
एजेन्सी । सुन मूल्य लगातार बढ्दै गएको छ । अहिले सुनको मूल्य रेकर्ड उचाइमा पुगेको छ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो छ । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम भएको हो, जुन अहिलेसम्मकै महँगो हो ।
अहिलेको अनिश्चित बजारको अवस्थामा व्यवसायीहरूले सुनलाई सुरक्षित लगानीको रूपमा लिइरहेका छन् र लगातार किनिरहेका छन् ।
पारम्परिक रूपमा सुनलाई एक विश्वासिलो र स्थायी सम्पत्तिको रूपमा हेरिन्छ, जुन कठिन वा अस्थिर आर्थिक परिस्थितिमा उपयोगी हुन्छ ।
तर अहिले जस्तो दुनियाभर बजारमा उतारचढाव भइरहेको बेलामा, के साँच्चै सुन सुरक्षित लगानी हो त ?
जबदेखि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च ट्यारिफ (कर) घोषणा गरे, तबदेखि पूरै विश्व बजारमा हलचल मच्चिएको छ।
व्यापार नीतिको दृष्टिकोणले यसलाई ‘शताब्दीकै ठूलो परिवर्तन’ भनिएको छ । अमेरिकाको ट्यारिफपछि विश्व बजारमा भएको उथलपुथलका कारण गत साता सुनको मूल्य प्रति औंस ३ हजार १६७ अमेरिकी डलरको रेकर्ड स्तरमा पुगेको थियो ।
ट्यारिफ र व्यापार युद्धले दुनियाभर चिन्ता बढाएको छ । जसले गर्दा यो वर्ष सुनको मूल्य धेरै पटक नयाँ रेकर्डमा पुगेको छ ।
जब जब अर्थतन्त्र अस्थिर हुन्छ त्यति बेलामा सुनको मूल्य एकाएक उकालो लाग्छ।
किन सुन किनिरहेका छन् मानिस ?
जब वित्तीय बजारमा अनिश्चितता आउँछ, लगानीकर्ताहरू सुनतिर आकर्षित हुन्छन् ।
बेलफास्ट विश्वविद्यालयका आर्थिक इतिहासकार डा. फिलिप फ्लायर्स भन्छन्, ‘सरकारहरू, खुद्रा लगानीकर्ता र सामान्य मानिसहरू सबै सुन किनिरहेका छन् ।’
उनकाअनुसार, धेरै मानिसले सेयर जस्ता इक्विटी साधनबाट पैसा निकालेर सुनमा लगानी गरिरहेका छन् । यही कारणले सुनको मूल्य यति चाँडो बढेको हो।
जब अन्तर्राष्ट्रिय वित्तीय बजार अनिश्चित हुन्छ, लगानीकर्ताहरूको ध्यान स्वाभाविक रूपमा सुनमा जान्छ ।
२०२० मा जब कोरोना महामारीका कारण अर्थतन्त्र कमजोर भयो, तब सुनको मूल्य धेरै चाँडो बढेको थियो । यद्यपि, यस्तो अनिश्चितता कहिलेकाहीँ सुनको मूल्यलाई असर पनि गर्न सक्छ ।
उदाहरणका लागि २०२० को जनवरीमा कोरोनाको खबर फैलिनासाथ सुनको मूल्य बढेको थियो तर मार्चमा फेरि घट्न थाल्यो । डा. फ्लायर्स भन्छन्, ‘सुनलाई सुरक्षित लगानी भनिन्छ तर यसको अर्थ यो होइन कि यसमा जोखिम हुँदैन।’
अर्थतन्त्रमा अनिश्चितता हुँदा सुनमा लगानीलाई राम्रो मानिन्छ, किनभने सुन सधैं महत्व राख्छ । इतिहासका हरेक समयमा र संस्कृति अनुसार सुनलाई मूल्यवान मानिएको छ, त्यसैले यसलाई किनबेच गर्न सजिलो हुन्छ ।
प्राचीन मिस्रको तुतनखामुनको सुनको मास्कदेखि लिएर अफ्रिकाको घानामा रहेको गोल्डन स्टुल र भारतको पद्मनाभन मन्दिरको सुनको सिंहासनसम्म, सुनको ऐतिहासिक र सांस्कृतिक महत्त्व धेरै छन् । त्यसैले धेरै मानिसहरू सुनलाई सबैभन्दा भरोसायोग्य सम्पत्ति मानेर जम्मा गर्छन् ।
अहिलेको समयमा सुन किन्ने जोखिम कति ?
विश्व बजारमा जेजस्तो भए पनि घरमा राखिएको सुन वा गरगहना सधैं मूल्यवान रहन्छ । तर यो पनि बुझ्न जरुरी छ कि सुनमा ठूलो लगानी गर्नु भनेको वित्तीय बजारका ठूला खेलाडीहरूका गतिविधिमा भर पर्नु हो ।
बजारका यी ठूला खेलाडीहरूले जे गर्छन्, त्यसको असर सुनको मूल्यमा देखिन्छ । डा. फ्लायर्स भन्छन्, ‘सुनको मूल्य यति चाँडो बढ्नुको कारण नै यिनी ठूला खेलाडीहरूको चलखेल हो । मलाई लाग्छ अहिले धेरै देशका केन्द्रीय बैंकहरूले सुनको खरिद तीव्र रुपमा बढाएका छन् ।’
बजारको अनिश्चितता देखेर केन्द्रीय बैंकहरूले सेयर बजारबाट पैसा हटाएर ठूलो परिमाणमा सुन किनिरहेका छन् । उनीहरूको उद्देश्य गोल्ड रिजर्भ बढाउनु हो ।
यस अवस्थामा सामान्य मानिसका लागि सुन किन्नु जोखिमपूर्ण हुन सक्छ ।
डा. फ्लायर्स भन्छन्, ‘सुनको मूल्य यति चाँडो चढिरहेको बेला यसमा लगानी गर्नु जोखिमपूर्ण हुन सक्छ, किनभने जब बजार स्थिर बन्छ र सरकारहरू सोचविचार गरेर निर्णय गर्न थाल्छन्, तब मानिसहरू सुनमा लगानी घटाउन थाल्छन् ।’
उनी भन्छन्, ‘म त भन्छु, यदि सुनमा लगानी गर्न चाहनुहुन्छ भने लामो अवधिका लागि मात्र गर्नुहोस् ।’
प्रतिक्रिया