलाफाँटमा १२ रोपनी जग्गामा घर लगायत सम्पत्ति देखिएको छ ।

साथै उनको श्रीमति सिर्जना शाक्यको नाममा ४५ रोपनी जग्गा समेत देखिएको छ । उक्त जग्गामा तामाङका साथै अन्य व्यक्तिको पनि लगानी रहेको हुनसक्ने देखिएको छ । तर तामाङले श्रीमती शाक्यसँग मानो छुट्याएर बसेका छन् । मानो छुट्याएको भएपनि शाक्य माथि पनि ब्यूरोले अनुसन्धान भने गरिरहेको छ । तामाङले सहकारी बैंकबाट ऋण लिएका छन् । उनले त्यो रकम पनि फिर्ता गरेका छैनन् ।


क्लिकमान्डु