बुध्द एयरको ककपिटमा झाँगड समुदायका एक्ला पाइलट प्रमोद

जसले हलो, कोदालो चलाएर छोरालाई पाइलट बनाए



विराटनगर । बुबाले चलाएको साइकलको पछाडी बसेर घरदेखि झण्डै दुई किलोमिटर टाढा नयाँ बजारको नेशनल नमुना विद्यामन्दिरमा पढ्न जाँदा प्रमोद झाँगड (उराँव) को कानमा दिनहुँ एउटा ध्वनी गुञ्जिन्थ्यो ।

त्यो ध्वनी दायाँबायाँवाट नभई माथिबाट आउथ्यो । उनले आँखा माथितिर फर्काएर हेर्दा आकाशमा ठूलो आवाजसहित हवाई जहाज उडिरहेको देख्थे ।

एकटकले त्यो हवाइजहाजलाई हेरेपछि एकदिन प्रमोदले अन्तरमनसँग प्रश्न गरे । ‘के म पनि यसैगरी हवाइजहाज उडाउन सक्छु ?’ मनबाट तत्काल अनिश्चयको जवाफ आयो- खोइ ?

झट्ट उनले आफ्नो पढाइ सम्झिए।

अब्बलै छ ।

खेतिपाती गर्ने आफ्ना किसानी पारिवारिक स्थिति सम्झिए ।

मनबाट पुन जवाफ आयो- अहँ विमान उडाउन पारिवारिक स्थितिले सक्दिँन होला ।

उनको मनले त्यसो सोचिरहँदा जहाज क्षितिज पारी कटिसकेको हुन्थ्यो । तर त्यो दृश्यले उनको मनमा जहाजको ककपिटमा बसेर उडान भने त्यसैबेला भरिसकेको थियो ।

मनले जहाजको ककपिटमा बस्ने उडान भरिसकेपछि प्रमोदले मनमनै पारिवारिक स्थिति सम्झिए । उनको आँखामा किसान बुबाआमाको संघर्ष झल्कियो ।

आफ्नो पारिवारिक स्थिति र समुदाय सम्झिए । ५ कक्षा पढेका बुबा र ७ कक्षा पढेकी आमाले हलो र कुटो-कोदालो गरेर आफूलाई पढाइरहेको दृश्य आँखा अगाडि नाचे ।

‘पाइलट बन्न धेरै खर्च लाग्छ होला । बुबाआमाले त्यो खर्च धान्न सक्छन् त?’ उनले मनमनै सोचे ।

उनको अन्तरमनले फेरि भन्यो- धेरै पैसा लाग्छ, पाइलट बन्न त सम्भव छैन होला ।

मनमा पाइलट बन्ने ‘बिउ’ रोपिएको धेरै वर्षपछि प्रमोद यतिबेला जहाजको ककपिटमा बस्ने गर्छन् र दिनहुँ नेपाली आकाशमा कयौं यात्रुलाई गन्तव्यमा पुग्ने उडान भर्छन् ।

करिब दुई दशक अगाडिको ‘मनोभाव’ सुनाउँदै गर्दा प्रमोद भावुक हुन्छन् ।

खेती किसान गरेर परिवारको गुजरा चलाउने विष्णु झाँगड (उराँव) छोरो प्रमोदलाई साइकलको पछाडी राखेर हिलो र कच्ची सडक छिचल्दै घरदेखि झण्डै दुई किलोमिटर दक्षिण नयाँ बजारको नमुना विद्यामन्दिर बोर्डिङ स्कुलमा पुर्‍याउँथे । छोरोलाई स्कुल पुर्‍याएपछि उनी दैनिकी अर्थात कृषि कर्ममा जुट्थे ।

दिनभर खेतमा कुटो, कोदालो र हलो चलाएका विष्णु विद्यालयमा घन्टी लाग्नु अघि छोरालाई लिन फेरि स्कुल पुग्थे।

हरेकदिन बुवाको साइकल पछाडी बसेर प्रमोदले उक्त विद्यालयबाट ५ कक्षासम्मको अध्ययन गरे ।

विहान विद्यालय जाँदा वा साँझ फर्कदा होस् घरदेखि पश्चिममा रहेको विराटनगर विमानस्थलबाट उडने र अवतरण गर्ने हवाइजहाज आफ्नो माथिबाट उड्दा साइकलको पछाडी बसेका प्रमोदले टाउको विमान भएतिरै घुमाएर हेर्थे ।

विमानतिर छोराको नजरलाई विष्णुले याद नगरेका भने होइनन् ।

‘सानैबाट हवाइजहाज उडेको हेर्थ्यो । साइकलको पछाडी बसेपनि पुरै जीउ घुमाएर प्लेनतिरै हेर्थ्यो,’ बुबा विष्णुले प्रमोदको बाल्यकालको स्मरण गर्दै भने ।

उनलाई हवाइजहाजको मोह यस्तो थियो कि कक्षाकोठामा भएको बेलामा समेत उनी झ्यालबाट विमान उडेको हेर्न सकेसम्म छुटाउँदैन थिए ।

घर आसपास र नयाँ बजारमा लाग्ने हरेक साप्ताहिक हटिया पुगेर खेलौना किन्दा उनको रोजाइ हवाइजहाज नै हुने गरेको विष्णु सम्झन्छन्।

‘खेलौनामा चढेर हवाइजहाज उठाए जस्तो अभिनय गर्थ्यो अनि आवाज पनि प्लेनको जस्तै निकाल्थ्यो,’ हाँस्दै विष्णुले भने ।

कक्षा ५ पुगेपछि एकदिन प्रमोदले विष्णुलाई भने, ‘बुबा म ठूलो भएर पाइलट बन्छु।’

प्रमोदले यसो भनिरहँदा विष्णुलाई विश्वास लागेन । केही बेर उनले घरको आर्थिक अवस्था सम्झिए । मनमनै भने, ‘बन्न त बन्ने, तर पढाउन सकिँदैन होला ।’ तर, विष्णुले छोरा प्रमोदलाई भने यो कुरा सुनाएनन् । सकिँदैन भन्दा कतै छोरालाई नराम्रो लाग्छ कि भन्ने डर आफूमा त्यतिबेला परेको विष्णु सम्झन्छन् ।

तर, छोरालाई भने उनले आश्वासन भावमा भने, ‘भइहाल्छ नि ! पहिला राम्रोसँग मिहेनत गरेर पढ् । जहाज उडाउन त धेरै पढ्नु पर्छ ।’

बुबाको आश्वासनलाई प्रमोदले ऊर्जाको रुपमा लिए । पढाइमा राम्रै भएका उनको मनमा पाइलट बन्ने सपनाको उडान थियो ।

‘पढेर के बन्छस् बाबु’ भनेर कसैले सोध्यो भने निर्धक्क भएर प्रमोदले भन्थे, ‘पाइलट ‘ ।

तर, धेरैले त्यसलाई मजाकको रुपमा लिने गरेको प्रमोदलाई अहिले पनि याद छ ।

‘मैले कसैले के बन्छस् भनेर सोध्दा पाइलट भन्थेँ,’ क्लिकमान्डुसँगको कुराकानीमा प्रमोदले भने, ‘मेरो समुदाय र घरको स्थितिले गर्दा होला धेरैले मेरो पाइलट बन्ने योजनालाई हाँसी मजाक मान्थे । अहिले पनि मलाई याद छ ।’

आफूलाई उनीहरुले निराश बनाउन खोजेको भए नि त्यसलाई आत्मवलको रुपमा लिएको प्रमोद बताउँछन् ।

साथीहरुको हाँसो मजाकलाई आत्मवल र बुबाको आश्वासनलाई ऊर्जा ठानेका प्रमोदको पढाइ झन् अब्बल बन्दै गयो । नयाँ बजारको नेशनल नमुना विद्यामन्दिरबाट कक्षा ५ उत्तीर्ण हुँदा उनी विद्यालय टप भए ।

त्यसपछि उनको माथिल्लो कक्षाको पढाइको नयाँ गन्तव्य बन्यो पाँच किलोमिटर पश्चिम विराटनगरको हाटखोलामा रहेको वाल्मिकी बोर्डिङ स्कुल ।

त्यतिबेला पनि उनलाई बुबा विष्णुले विहान र साँझ नयाँ बजारसम्म साइकलमा ल्याउथे । त्यहाँबाट स्कुलबस चढेर उनी विद्यालय जाने आउने गर्थे ।

वाल्मिकी बोर्डिङमा पनि प्रमोदले आफ्नो पढाइलाई अब्बल नै राखे । उनले त्यही बोर्डिङवाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि उनका पाइला यहीँको ग्रीनल्याण्ड कलेजतर्फ मोडियो ।

खेती किसानी गरे पनि प्रमोदका बुबाले उनको पढाइमा कहिल्यै सम्झौता भने गरेनन् ।

आफूले धेरै पढ्न नपाएकाले छोराले राम्रो गरोस् भन्ने उनको अपेक्षा थियो । त्यसैले पैसा भन्दा पनि उनी पढाइको गुणस्तरमा ध्यान दिन्थे ।

छोराले साइन्स पढ्ने भनेपछि विष्णुले प्रमोदलाई उक्त कलेजको विज्ञान संकायमा भर्ना गरे ।

कोठा भाडामा लिएर पढ्न बसेका प्रमोदले प्लस टु पनि पहिलो श्रेणीमा पास गरे ।

०००

प्लस टु पहिलो श्रेणीमा पास भएपछि प्रमोदले पाइट बन्ने आफ्नो सपना बुबालाई स्मरण गराए ।

छोराको पाइलट बन्ने चाहनामा बुबा विष्णुले पैसा खर्च गर्न सक्ने अवस्था भने थिएन ।

दैनिक खेतिपाती गरेर गुजारा गर्दै आएका उनीसँग पारिवारिक सम्पत्तिको रुपमा ३ बिघा जग्गा थियो ।

प्रमोद बाहेका सन्ततीलाई पढाउनु पर्ने जिम्मेवारी पनि थियो, विष्णुलाई ।

तर, अठोट गरे ।

‘जमिन बेचेर भए पनि छोरालाई पाइलट र छोरी संगीतालाई नर्स बनाउँछु’ विष्णुले स्मरण गरे ।

त्यसपछि जग्गा बेच्नका लागि उनी ग्राहकको खोजीमा लागे ।

ग्राहक फेला परे ।

छोराछोरी पढाउनका लागि जीवन गुजारा गर्ने पुर्ख्यौली जग्गा प्रतिबिघा ५० लाख रुपैयाँको दरले उनले सवा बिघा जग्गा बेचिदिए।

जग्गा बेचेर आएको पैसाले प्रमोद दक्षिण अफ्रिकाको बर्ड एभिएसन कलेजमा अफ्रिकन सिभिल एभिएसन अथोराइज कमरसियल पाइलट पढ्न गए ।

दक्षिण अफ्रिका पुगेर प्रमोदले पाइलटको २७ महिने कोर्ष सरासर उत्तीर्ण गरे ।

साउथ अफ्रिकन सिभिल एभिएसन अथोराइज कमर्सियल पाइलट लाइसेन्स लिएर सन् २०२२ मा उनी नेपाल फर्किए ।

नेपालमा हवाइजहाज उडाउन प्रमोदलाई विदेशी पढाइ र लाइसेन्सले मात्र अनुमति दिएन । त्यसका लागि उनले नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने लाइसेन्सक परीक्षा उत्तीर्ण गर्नुपर्ने थियो । त्यसका लागि उनले झण्डै एकवर्ष तयारी गरे ।

प्राधिकरणले लिएको उक्त परीक्षा प्रमोदले पहिलो प्रयासमै पास गरे ।

त्यसपछि उनी नेपाली आकाशमा जहाज उडाउन योग्य पाइलटमा दर्ता भए ।

लाइसेन्स लिएसँगै प्रमोद नेपालकै सबैभन्दा ठूलो र सफल हवाई सेवा कम्पनी बुध्द एयरसँग जोडिए ।

गतवर्षदेखि उनले बुध्द एयरको ककपिट सम्हालिहेका छन् ।

०००

मोरङको कटहरी ५ भौडाहाका २७ वर्षीय प्रमोद झाँगड (उराँव) नेपाली आकाशमा उडेको झण्डै ८ सय घण्टा पुग्यो । उनी बुध्दको जहाज लिएर नेपालगञ्ज, पोखरा, भरतपुर, विराटनगर, भैरहवा, सुर्खेत, जनकपुर, सिमरा, चन्द्रगढी, तुम्लिङटार लगायतका विमानस्थलमा यात्रु लिए जाने आउने गरिरहेका छन् ।

प्रमोद अल्पसंख्यक जातिमा सूचीकृत झाँगड (उराँव) समुदायबाट पाइलट बन्ने पहिलो व्यक्ति हुन् ।

छोरा पाइलट बनेर आकाशमा उडान गरिरहँदा बुबा विष्णु र आमा लालसरी अहिले पनि कुटो कोदालो र खेती किसानीमा दैनिकी बिताइरहेका छन् ।

उनीहरु आफ्नो पौने दुई बिघा अनि केही अधिया र ठेक्कामा जमिन कमाउँछन् ।

आफू पाइलट बन्नुमा बुबा आमाले चाएको हलो कोदालो र कुटोको सफलता ठान्छन्, प्रमोद । ‘यसको सवै श्रेय बुबा आमालाई जान्छ । मेरो वाल्यकालको सपना पूरा भएको छ । म पाइलट भएको छु,’ गलाअवरुद्ध पार्दै प्रमोदले भने, ‘यो भन्दा बढी भन्ने शब्दै मसँग छैन ।’

प्रमोदको पहिलो उडान काठमाडौंबाट नेपालगञ्ज थियो । त्यसपछि बुध्द एयर पुग्ने हरेक विमानस्थलमा जहाज उडाएर पुगेको उनी बताउँछन् ।

बुबा आमालाई उडाउने रहर

छोराले विमान उडाउन थालेको एक वर्ष भए पनि बुबा विष्णु र आमा लालसरीले अहिलेसम्म हवाइजहाजमा पाइलो टेक्ने अवसर भने पाएका छैनन् ।

‘बुबाआमालाई आफूले उडाको विमानमा चढाउने धोको छ तर पूरा भएको छैन’ प्रमोदले भने, ‘कहिले मेरो समय मिल्दैन । कहिले बुबा आमाको । खेती गर्ने बेलामा उहाँहरुले भ्याउनु हुन्न ।’

प्लेन चढ्न समय नजुरे पनि विष्णु र लालसरी औधी खुसी छन् । त्यही भएर उनीहरुले छोरो पाइलट बनेपछि गाउँले सबैलाई जम्मा गरेर भोज खुवाए ।

‘छोरो पाइलट बनेपछि गाउँले सबैलाई भोज खुलायौं,’ विष्णुले भने,’हाम्रो समाजको पहिलो ठूलो मान्छे बन्यो । पाइलट बन्यो । सबैलाई भोज खुवाएका थियौं ।’

तर, उनीहरुको एउटा धोको अझै प्रमोदले पूरा गर्न बाँकी छ ।

‘के हो त बुबा आमाको धोको ?’ प्रश्नको जवाफमा हाँस्दै प्रमोदले भने, ‘खै, मेरो बिहे त होला !’

तर, यसबारे आफूले अहिले नसोचेको उनको भनाइ छ ।

पाइलट बनेपछि प्रमोदले कति कमाउँछन् विष्णुलाई जानकारी छैन । भन्छन्, ‘सोध्ने कुरा भएन । मलाई एक वर्षदेखि हरेक महिना ७०/८० हजार रुपैयाँ पठाइहेको छ । अलिअलि आफूलाई खर्च राख्दो हो ।’

आमा लालसरी गत स्थानीय निर्वाचनमा कांग्रेसबाट वडामा महिला सदस्यकी उम्मेदवार थिइन् । प्रमोदका एक दिदी र एक भाइ छन् । दिदी संगीता न्यूरो अस्पतालमा स्टाफ नर्स छिन् भने भाइ मनिष कक्षा ६ मा अध्ययनरत छन् ।

०००

साविकको भौडाहा र थलाहा गाविस हाल कटहरी गाउँपालिकाको वडा ५, ६ र ७ पर्छ । त्यहाँ करिब दुई हजार झाँगड (उराँव) समुदायको जनसंख्या छ । ‘ यहाँको झाँगड (उराँव) समुदाय मध्य प्रमोद सबैभन्दा माथिल्लो ओदामा पुग्ने पहिलो व्यक्ति हुन् । त्यहाँका करिब दर्जन युवा/युवति प्लस टु र स्नातक तहमा अध्ययनरत छन्,’ स्थानीय हरिप्रसाद भट्टराईले भने,’प्रमोदको सफलताले यहाँको झाँगड वस्तीमा परिवर्तनको रेखा कोरेको छ ।’

गरिवी र अशिक्षाका कारण झाँगड (उराँव) समुदायलाई विगतमा रक्सीको नसामा झुमेर बस्ने र शिकार खेल्न हिँडने समुहका रुपमा चिनिने गरे पनि अहिले अवस्थामा सुधार आएको उनले बताए ।

मोरङ, सुनसरी, झापा, कन्चनपुर, कैलाली, बारा, पर्सा, रौतहट, धनुषा, सिराह, सप्तरी र उदयपुरमा झाँगड (उराँव) को बसोबास बाक्लो छ । नेपाल (झाँगड) उराँव आदिवासी जनजाती प्रतिष्ठानका संस्थापक अध्यक्ष नुनुलाल उराँवले आफूहरुको समुदायको संख्या देशभर २ लाख आसपास भएको बताए । प्रमोद यो समुदायको पहिलो र एक्लो पाइलट भएको उनको भनाइ छ ।

निजामति सेवामा १० औं तहसम्म पुग्ने पहिलो र एक्लो व्यक्ति स्वयं नुनुलाल हुन् । माटो विज्ञानमा एमएसी उत्तीर्ण गरेका उनी कृषि विभागबाट तीनवर्ष पहिला सेवा निवृत्त भएका हुन् । यो समुदायबाट सुनसरीका शिवनारायण उराँव संविधान सभा सदस्य भएका थिए ।

‘पछिल्लो समयमा को पाइलट लिनेमा सायद सायद बुध्द एयर नै हो। प्रमोद चाहिँ मेहनती छन् अब्बल पनि छन् र उनी बुध्द एयरमै जहाज उडाउन इच्छुक रहेका थाह पाएँ । त्यसपछि मैले नै हाम्रो अफिसियल प्रक्रिया के हो त्यसमा सामेल गरेर ती सबै पूरा गरेर आउनैपर्छ र तिनी आए पनि र अहिले उनी बुध्द एयरका गन्तव्यहरूमा जहाज उडाइरहेका छन्। मैले अहिलेसम्म प्रमोदलाई भेटेको छैन। तर अब चाहिँ भेट्छु।’ बध्द एयरका कार्यकारी अध्यक्ष् वीरेन्द्र बहादुर बस्नेतले क्लिकमान्डुसँग भने ।


विनोद भण्डारी