तीनकुनेमा भएको हिंसा, आगजनी र तोडफोडले पूर्वराजा दुखी

182
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित जनप्रदर्शनका क्रममा भएको हिंसा, आगजनी, तोडफोड र मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै आयोजना गरिएको उक्त प्रदर्शन उग्र बन्दा दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए । त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा समेत व्यापक क्षति पुगेको थियो।

उक्त घटनाको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने माग भइरेको बेला नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै शाहले घटनाले आफूलाई दुःखी बनाएको उल्लेख गरेका छन्।

‘केही दिनअघि भएको जनप्रदर्शनमा जुन किसिमको हिंसा, आगजनी र तोडफोड भयो, त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिबारे सुन्दा हामीलाई अत्यन्त दुःख लागेको छ,’ पूर्वराजा शाहले सन्देशमा भनेका छन्।