२ करोड बढीको सुनचाँदीको अवैध कारोबार गर्ने ९ भारतीय नगदसहित पक्राउ


काठमाडौ । बिनाबिल करोडौंको सनु चाँदी कारोबार गर्ने ९ जना भारतीय नागरिक नगदसहित पक्राउ परेका छन् ।

वैशाख २ गते काठमाडौंका विभिन्न स्थानहरुमा सुन तथा चाँदीको अबैध कारोबार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौ र प्रहरी वृत्त बौद्वको टोलीले ९ जनालाई नगदसहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट १ करोड ७० लाख १० हजार ६० रुपैयाँको १ हजार ७६‍.५१८ ग्राम सुन, ३० लाख ९ हजार ९१ रुपैयाँको १८ हजार ४५.५२१ ग्राम चाँदी बरामद भएको छ ।

प्रहरी टोलीले बिभिन्न सुन रिफाईनिङ एण्ड टंच सेन्टरहरुमा खानतलासी गर्दा बिल बिजक बिनाको १ करोड ७० लाख १० हजार ६० रुपैयाँको सुन, ३० लाख ९ हजार ९१ रुपैयाँको चाँदी, ८ लाख २७ हजार ५ सय नेपाली रुपैयाँ र ११ हजार ७ सय रुपैयाँ भारुसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले ९ जनालाई जोरपाटी, कपन र चाबहिलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत महारष्ट्र घर भई हाल गोकर्णेश्‍वर नगरपालिका ५ जोरपाटी बस्ने ३० बर्षका नबनाथ बाकु कसीद, सोही स्थान बसोबास भएका २० बर्षका सन्दिप पोपट हजारे, भारत महारष्ट्र घर भई हाल चावहिल बस्ने २२ बर्षका अन्सार दिलावर सिकल्गार, भारत महारष्ट्र घर भई हाल चावहिल बस्ने १८ बर्षका सुरज राजेश मदने रहेका छन् ।

यस्तै भारत महारष्ट्र घर भई हाल बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने २१ बर्षका अरमान हनिफ ईनामदाय, भारत महारष्ट्र घर भई हाल बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने २२ बर्षका मनोज सुभाष सकट, भारत महारष्ट्र घर भई हाल कामनपा ७ बस्ने ३८ बर्षका अमोल कुमार गोस्ले,भारत महाराष्ट्र घर भई हाल चावहिल बस्ने २० बर्षका सुनिल मिटकरी र भारत महारष्ट्र घर भई हाल चावहिल बस्ने २० बर्षका सुरज नन्दीवाली रहेका छन् ।

उनीहरुलाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।