करोडौंको मालिक, जसलाई सुधीर बस्नेतले सडकमा झारिदिए



काठमाडौं । कुनैबेला तारादेबी ढकालको परिवार झापाको निकै धनाड्य परिवारमा गनिन्थ्यो ।

काठमाडौं र झापामा काठमिल । अनि इट्टा उद्योग । र, १०/१२ बिगाह जमिन थियो, ढकाल परिवारको ।

त्यसबेला झापा जिल्लामा मात्रै होइन, सिंगो नेकपा एमाले वृत्तमै तारादेबीको राम्रो पकड थियो । पार्टीलाई ठूलो आर्थिक सहयोग गर्नेमा पर्थिन्, उनी ।

पूर्वप्रधानन्त्रीहरु मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल उनको घरमा गएर खाना खाएका छन् ।

एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी ओली त दर्जनौं पटक तारादेबीको घरमा पुगेका छन् । धेरै पटक खाना पनि खाएका छन् ।

उनी एमालेको झापा जिल्ला कमिटीकी सल्लाहकार र अखिल नेपाल महिला संघकी जिल्ला कमिटी सदस्य थिइन् ।

ठगी आरोपमा सुधीर अहिले जेलमा छन् भने सुधीरबाट ठगिएकी तारादेबी सडकछाप छिन् । तारादेबी त उदाहारणपात्र मात्रै हुन्, उनीजस्तै सुधीरबाट ठगिने हजारौंका आआफ्नै व्यथा छन् ।

‘कुनैबेला पार्टीका शिर्षस्थ नेताहरु मसँग सल्लाह माग्न आउँथे, अचेल त फोनसमेत उठाउँदैनन्,’ तारादेबीले क्लिकमाण्डूसँग दुखेसो पोखिन्,- ‘त्यसबेला एकै बचनमा लाखौं रकम निकाल्न सक्थेँ, अहिले कसैले हजार रुपैयाँसमेत पत्याउँदैनन् ।’

करौडौं सम्पत्तिको मालिक्नी कसरी एकाएक सडकछाप भइन् ? आज हामी यो तथ्य उजागर गर्दैछौं ।

अपार्टमेन्ट किन्ने क्रममा ९ वर्षअघि काठमाडौंको धुम्बाराहीमा चर्चित घरजग्गा व्यवसायी सुधीर बस्नेतसँग तारादेबीको भेट भयो । त्यही भेट तारादेबी र उनको परिवारका लागि ठूलो अभिषाप बन्यो ।

सुधीरले निर्माण गरेको धुम्वाराही कोलोनीको एउटा फ्लयाट उनले ३२ लाख रुपैयाँ हालेर किनिन् पनि ।

त्यो अपार्टमेन्ट सुधीरले तारादेवीलाई भनेकै समयमा पास गरिदिए । हेर्दा युवा । मिठो बोली । आकर्षक व्यक्तित्व । राम्रै मान्छे लाग्यो । र, उनी सुधीरसँग प्रभावित भइन् ।

पहिलो भेटमै सुधीरले तारादेवीको नाम, ठेगाना, फोन नम्बर लिन भ्याए । केही दिनपछि सुधीरले फोन गरेर तारादेवीलाई आफ्नो योजना सुनाए । जसले उनलाई झन प्रभावित बनायो ।

त्यसपछि दोस्ती जम्यो उनीहरुको ।

‘त्यसताका मेरा मिल्ने व्यवसायी साथीहरुले सुधीर बस्नेत विनोद चौधरीभन्दा पनि ठूलो व्यवसायी हो, उसँग कारोबार गर्न डराउनु पर्दैन भन्थे,’ तारादेवीले भन्छिन्- ‘त्यसोभए केही गर्छु भन्ने मान्छेलाई किन सहयोग नगर्ने भन्ने लाग्यो र तीन/चार पटक एक/डेढ करोड रुपैयाँ दिएँ, मोटो रकम थपेर समयमै फिर्ता गरेँ ।’

लेनदेनका क्रममा सुधीरसँग सयौं पटक भेटभयो तारादेबीको । तर, वितेका ३ वर्षदेखि भने भेट भएको छैन ।

‘०७१ सालयता २/३ पटक टेलिफोनमा कुराकानी भयो, तर भेटचाहीँ भएको छैन,’ ढकालले भनिन् ।

हाउजिङ र अपार्टमन्ट पास गरिदिन्छु । र, केही समयपछि अग्नि एयरमा साझेदार बनाउँछु भनेपछि सुधिरलाई पटक-पटक गरी २० करोड रुपैयाँभन्दा बढी रकम दिएको बताउँछिन् तारादेबी ।

त्यसो त, सुधीरले अग्नि एयरलाइन्समा साझेदार बन्न र अपार्टमेन्ट किन्न १६ करोड रुपैयाँ दिएको सम्झौताको कागज पनि छ, उनीसँग । सुधीरले विभिन्न समयमा जारी गरेका ७ करोड रुपैयाँ बराबरका बाउन्स चेक पनि सुरक्षित नै राखेकै छिन् उनले ।

‘सुधीरले मेरो २०/२२ करोड रुपैयाँ मात्रै खाएनन्, उसलाई दिएको पैसाको ब्याज तिर्दा र उसलाई खोज्दा थप ६/७ करोड रुपैयाँ सकिएको छ,’ उनले भनिन् ।

झापाको दमक चोकमा रहेको आफ्नै अढाइतले घर दुई करोड रुपैयाँमा बेचेर त्यही घरमा भाडामा बस्दै आएकी छन् तारादेबी ।

‘झापामा रहेको इट्टा उद्योग धितो राखेर एभरेष्ट बैंकबाट लिएको पाँच करोड ऋण तिर्न बाँकी नै छ, भएका आधा दर्जन ट्याक्टर र गाडी कवाडीको मुल्यमा बिक्री गरेँ, आफ्नै घर बेचेर त्यही घरमा भाडामा बसिरहेकी छु,’ उनले सुनाईन् ।

ऋण तिर्न नसकेका कारण काकटभिट्टा सुख्खा बन्दरगाहको छेउमा रहेको १ कठ्ठा जग्गा १६ लाख रुपैयाँमै पास गरिदिनु पर्यो ।

नेपाल प्रहरीको पूर्व डीएसपीसँग ६ महिनामा ऋण तिर्ने शर्त राखेर १६ लाख रुपैयाँ ऋण लिएकी थिइन् ।

‘समयमा ऋण तिर्न नसकेपछि १६ लाख रुपैयाँमै राजिनामा पास गरिदिनु पर्यो, जुन धुरकै ७/८ लाख रुपैयाँ पर्छ, अर्थात् कठ्ठाको करोडभन्दा माथि पर्छ,’ उनले सुनाइन् ।

के- खाए सुधीरले ?

ढकालले बस्नेतसँग १९ वटा अपार्टमेन्ट खरिद गरेकी हुन् । उनले पूरै पैसा तिरिन् । ललितपुरको बालकुमारीस्थित भेगास सिटीका आठ वटा अपार्टमेन्टका लागि ७ करोड र नक्सालका १४ वटा अर्पाटमेन्टका लागि ११ करोड ७७ लाख रुपैयाँ दिएकी हुन् । त्यसका लागि उनले दुई करोड रुपैयाँ बराबरको ४ सय तोला सुन दिएको उनले सुनाइन् ।

‘भविष्यमा राजनीति गर्न भनेर परिवारसँग सुन र पैसा लुकाएर राखेकी थिएँ, सबै सुधीरले खाइदियो,’ तारादेवी भक्कानिइन् ।

बचत तथा ऋणको कारोबार गने समस्याग्रस्त सहकारीका लागि जा“चबुझ आयोगमा सुधीर बस्नेतले १९ करोड ७७ लाख रुपैया“ खाएको भन्दै उजुरी दिएकी थिइन् ।

तारादेवीका ससुरा भोजपुरबाट झापा झरेका हुन् । उनका श्रीमान गणेश ढकाल २२ वर्षदेखि हिँडडुल गर्न सक्दैनन् । २०५२ सालमा मोटरसाइकल दुर्घटनामा परेर गंभिर घाइते भएपछि गणेश कुँजिए । श्रीमान दुर्घटनामा परेपछि तारादेवील व्यापार/व्यवसाय सम्हाल्दै आएकी थिइन् ।

तारादेबीका छोरा बुहारी र छोरी-ज्वाई अमेरिकामा छन् । सुधीरले पैसा खाएको थाहा पाएपछि सुरुमा उनलाई निकै गाली गरे ।

‘कति सयम त फोन पनि उठाएनन्, तर, अचेल भने घरखर्च चलाउने पैसा पठाउन थालेका छन्,’ उनले भनिन् ।

सुधीरले पैसा नतिरेपछि पैसा उठाइदिन आग्रह गर्दै नेता, प्रशासन, पुलिस कहाँ पुगिनन् र उनी । तर कसैले उनको पैसा असूल गरिदिएनन् ।

ठगी आरोपमा सुधीर अहिले जेलमा छन् भने सुधीरबाट ठगिएकी तारादेबी सडकछाप छिन् । तारादेबी त उदाहारणपात्र मात्रै हुन्, उनीजस्तै सुधीरबाट ठगिने हजारौंका आआफ्नै व्यथा छन् ।


पुष्प दुलाल