
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको कर्फ्यु आइतबार मध्यरातिबाट हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाभित्र आइतबार मध्यराति १२ बजेदेखि कर्फ्यु हटाएको हो ।
‘शान्ति सुरक्षाको अवस्थामा क्रमशः सुधार हुनुका साथै सम्बद्ध पक्षहरुसँग आइतबार सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको आधारमा उक्त कर्फ्युलाई निरन्तरता दिन आवश्यक नभएकाले राति १२ बजेदेखि हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले शनिबार आयोजना गरेको हनुमान जयन्ती शोभायात्राको क्रममा दुई समूहबीच झडप भएपछि शनिबार साँझदेखि कर्फ्यु लगाइएको थियो । कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने लगाइएको छ ।
पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल ,उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ ।
प्रतिक्रिया