घरजग्गा र सेयरले डुबेका कमल ज्ञवालीको कथा



काठमाडौं । बैंकिङ कसूरमा अदालतले दोषी ठहर गरेका फरार अभियुक्त कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहेका ज्ञवालीलाई नेपाल प्रहरीले भारतको नयाँदिल्लीबाट ३ दिनअघि पक्राउ गरेको थियो । प्रहरीले उनलाई आज काठमाडौं ल्याउँदछ ।

पाटन उच्च अदालतका न्यायाधीशद्धय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले कमल ज्ञवाली दम्पतीलाई २०७३ असोज ५ गते ४ वर्ष जेल र ६ करोड ६५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनायो । त्यस्तै, ज्ञवाली पत्नी गौरी खनाल ज्ञवालीलाई ३ वर्ष जेल सजाय र ६ करोड २५ लाख र ६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो ।

घरजग्गा र सेयरले यसरी डुबायो ज्ञवालीलाई

०६२/६३ सालतिर काठमाडौंमा घरजग्गाको भाउ आकाशियो । ज्ञवाली घरजग्गाको कारोबारमा सक्रियताका साथ संलग्न भए । साझेदारीमा जग्गा प्लटिङ पनि गर्थे उनी ।

बैंकहरुले पनि घरजग्गाको प्लटिङमा ठूलो लगानी गरेका थिए । तत्कालीन किष्ट बैंक त घरजग्गामा लगानी गर्ने बैंकमा अग्रपंक्तिमै पर्थ्यो ।

पैसा कमाउन आक्रमक तरिकाले लागेका ज्ञवालीले छोटो समयमै मनग्ये पैसा कमाएका थिए । ०५२ सालमा १० हजार रुपैयाँ बोकेर गुल्मीबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका ज्ञवालीले १०/१२ वर्षमै ३ अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाइसकेका थिए ।

त्यो सबै कमाइको स्रोत सेयर र घरजग्गा थियो ।

घरजग्गाकै कारण सन् २००८ को विश्व आर्थिक मन्दी आयो। गभर्नर विजयनाथ भट्टराईको पालामा नेपाल राष्ट्र बैंकले ०६६ पुस २ गते घरजग्गा क्षेत्रमा २५ प्रतिशतभन्दा बढी लगानी नगर्न बैंकहरुलाई परिपत्र गर्‍यो । राष्ट्र बैंकको त्यही परिपत्रपछि नेपालमा पनि घरजग्गा करोबारमा मन्दी आयो ।

ज्ञवालीले ५० करोड रुपैयाँभन्दा बढी घरजग्गामा लगानी गरेका थिए । ०६७ सालतिरको बजार मूल्यअनुसार उनीसँग २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर थियो ।

त्यसबेला ज्ञवाली नेपालमा धनीहरुको सूचि निकाल्नुपर्यो भन्दै माग गर्न थालिसकेका थिए । किनकि उनी आफूलाई देशकै धनाड्य व्यक्तिहरु मध्ये एक ठान्थे ।

किष्ट बैंकमा मात्र उनले आफ्नो र अरुको नाममा किनेको गरी ४० लाख कित्ताभन्दा बढी सेयर थियो । सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतमा पनि उनको सेयर थियो ।

०६६ पछि घरजग्गाको कारोबार ठप्प जस्तै भयो । सेयर बजार लगातार घट्यो । लगानी योग्य पुँजी (तरलता) अभाव लगायतका समस्याका कारण बैंकिङ क्षेत्र ठूलो दबावमा पर्‍यो ।

१ वर्षको अवधिमा भएका यी ३ वटा घटना ज्ञवालीका लागि आकाश खसे झैं भयो ।

आफूसँग भएको सेयर र घरजग्गा बेचेर त्यसबेलै ऋण सल्ट्याएका भए उनी यो स्थितिमा आइपुग्ने थिएनन् । तर, केही समयमै घरजग्गा र सेयरको मूल्यमा सुुधार आउला भन्ने आशमा उनले पहिलेको ऋण थेग्न ऋणमाथि ऋण थप्न थाले ।

परिस्थित झन भयावय बन्दै गयो । संकट टरेन । उनी झन् समस्यामा फस्दै गए ।

यस्तै समस्यामा फसिरहेका बेला ज्ञवाली विरुद्ध राष्ट्र बैंकमा उजुरी पर्यो । त्यसबेला गभर्नर थिए अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा । ज्ञवालीसँग खतिवडाको इगो प्रोब्लम थियो ।

ज्ञवालीले गभर्नरका लागि नाम सिफरिसमा परेका तत्कालीन डेपुटी गभर्नर बीरबिक्रम रायमाझीलाई गभर्नर बनाउन लबिङ गर्दै हिँडेका थिए । तर, उनको लबिङ सफल भएन । खतिवडा गभर्नर भए । त्यसपछि खतिवडाले ज्ञवालीलाई सिध्याउने दाउ कुरेर बसिरहेका थिए ।

त्यही बेला ज्ञवालीबिरुद्ध उजुरी पर्यो ।

उजुरीका आधारमा राष्ट्र बैंकले ०६९ मा ज्ञवालीमाथि छानबिन गर्‍यो । छानबिनका क्रममा ज्ञवालीले १२ करोड रुपैयाँ पर्ने धितोमा साढे १५ करोड रुपैयाँ ऋण दिएको देखिएपछि जम्को प्रकाशन प्रालिबाट साढे ३ करोड रुपैयाँ तत्काल उठाउन निर्देशन दियो ।

किष्टले जम्कोबाट तत्कालै साढे ३ करोड रुपैयाँ उठायो पनि ।

सो काण्डमा राष्ट्र बैंकले ज्ञवालीलाई ५ लाख रुपैयाँ जरिवाना तिरायो । तर, ऋणी किशोर ढकाललाई भने बैंकिङ कसुर अन्तर्गत मुद्दा दायर गर्न सीआईबीलाई पत्राचार गरियो ।

सीआईबीको अनुसन्धानमा ढकाललाई दिएको ऋण ज्ञवालीले नै प्रयोग गरेको खुलेपछि ०७० जेठ २२ मा ज्ञवाली पत्नी गौरीलाई महाराजगञ्जस्थित निवासबाटै प्रहरीले पक्राउ गर्‍यो । कमल भेटिएनन् । गौरीलाई केही समयमा धरौटीमा छुटाइयो ।

यसरी खोलिएको थियो किष्ट बैंक

गुल्मीको मध्यमवर्गीय परिवारमा जन्मिएका ज्ञवाली काठमाडौं आएर पढाइसँगै काम गर्न थाले । सुरुमा पढाउँथे । पछि नयाँ सोच लिएर वित्तीय क्षेत्रमा हात हाले ।

ज्ञवालीले ०५९ सालमा ५ करोड रुपैयाँमा ‘पावर टु सक्सिड’ भन्ने मूल नाराका साथ किष्ट मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स खोले ।

फाइनान्स कम्पनी हुँदा किष्टले तीन पटक ५, १० र ३ प्रतिशत मात्रै नगद लाभांश दिएको थियो । तर, उनले त्यो फाइनान्सलाई स्तरोन्नति गरी २ अर्ब चुक्ता पुँजी पुर्‍याउँदै ०६६ साल बैशाख २४ गते ‘क’ वर्षको वाणिज्य बैंक अर्थात् किष्ट बैंक बनाए । त्यसबेला किष्टलाई उनले सबैभन्दा बढी अर्थात् ५१ शाखा भएको बैंक बनाए ।

हकप्रद सेयर दिएर ५ बाट १० करोड, १० बाट २० करोड, २० बाट ६० करोड र ८० करोडबाट एकैचोटी २ अर्ब रुपैयाँ पुँजी पुर्‍याएइएको थियो । हकप्रदको बाढीले किष्टको सेयर सूल्य आकासियो । त्यसबेला किष्टको एक कित्ता सेयरको मूल्य १८ सय रुपैयाँसम्म पुगेको थियो ।

अति महत्वाकांक्षाले डुबायो

उनी जतिजति सफ हुँदै गए, त्यतित्यति उनको लोकप्रियता पनि बढ्दै गयो । सफलता र लोकप्रियताले उनलाई झन् महत्वाकांक्षी बनाउँदै लग्यो ।

घरजग्गा र सेयरमा ऋणमाथि ऋण थपेर लगानी बढाउँदै गएका ज्ञवाली अन्तत जम्को प्रकाशनका नाममा किष्ट बैंकबाटै र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको रहस्य खुलेपछि फरार भएका थिए ।

ज्ञवालीविरुद्ध सीआइबीले ठगी आरोपमा मुद्दा दायर गरेपछि किष्ट बैंकले आफ्नो अस्तित्व गुमायो । तत्कालीन प्रभु विकास बैंकले ०७१ भदौ ३० गते किष्ट बैंकलाई गाभेर प्रभु बैंकको नाममा एकीकृत कारोबार गरिसकेको छ ।

किष्ट किनेको प्रभुले भने ०७१ माघ १३ गते ज्ञवालीको बैंकमा रहेको सेयर बेचेर सावाँ (व्याजसहित २३ करोड रुपैयाँ असूल पनि गरिसकेको छ ।

तत्कालीन अवस्थामा कमल ज्ञवाली र किष्टले गरेको केही लगानी अहिले पनि प्रभु बैंकका लागि टाउनको दुखाइ बनेको छ ।

ज्ञवालीलाई नजिकबाट चिन्नेहरुका अनुसार ज्ञवाली अति नै महत्वाकांक्षी थिए । महत्वाकांक्षाकै कारण उनी मध्यमवर्गीय परिवारबाट अर्बपति बने । र, त्यही महत्वकांक्षले उनी अर्बपतिबाट सडकमा झरे । इज्जतबाट एकैपटक बदनामी कमाए ।