चीनको छैठौं पुस्ताको लडाकु विमानको तस्बिर सार्वजनिक भएपछि हलचल, अमेरिका पछि परेको हो ?

3.1k
Shares

एजेन्सी । चीनमा नयाँ लडाकु विमानको तस्बिरहरू सार्वजनिक भएका छन् । यो विमान तीन इन्जिन भएको, पुच्छर नभएको र ‘फ्लाइङ विङ’ डिजाइनमा बनेको छ । पश्चिमेली विश्लेषकहरूले यसलाई जे-३६ भनेर नाम दिएका छन् ।

यी तस्बिरहरू भिडियोबाट लिइएका हुन् र कहिले खिचिएको भन्ने थाहा छैन तर ती सोमबार चिनियाँ सामाजिक सञ्जालहरूमा देखिएका थिए । भिडियोमा यो लडाकु विमान छेन्दु एअरक्राफ्ट इन्डस्ट्री ग्रुपको रनवे नजिकैको राजमार्गमाथि उडिरहेको देखिन्छ । यही कम्पनी चीनको सिचुवान प्रान्तमा यो नयाँ लडाकु विमान बनाउने कारखाना हो भनेर विश्वास गरिएको सीएनएनले उल्लेख गरेको छ ।

जे-३६ को तस्बिर पहिलोपटक गत वर्षको अन्त्यतिर चिनियाँ सामाजिक सञ्जालमा देखिएको थियो जसले तुरुन्तै विमान प्रेमी र सैन्य विशेषज्ञहरूको ध्यान तानेको थियो । थप तस्बिरहरू गत महिना पनि अनलाइनमा देखिएका थिए ।

यो विमानलाई छैठौं पुस्ताको लडाकु विमान मानिएको छ । जसमा नवीनतम स्टेल्थ प्रविधि, अत्याधुनिक इलेक्ट्रोनिक प्रणाली, नयाँ प्रकारको इन्जिन र एअरफ्रेम डिजाइन प्रयोग भएको छ ।

इटालियन वायुसेनाका पूर्व अधिकृत तथा सैन्य उड्डयन विशेषज्ञ डेभिड चेन्सिओट्टीले आफ्नो वेबसाइट द एभिएसन्स मा भनेका छन्, ‘६ सेकेन्डको भिडियोले जे-३६ को डिजाइन राम्रोसँग देखाएको छ ।’

उनका अनुसार विमानको तीन इन्जिनको व्यवस्था विशेष प्रकारको छ । दुई इन्जिनका इन्टेक पखेटामुनि छन् भने तेस्रो इन्टेक ककपिटको पछाडि माथिल्लो भागमा छ । यो परम्परागत दुई इन्जिन भएका लडाकु विमानहरूभन्दा फरक छ र यसले बल र ब्याकअपमा फाइदा दिन सक्छ।

विमानको तल्लो भागमा हतियार राख्ने भित्री खाल्डाहरू हुने स्थान देखिन्छ । जसले लामो दूरीको स्ट्राइक मिसाइल बोकेर जान सक्ने सम्भावना देखाउँछ ।

विश्लेषकहरूका अनुसार जे-३६ को विकासले चीनलाई छैठौं पुस्ताको लडाकु विमानको होडमा अमेरिका बराबर वा अघि पनि पुग्न सक्ने बनाउनेछ ।

अहिले अमेरिकासँग पाँचौं पुस्ताका लडाकु विमान दुई इन्जिनको एफ २२ र एक इन्जिनको एफ ३५ छन्, जुन अहिले विश्वकै उत्कृष्ट मानिन्छन् । चीनसँग पनि पाँचौं पुस्ताका जे २० र जे ३५ नामक लडाकु विमान छन्, तर ती अमेरिकी विमानहरूजस्तै युद्धमा परिक्षण भइसकेका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना एफ ४७ नामक छैठौं पुस्ताको अमेरिकी लडाकु विमान बनाउन बोइङ कम्पनीलाई ठेक्का दिइएको घोषणा गरेका थिए । ट्रम्पले भने अनुसार त्यसको प्रोटोटाइप (नमूना) पाँच वर्षदेखि उडिरहेको छ ।

तर अमेरिकी वायुसेनाले दिएको जानकारी अनुसार उक्त ठेक्काले अहिलेको लागि केवल इन्जिनियरिङ र उत्पादन विकासको चरण समेट्छ । अनि केही परीक्षणका लागि थोरै विमान निर्माण गरिनेछ । कहिले तयारी अवस्थामा पुग्ने भन्ने समय तालिका भने दिइएको छैन ।

चीनको जे ३६ अहिले सैन्य उड्डयनको चर्चामा छ भने त्यसैदिन अर्को विमान जे एक्सएक्स वा कहिले काही जे ५० भनिने दुई इन्जिन भएको पुच्छर नभएको अर्को विमानको तस्बिर पनि सार्वजनिक भएको थियो ।

चिनियाँ सेनाले भने यी दुई विमानको अस्तित्व औपचारिक रूपमा स्वीकार गरेको छैन ।

तर चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले गत महिना विभिन्न सैन्य विशेषज्ञहरूलाई उद्धृत गर्दै लेखेको थियो, ‘यदि यी तस्बिरहरू साँचो हुन् भने चीनले छैठौं पुस्ताका लडाकु विमान विकासमा तीव्र प्रगति गरिरहेको देखिन्छ ।’

एरोस्पेस नलेज नामक पत्रिकाका प्रमुख सम्पादक वाङ यानानले भने ‘विकासको दृष्टिकोणले हेर्दा चीन आगामी पुस्ताका हवाई उपकरणमा नयाँ प्रयोग गर्न प्रतिबद्ध देखिन्छ ।’

धेरैपटक नयाँ लडाकु विमानको अवधारणाबाट सार्वजनिक प्रदर्शनसम्म आउन वर्षौं लाग्छ ।

चीनको जे ३५ पहिलोपटक गत नोभेम्बरमा एयरसो चाइनमा सार्वजनिक गरिएको थियो । तर विशेषज्ञहरूका अनुसार यो विमान कम्तीमा १० वर्षदेखि विकासमा थियो ।

Skip This