सम्पत्ति जोगाउन दाम्पत्य त्याग्ने विकृति, कारबाहीबाट बच्न अर्बपतिको नक्कली डिभोर्स !



काठमाडौं । सेयर बजारका चर्चित हस्ती ज्ञानेन्द्रलाल प्रधानले २०७८ कात्तिक ५ गते योहो टेलिभिजनको ‘क्यापिटल कनेक्सन’मा भनेका छन्, ‘पद छोडेर मुक्त हुने, बदमासी गरेर आफैं एक्लै कमाउनेलाई छोड्नु हुँदैन । कडा सजाय दिने हो भने सेयर बजार र रेमिट्यान्सबाट कमाएको पैसाको भविष्य उज्वल छ ।’

प्रधानले भनेको कुरा सुन्दा लाग्छ, सेयर बजारलाई व्यवस्थित र पारदर्शी बनाउन प्रधान सकारात्मक र ठूलो भूमिका खेलिरहेका छन् ।

यिनै प्रेरक अभिव्यक्ति दिँदै हिँड्ने प्रधान आफैंले भने गैरकानुनीरुपमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेर त्यसबाट जोगिन सम्बन्ध बिच्छेदको सहारा लिएका छन् । श्रीमति बिमला प्रधानसँग मानापाथी छुट्याएको घोषण गर्छन् । छोरा चेतन र छोरी निभितासँग अंशवन्डा गरेको भन्दै हिँडेका छन् ।

उनी आफैंले योहो टेलिभिजनमो दिएको भनाइलाई पालना गर्ने हो भने सबैभन्दा पहिला प्रधान कारवाहीमा पर्नुपर्ने हो । श्रीमतिसँग सम्बन्ध विच्छेद र अंशबण्डा उनको अधिकार होला तर कारवाहीबाट बच्नकै लागि गरिएको उनको कदम कारवाहीयोग्य छ ।

२०७८ चैत १८ गते प्राइम टेलिभिजनको ‘स्टक मार्केट’ कार्यक्रममा पनि प्रधानले भनेका छन्, ‘इन्साइटर ट्रेडिङ हुँदै हुँदैन, हुन्छ भन्नेमा विश्वास गर्दिन ।’

उर्जा क्षेत्रका हस्ती प्रधानले नेपाल हाइड्रो डेभलपरको अध्यक्षहुँदा २०७८ साउनमा श्रीमती, छोरा र छोरीको नाममा रहेको सेयर बिक्री गरेका थिए । उनले भित्री कारोबार गरेको भन्दै धितोपत्र बोर्डले यस विषयमा अनुसन्धान शुरु गरेको छ । बोर्डले अनुसन्धान गरेपछि प्रधानले श्रीमतीसँग सम्बन्ध विच्छेद भएको र छोराछोरीसँग अंशबण्डा भइसकेको भनी बोर्डलाई जवाफ दिएका छन् । उनले आफू पदमा रहँदा श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर ६ करोड रुपैयाँभन्दा बढीमा बिक्री गरेका छन् ।

इन्साइडर ट्रेडिङ गरेर कारवाहीबाछ बच्न सम्बन्ध बिच्छेदको सहारा लिने अर्का व्यक्ति हुन् उर्जा क्षेत्रका हस्ती गुरु न्यौपाने ।

उमेरले वृद्धभत्ता खाने बेलाका अर्बपतिको सम्बन्ध बिच्छेदले सबैलाई चकित बनाएको छ ।

जनता बैंकको अध्यक्ष भएको बेला न्यौपानेले श्रीमती सावित्रीदेवीको नाममा ८५ हजार कित्ता सेयर किनेका थिए । जुन धितोपत्र नियमावली ३८ (१) को क अनुसार भित्री कारोबार (इन्साइटर टे«डिङ) थियो ।

अध्यक्षले पदमा रहँदा आफू वा आफन्तको नाममा सेयर किन्न पाईंदैन । त्यो गैर कानूनी ठहरिन्छ । न्यौपानेले कानूनविपरीत सेयर २ करोड १९ लाखको सेयर किने । कानूनी कारबाही भोग्नुपर्ने, उक्त सम्पत्ति जोगाउनु पर्ने भएपछि उनले कागजी रुपमा श्रीमतीसँग सम्बन्ध टुटाए । न्यौपाने निकट स्रोतका अनुसार अहिले पनि दुवैजना सँगै बस्दै आएका छन् । मानापाथी पनि छुटिएको छैन ।

न्यौपानेले श्रीमतीको नाममा ५८ हजार कित्ता सेयर किनेको पाइएपछि राष्ट्र बैकले दिएको निर्देशनपछि बैंकले सावित्रीदेवीको नाममा रहेको सेयर जफत गरी लिलामी प्रकृयाअघि बढाएको थियो ।

बैंकले उक्त सेयर लिलामी गर्ने अन्तिम मिति २०७४ कात्तिक २१ गते रहेको थियो । तर, न्यौपानेले श्रीमतीसँग डिभोर्ड भएको कागज तयार पारेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले उक्त सेयर तत्कालै लिलामी नगर्न निर्देशन दिएको थियो । लगत्तै सेयरको लिलामी रोकियो । लिलामी रोकिनुको कारण थियो न्यौपाने दम्पतीको बिच्छेद ।

जलविद्युत क्षेत्रमा पनि यस्ता घट्ना धेरै भएको जानकारहरुको भनाइ छ । नियामकले यसबारेमा बुझुदा अंशबण्डा गरिसकेको जवाफ आउने गरेको छ ।

सिभिल बैंक र सिभिल को-अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङ र उनकी श्रीमती सिर्जना शाक्यसँगको सम्बन्ध बिच्छेद पनि यस्तै किसिमको छ । तामाङ र शाक्यले पनि करोडौको सम्पत्ति जोगाउनकै लागि मिलेभगतमा सम्बन्ध बिच्छेद गरेका थिए ।

प्रधान, न्यौपाने र तामाङ चर्चित केही उदाहरण हुन्, जसले ‘आर्थिक अपराध’ गरेर कारवाहीबाट बच्न पतिपत्नीबीच सम्बन्ध विच्छेद गरे ।

नेपालमा यस्ता घट्टा कैयन घटनाहरु विकृतिका रुपमा फस्टाएको जानकार व्यक्तिहरुको भनाइ छ ।

अधिवक्ता भरत कुमार लकाईंका अनुसार कानूनी छिद्रूतालाई टेकेर नेपालमा यस्ता घट्ना वृद्धि भइरहेको बताउँछन् । आफूले आर्जन गरेको सम्पत्तिको क्षति कम होस् भनेर यस्तो योजना बन्ने गरेको उनको भनाइ छ ।

‘आफू सञ्चालक बन्नेबेला श्रीमतीको नाममा पनि सेयर राख्ने, पछिबीचमा बिक्री गर्नु परेमा सम्बन्ध बिच्छेद भयो भनेर भन्ने गरिएको छ’ उनले भने, ‘सञ्चालन भएको बेला सम्बन्ध बिच्छेद गर्न नमिल्ने भन्ने कानूनी व्यवस्था छैन, कानूनी छिद्रतामा खेलेर योजनाबद्ध रुपमा यस्ता गतिविधि नेपालमा बढ्दै गएको छ ।’

पछिल्लो समय व्यक्तिगत आर्थिक हितका लागि यस्ता अनुचित गतिविधि बढ्दै गएको उनको तर्क छ ।

त्यस्तै, कानूनी छिद्रताको सहारामा गरिने यस्ता गतिविधिले वित्तीय व्यवस्थालाई मात्रै नभएर सेयर बजार, लगानीकर्तालाई समेत असर पर्ने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपालको भनाइ छ ।

‘यस्ता विषय सुन्दा सामान्य लागेपनि कालान्तरमा वित्तीय व्यवस्थामा कतै न कतै असर पर्छ,’ धितोपत्र बोर्डको पूर्वअध्यक्ष समेत रहेका डा. नेपालले भने ।

यस्ता विषयलाई समाधान गन कानूनी आधारहरु बलियो बनाउनु पर्ने र कानूनी छिद्रतालाई टेकेर वित्तीय क्षेत्रमा हुने यस्ता गम्भिर कमजोरी रोक्नुपर्ने डा. नेपालको सुझाव छ ।

सम्बन्ध बिच्छेदको कागज बनाउने र पछि सँगै बस्नु भनेको कानूनी सहारा लिएर राज्य र सरोकारवालाई धोका दिने नियत देखिएको अधिवक्ता लकाइको भनाइ छ । सामाजिक छबी भएका व्यक्तिले सम्पत्ति आर्जनको लागि गलत काम भइरहेको उनको भनाइ छ ।

‘वित्तीय अपराध रोक्ने भनेर कानूनले प्रमोटरलाई सेयर बिक्री गर्ने समयावधि तोकेको छ,’ उनले भने ‘सेयर कसैको नाममा नामसारी गर्दा, अंशबण्डा गर्दा, सम्पत्ति बाँढफाँट गर्दा अलग भएको व्यक्तिको दायित्व मुख्य व्यक्तिमा पर्दैन । अलग भएपछि आफ्नो सम्पत्ति जोगाउन सकिन्छ । यस्ता घट्ना नेपालमा झनै बढेको अधिवक्ता लकाइको तर्क छ ।

‘कुनै व्यक्तिलाई बिगो तिर्नेगरी कतै मुद्दा पर्यो भने मुद्दा पर्नुभन्दा पहिला नै श्रीमती, छोराछोरीलाई सम्पत्ति छुट्याइदिएपछि आफ्नो मात्रै हर्जना तिरे पुग्छ,’ उनले भने, ‘व्यवहारिक रुपमा उनीहरु छुट्टिएका हुँदैनन, चाहिएको समयमा उपभोग गर्न सकिन्छ र हर्जनाबाट पनि बचिन्छ ।’ पछिल्लो समय कानूनी छिद्रतालाई टेकेर यही अनुसार नै योजना बन्ने गरेको उनको भनाइ छ ।

यो विषय राज्यलाई थाहा भएपनि कारबाहीको दायरामा ल्याउने आधार नभएको उनले बताए । कानूनमा त्यस्तो अवस्थामा सम्बन्ध बिच्छेद गर्न हुँदैन, अशंबण्डा गर्न हुँदैन भनेर नलेखिएको भएर यस्तो वित्तीय विकृती बढेको उनको तर्क छ । यस्ता घट्नामा सर्वसाधारण नभएर जान्ने सुन्ने नै सहभागी हुने गरेको लकाईले बताए ।

सेयर बजारका विश्लेषक मुक्ती अर्याल पनि कानूनी छिद्रतालाई टेकेर हुने यस्ता खालका ठगी सबैलाई कुनै न कुनै रुपमा असर पार्ने बताउँछन् । कागजीरुपमा नै सम्बन्ध बिच्छेद गरेको, मानापाथी छुट्याएको भएपनि यसले सम्बन्धीत कम्पनी, लगानीकर्ता समग्र बजारमा कस्तो असर पर्छ त्यो हेर्न आवश्यक रहेको अर्यालको भनाइ छ । कानूनी छिद्रतालाई टेकेर गरिने यस्ता ठगी रोक्नु पर्ने आजको आवश्यकता भएको विश्लेषक अर्यालको तर्क छ ।

अर्बपति व्यवसायीले देखाएको यो बाटोले समाजलाई विकृत्तितर्फ धकेल्नेमा कुनै सन्देह छैन ।


सोभित थपलिया