बिमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलाई सोध्यो स्पष्टीकरण

1.9k
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले गार्डियनलाई गत बिहीबार स्पष्टीकरण सोधेको हो ।

कम्पनीले प्राधिकरणलाई जानकारी नै नदिई हकप्रद सेयर निष्कासन गर्न लागेको भन्दै स्पष्टीकरण सोधेको प्रवक्ता सुशिलदेव सुवेदीले बताए । बिमा क्षेत्रको नियामक प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ गार्डियनले वैशाख २ गतेसम्म दिइसक्नुपर्नेछ ।

गार्डियनले १:१ अनुपातमा अर्थात् १००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको चैत १८ गतेको सञ्चालक समिति बैठकले वैशाख ५ गते विशेष साधारणसभा बोलाउँदै यस्तो प्रस्ताव गरेको थियो ।

हकप्रदका लागि बुक क्लोज मिति चैत २८ तोकिएको थियो । यो प्रस्ताव विशेष सभाबाट पारित भएपछि मात्र बिमा प्राधिकरण र धितोपत्र बोर्डको स्वीकृति लिएर जारी प्रक्रिया अघि बढाउने कम्पनीको प्रस्ताव थियो ।

कम्पनीले केही समयअघि आईपीओ जारी गरेर चुक्ता पुँजी ७५ करोड रूपैयाँ पुर्‍याएको थियो । हकप्रदपछि पुँजी १ अर्ब ५० करोड पुग्नेछ ।