
मोरङ (डाँगीहाट) । नेपाली हवाई क्षेत्रका लेजेण्ड वीरेन्द्रबहादुर बस्नेत हवाई उड्डयनसँगै यान्त्रीकरणसहितको कृषि आधुनिकीरण अभियानमा सक्रिय हुँदै आएका छन् ।
उनले आफ्नो पुर्खौली थातथलो मोरङको बेलबारी ९ डाँगीहाटमा दुई दशकदेखि कृषि फर्ममार्फत कृषीयन्त्रको प्रयोग गरेर आधुनिक ढंगले खेतीपाती गर्ने अभियानमा आसपासका किसानलाई समेत जोड्दै आएका छन् ।
बस्नेतले करिब ६० करोड रुपैयाँको लागतमा आरजु राइस मिल स्थापना गरेर किसानलाई उन्नत जातको धान रोप्प बीउ बीजनसहित प्राविधिक सहयोग गर्दै आएका छन् ।
उनले किसानले उत्पादन गरेको धानलाई उचित मूल्यमा खरिद गरेर उच्च घरानाले उपभोग गर्ने जिरा मसिनोसहित लङग्रेन बासमती जातको चामल विक्री वितरण गर्दै आएको छन् ।
बस्नेतको यो अभियानले नेपालमा वार्षिक अर्बौ रुपैयाँमा हुने गरेको चामल आयातलाई निरुत्साहित गर्न थालेको छ भने उपभोक्तालाई आन्तरिक उत्पादनमै गुणस्तरीय र सस्तो मूल्यमा सेवा दिएका छन् ।

उनले किसानलाई रामधान र हर्दिनाथ ६ धान रोप्न सिफारिससमेत गरेका छन् । यी दुवै जातका धान लङग्रेन हुन् । यसले आयातीत जिरा मसिनो चामललाई विस्थापित गर्ने दाबी बस्नेतको छ । बस्नेतले कृषकलाई बासमती लङग्रेनमा ‘सुभाषी’ लगाउन सिफारिस गरेको बताएका छन् ।
मिलले हाल एभरेष्ट प्रिमियम सुपर लङ एरोमेटिक, प्रिमियम लोकल जिरा मसिनो, आरजु लोकल प्रिमियम लोकल राइस र प्रिमियम लोकल जिरा चालम बजारमा ल्याएको छ ।
बस्नेतले कृषकबाट धान गरिद गरेर चामल उत्पादन गर्न लगाएको मिलले वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेका छन् । रामधान र हर्दिनाथ ६ वर्षे धानको बस्नेतले शुक्रवार मिल परिसर डाँगीहाटमा न्यूनतम समर्थन मूल्य तोकेका छन् । उनले स्थानीय जातको रञ्जीत धानको बजार मूल्यभन्दा मिलले सिफारिस गरेको धानको मूल्य प्रति क्वीन्टल २०० रुपैयाँ बढी दिने घोषणा गरे ।
मिलका लागि किसानले उत्पादन गरेको रामधान र हर्दिनाथ ६ जातको धानमा नमि १४ प्रतिशत र जिरो प्रतिशत भुस (खकरी) भएको धान प्रतिमन १६००, नमि १५ प्रतिशत र ५ प्रतिशत भुस भएको धानको मूल्य प्रतिमन १५०१, नमि १६ प्रतिशत र ५ प्रतिशत भुस भएको धानको प्रतिमन १४८२, नमि १७ प्रतिशत र ५ प्रतिशत भुस भएको धान प्रतिमन १४६२ समर्थन मूल्य तोकेका छन् ।
उनले नमि १८ र भुस ५ प्रतिशत भएको धान प्रतिमन १४४३, नमि १९ प्रतिशत र ५ प्रतिशत भुस भएको धान प्रतिमन १४२४ र नमि २० र भुस ५ प्रतिशत भएको रामधान र हर्दिनाथ ६ धानको मूल्य प्रतिमन १४०५ रुपैयाँ तोकेका छन् ।
बस्नेतले दुईदुई सय विघा जमिनको कृषक समूह बनाएर ६ वटा किसान समूहलाई शुक्रबार धान काट्ने र थ्रेसर गर्ने मेसिन वितरण गरेका छन् । हालको बजार मूल्य ३९ लाख रुपैयाँ पर्ने ती मेशिन बस्नेतले दुईवर्ष भित्रमा बिना ब्याज मिललाई तिर्ने सर्तमा १५ लाख ५० हजारमा किसान समूहलाई खाद्यन्न वालीको वार्षिक चक्रलाई सहजीकरण गर्ने अभियान स्वरुप वितरण गरेका हुन्।
बस्नेतले जनज्योती कृषि सहकारी कानेपोखरी, प्रिन्सा कृषि फर्म रंगेली, कृषि सहकारी वेलबारी र छिन्ताङ कृषि सहकारी वेलबारी लगायतका ६ वटा कृषक समूहलाई एक एक थान धान काट्ने र थ्रेसर गर्ने मेशिन उपलब्ध गराएका हुन । यि मेसिनले किसान र मिललाई जोड्ने सेतुको काम गर्ने उनको विश्वास छ। ती ६ वटै कृषक समूहले मिलका नाममा दुई दुई सय विघा गरी १ हजार दुई सय विघामा मिलका लागि चैते र वर्षे धानको खेती गर्ने छन्।
मिललाई वार्षिक १५ हजार टन धानको आवश्यकता पर्छ । तर त्यति धान उपलब्ध हुन सकेको छैन । बस्नेतले भने ‘सामूदायिक उद्यमशीलताका आधारमा दुई दुई सय विघा जमिन समेटेर १५ वटा किसान समूह बनाएर तीन हजार विघा जमिनमा मिलको नाममा धान खेती गराउने लक्ष्य रहेको छ । उत्पादन भएको धान उचित मूल्यमा मिलले खरिद गर्ने लक्ष्य राखेको छ ।’
बस्नेतले भने, ‘बाँकी ९ वटा किसान समूहलाई कृषि ऋण लिएर हार्भेष्टर खरिद गर्न मिलले सहजीकरण गरेर संगठित गर्ने तयारी छ ।’ मिलले आगामी वर्षदेखि शुद्ध तोरीको तेल उत्पादन गर्ने उद्योग पनि सञ्चालनमा ल्याउने भएको छ । बस्नेतले उद्योग नाफामा सञ्चालन हुन थालेपछि बजार मूल्यमा ४५ प्रतिशत शेयर किसानलाई विक्री गर्ने लक्ष्य राखेको पनि जानकारी दिए ।
उनले किसानले उत्पादन गरेको खाद्यान्नको बजार व्यवस्थापन सबै भन्दा बढी चुनौतीपूर्ण रहेको समेत बताए । विदेशबाट अयातीत चामल यहाँका मिलकै नाममा प्याकिङ भएर आउने गरेको पाइएको छ । त्यसरी आयात हुने चामलको बजार एकाधिकार छ । स्थानीय उत्पादन उधारोमा विक्री गर्नुपर्ने बाध्यता छ ।
बस्नेतले भने ‘गाउँ टोलमा रहेका खुद्रा व्यापारी र किराना पसललाई आफ्ना उत्पादन बिक्री गराउने सञ्जालको विकास गरी नगदमा विक्री गराउने अभियानमा मिल स्थापना भएको हो ।’
शुक्रबार वर्षे धानको समर्थन मूल्य घोषणाा कार्यक्रममा सहभागी वेलबारी नगर प्रमुख डिपी राईले नगरको ग्रामीण क्षेत्र डाँगीहाटमा आरजु मिलले कृषिमा क्रान्तिको सुरुवात गरेको उल्लेख गर्दै मिलको लक्ष्यलाई सहयोग गर्ने नगरको वडा नं ९ र १० लाई धान जोनको रुपमा अगाडि बढाएको बताए ।
मिलले भारत र पाकिस्तानमा बढी प्रयोगमा आउने १८४७ र १६९२ जातको पुसा बासमती, पाकिस्तानकै चेना र पञ्जा बासमती सहित हर्दिनाथ ५ र ६ तथा रामधानको परीक्षण उत्पादन गरी यस वर्षदेखि किसानलाई खेती गर्न सिफारिस गरेर त्यो जातको चामल उत्पादन सुरु गरेको छ ।
महंगो मूल्यमा आयात हुँदै आएको पाकिस्तानी पुसा बासमती १८४७ र १६९२ जात सहित पाकिस्तानकै चेना र पञ्जा बासमती चामल अब स्थानीय उत्पादनकै रुपमा उपभोग गर्न पाइने मिलका म्यानेजर विवेकानन्द झाले क्लिकमान्डुलाई बताए ।
नेपाल कृषि कम्पनीको प्राविधिक सहयोगमा बुध्द एयरका मालिक बस्नेतले करिव ६० करोडको लगानीमा सञ्चालित यो राइस मिलले उच्च र मध्यम वर्गका लागि विदेशवाट आयात हुने लङग्रेनका चामलको आयातलाई निरुत्साहित गर्न र त्यस्तो धान स्थानीय स्तरमा उत्पादन गर्न किसानलाई सुपथ मूल्यमा बीउको व्यवस्थापन गर्दै प्राविधिक सहयोग उपलब्ध गर्दै आएको छ ।
मिलले किसानलाई उच्च गुणस्तरका नयाँ प्रजातीका धान रोप्न सिफारिस गर्दै बीउ व्यवस्थापन र प्राविधिक सहयोग गरेर ति किसानले उत्पादन गरेको धान किसानको खेतबाटै खरिद गर्दै आएको छ । किसानको खेतमा मिलले मेशिनबाट धान कटाई र दाहुनी गरेर सोझै मिलमा ल्याउने गरेको छ ।
चालु वर्ष मिलसँग आवद्ध भएका मोरङ सुनसरी र झापाका दुई हजार किसानलाई विदेशबाट आयात हुने जिरा मसिनो सहित बासमती र लङग्रेनको चामललाई विस्थापित गर्ने उद्देश्यले जिरा मसिनो र १८४७ र १६९२ जातको पुसा बासमती, पाकिस्तानको चेना र पञ्जा बासमत सहित हर्दिनाथ ५ र ६ तथा रामधानको लङग्रेनको वासमती धानको खेतीगर्न सिफारिस गरेको थियो । झाले भने ‘ति जातका धानको उत्पादन सन्तोषजनक छ ।’
प्रतिक्रिया