
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास पनि बैंकिङ क्षेत्रको लागि सुखद नदेखिएको बैंकरहरूले बताएका छन् । आइतबार तेस्रो त्रैमासको क्लोजिङमा जुटेका बैंकहरूको लागि यो त्रैमास पनि सुखद नदेखिएको हो ।
एकाध बाहेकका सबै बैंकहरूले पुस मसान्तको भन्दा सकारात्मक अवस्था नदेखिएको उल्लेख गरे । भन्सारको तथ्याङ्कमा आयात र निर्यात व्यापारका साथै राजस्वमा पनि सुधार देखिएपछि बैंकिङ क्षेत्रमा त्यसको कुनै प्रभाव नदेखिएको उनीहरूको दाबी छ ।
‘वैदेशिक व्यापारमा केही सुधार देखिएपछि बैंकिङ क्षेत्रको रिकभरीमा खासै सुधार देखिएको छैन,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘नेपाल राष्ट्र बैंकले प्रत्यक्ष लगानी गर्न भनेको कृषि र साना तथा मझौला व्यवसाय कर्जाको रिकभरीमा सबैभन्दा ठूलो समस्या देखिएको छ ।’ सरकारले भुक्तानी नगर्दा निर्माण व्यवसायिको कर्जामा समस्या बढ्दै गएपनि राष्ट्र बैंकको गत साताको परिपत्रले उक्त समस्या केही समयको लागि सरेको हो ।
तर, राष्ट्र बैंकले प्रत्यक्ष लगानी गर्न भनेको कृषि र साना तथा मझौला व्यवसाय कर्जाको रिकभरी सबैभन्दा चुनौतीपूर्ण देखिएको छ । वैदेशिक व्यापारको तथ्याङ्कले आन्तरिक आर्थिक गतिविधिमा केही सुधार हुँदैछ भन्ने अवस्था देखाएपछि बैंकिङ क्षेत्रको लागि भने गत पुस मसान्तको भन्दा चैत मसान्तमा पनि सुधार देखिएन ।
गत साता नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई दिएको सहुलियतले केही बैंकको लागि सकारात्मक हुने भएपनि समग्र बैंकिङ क्षेत्रमा भने त्यसको प्रभाव नदेखिने उनीहरू बताउँछन् । निर्माण व्यवसायमा लगानी गरेका नबिल, प्राइम, कुमारी लगायतका केही बैंकलाई भने राष्ट्र बैंकको सर्कुलरफे केही सकारात्मक प्रभाव पर्नेछ ।
केही बैंकका सीईओहरू भने बजारमा देखिएको ‘अटो करेक्सन’ सँगै बैंकहरूमा पनि त्यसको प्रभाव देखिन लागेको बताउँछन् । बैंकहरूले पहिले नै आवश्यक कर्जा नोक्सानी व्यवस्था गरिसकेको कारण पनि अब थप कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेभन्दा रिकभरीमा सुधार हुँदा प्रोभिजनिङ राइटब्याक गर्दै जाने अवस्था पनि आउने सक्ने उनीहरूको विश्लेषण छ ।
निर्माणसँगै नेपाल राष्ट्र बैंकले अनिवार्य लगानी गर्न भनेको कृषि र साना तथा मझौला व्यवसाय कर्जा (एमएसएमई) क्षेत्रमा सुधार हुनेभन्दा पनि रिकभरी चुनौतीपूर्ण बन्दै गएको अर्का एक बैंकरले बताए ।
‘एमएसएमईको रिकभरी नै चुनौती बन्दै गएको छ भने घरजग्गाको कारोबार चलायमान हुन नसक्दा धितो लिलाम हुन सकेको छैन भने गैर बैंकिङ सम्पत्ति बिक्री हुन सकेको छैन,’ ती प्रमुख कार्यकारी अधिकृतले भने, ‘जति बिग्रनु थियो बिग्रियो, अब रिकभरीलाई जोड दिनुपर्ने अवस्था छ । त्यसको लागि सबै क्षेत्रबाट सहयोग र सहकार्य हुनुपर्छ ।’ अहिलेको अवस्था देखेर अब ‘सक’ लाग्ने अवस्था भन्दा पनि त्यसबाट माथि आइसकेको ती बैंकरले बताए ।
पछिल्ला २ आर्थिक वर्षको बैंकहरूको अवस्था हेर्दा सबैभन्दा चुनौतीपूर्ण मर्जरमा गएको बैंकहरू देखिन्छन् । नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, प्रभु, हिमालयन बैंकको साथै विगतमा व्यवसाय विस्तारमा एग्रेसिभ लागेको एनआईसी एशिया बैंकको पनि वित्तीय अवस्था त्यति सकारात्मक छैन ।
अर्को एक बैंकका प्रमुख कार्यकारी अधिकृत भने नयाँ वर्ष २०८२ बैंकको वित्तीय स्वास्थ्यको लागि केही सकारात्मक रहन्छ भन्ने देखिएको बताउँछन् ।
‘दोस्रो त्रैमासको भन्दा प्रोभिजन थप्नुपर्ने अवस्था देखिदैन । पुसमा धेरै नै कर्जा नोक्सानी व्यवस्था रहेकोमा चैतमा राइटब्याक हुने अवस्था देखिन्छ’ उनले भने, ‘पहिले नै पर्याप्त कर्जा नोक्सानी व्यवस्था गरेको कारण पनि चैतमा सुधार देखिने अवस्था छ ।’ निष्क्रिय कर्जा पनि पुसको भन्दा केही घट्ने अवस्था रहेको उनले बताए । राष्ट्र बैंकले गत साता निर्माण व्यवसायीलाई दिएको सुविधाले पनि थप सहज भएको उनले बताए ।
तर, मर्जरमा गएकोमध्ये एक बैंकका एक उच्च अधिकृत भने चैतमा रिकभरीमा सुधार नदेखिएको बताउँछन् ।
‘दोस्रो त्रैमास र तेस्रो त्रैमासमा कुनै अन्तर देखिदैन । रिकभरीमा सुधार नहुँदा वित्तीय विवरणमा सुधार हुने अवस्था छैन । चैत मसान्तको वित्तीय विवरण पनि सुखद छैन,’ उनले भने, ‘कर्जा असुलीमा पनि समस्या र क्यासफ्लोको नै समस्या हुँदा घरजग्गा लगायतका क्षेत्र चलायमान नहुँदा धितो लिलाम पनि हुने अवस्था छैन । उद्योग व्यवसाय पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने, पुसको भन्दा सुधार हुने अवस्था छैन ।’
सरकारको भुक्तानी हुन नसकेको अवस्थामा गत साताे राष्ट्र बैंकको परिपत्रले निर्माण व्यवसायीको कर्जामा कागजमा केही सुधार देखिएपनि वास्तविक रिकभरीमा भने समस्या नै रहेको उनले बताए । पैसा कमाएर नै ऋण तिर्ने अवस्था भने नदेखिएको भन्दै पूर्वसंरचना र पुनर्तालिकिकरणमार्फत पुरानै रोगलाई सार्दै जाने अवस्था मात्रै रहेको बताए ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय चैतमा पनि बैंकिङ क्षेत्रको रिकभरी सन्तोषजनक नरहेको बताउँछन् । असोजमा भन्दा पुसमा र पुसमा भन्दा चैतमा रिकभरी कमजोर हुँदै जाँदा निष्क्रिय कर्जा बढ्दै गएको उनले बताए । निष्क्रिय कर्जा बढ्ने र कर्जा नोक्सानी व्यवस्था थप्दै जानुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
‘वैदेशिक व्यापार, सरकारको राजस्व लगायतले आर्थिक गतिविधिमा केही सुधारउन्मुख देखिएपनि त्यसको प्रभाव बैंकिङ क्षेत्रमा देखिदैन,’ उनले भने, ‘गत साता नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्रले पनि बैंकहरूको आम्दानी केही घट्ने तर कर्जाको वर्गीकरणमा कुनै सुधार देखिने अवस्था छैन । गत मंसिर मसान्तको अवस्था अनुसार नै अगाडि बढ्न भनेकोले त्यसले कुनै फरक पर्ने अवस्था छैन ।’
अर्को एक बैंकको उच्च व्यवस्थापनमा नै कार्यरत बैंकर भने तेस्रो त्रैमासमा रिकभरीमा क्रमिक सुधार देखिन लागेको बताउँछन् । गत साता निर्माण व्यवसायी लक्षित राष्ट्र बैंकको सर्कुलरको केही शर्तहरूका कारण धेरै अपेक्षा गर्ने अवस्था भने नभएको तर, रिकभरी त्यति निराशाजनक नै भने नरहेको उनले बताए ।
‘कुनै १/२ वटा क्षेत्रमा धेरै नै सकारात्मक देखिएको भन्दा पनि सबै क्षेत्रमा केही सुधार देखिएको छ,’ उनले भने, ‘ब्याजदर धेरै नै कम हुँदा त्यसले पनि केही सकारात्मक प्रभाव देखिएको छ । पुसको भन्दा खराब अवस्था नआएपनि धेरै सुधारको अपेक्षा भने छैन ।’
धेरैजसो बैंकरहरू पुसको भन्दा खराब अवस्था आउने नदिन भनेर रिकभरीमा जोड दिएको बताउँछन् । पुसमा पनि तुलनात्मक रूपमा राम्रो वित्तीय विवरण प्रकाशित गरेको अर्को एक बैंकका प्रमुख कार्यकारी अधिकृतले आइतबार अबेरसम्मको जोडबलले दोस्रो त्रैमासको अवस्थाको वित्तीय विवरण ल्याउन सक्ने अवस्था देखिएको बताए ।
प्रतिक्रिया