११ वाणिज्य बैंकलाई बोनस सेयर दिनुपर्ने बाध्यता, १४ वटाले नगद पनि बाँड्न सक्ने, कसको लाभांश क्षमता कति ?



काठमाडौं । वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकहरुले गत आर्थिक वर्षमा तरलता अभावका भएपनि २३.१४ प्रतिशतले नाफा बढाएका छन् । अहिले वाणिज्य बैंकको संख्या २६ वटा छ । २६ वटा वाणिज्य बैंकमा सेयर बजारमा २५ वटा सूचिकृत छन् ।

सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक नेपाल स्टक एक्सचेन्जमा सूचिकृत छैन । वाणिज्य बैंक छाडेर २५ वटा वाणिज्य बैंकले सेयरधनीलाई १५.७२ प्रतिशत लाभांश दिने क्षमता राखेका छन् ।

अहिले सार्वजनिक भएको वित्तीय विवरण अपरिस्कृत हो । अब बैंकहरुले असोज मसान्तपछि साधारणसभा गर्ने तथा लाभांश घोषणा गर्छन् । यसका लागि वार्षिक प्रतिवेदन लेखापरीक्षण हुने तथा राष्ट्र बैंकले स्वीकृति दिनुपर्छ । त्यो बेला बैंकहरुले दिने लाभांश फरक हुन्छ । अहिले प्रकाशित तथ्यांकको आधारमा हेर्दा बैंकहरुले औसतमा लगानीकर्तालाई दिने लाभांश १५.७२ प्रतिशत हो ।

राष्ट्र बैंकले एकीकृत निर्देशिका मार्फत् यो पटक लाभांशमा ७०/३० को अनुपात हटाएको छ । कोभिडको समयमा राष्ट्र बैंकले बैंकको पुँजी बलियो बनाउन कम्तीमा ३० प्रतिशतभन्दा बढी नगद लाभांश दिन नपाउने नियम लगाएको थियो । एकीकृत निर्देशिका मार्फत लाभांश सम्बन्धि नियम परिवर्तन भएपछि बैंकहरु आफ्नो आवश्यक्ता हेरेर बोनस सेयर तथा नगद लाभांश दिन स्वतन्त्र छन् । बैंकहरुको वित्तीय विवरणमा आधारित रहेर बोनस तथा नगद लाभांशलाई प्राथमिकता दिन सक्छन् । तथ्यांकको आधारमा हामीले विश्लेषण गर्ने प्रयास गरेका छौं । लाभांश दिने बेला सो दर फरक भने पर्न सक्छ ।

पुँजीकोषले बोनस सेयरको आवश्यक्ता

राष्ट्र बैंकले बनाएको नियम अनुसार बैंकहरुले ११ प्रतिशत न्यूनतम पुँजीकोष अनुपात कायम गर्नुपर्छ । असार मसान्तमा वाणिज्य बैंकको औसतमा पुँजीकोष अनुपात १३.५५ प्रतिशत छ । यो राष्ट्र बैंकले तोकेको अनुपातभन्दा बढी हो ।

बैंकहरुले ११ प्रतिशत पुँजीकोष अनुपात प्राथमिक पुँजी (टायर १) तथा पुरक पुँजी (टायर २) जोडेर ११ प्रतिशत पुर्याउनुपर्छ । जसमा राष्ट्र बैंकले कम्तिमा प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । साढे १० प्रतिशत हाराहारीमा बैंकहरुको प्राथमिक पुँजीकोष अनुपात रहेको छ ।

प्राथमिक पुँजीमा बैंकहरुले चुक्ता पुँजी, वितरण नगरेको नाफा,रिटेण्ड अन अर्निङ, रिजर्भ जोडेको हुन्छ । पुरक पुँजीमा मुख्यरुपमा ऋणपत्र तथा नोक्सानीका लागि छुट्याइएको रकम जोडिएको हुन्छ । बैंकहरुलाई राष्ट्र बैंकले लाभांश वितरण गर्नका लागि ११ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको हुन्छ । जसमा प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत हुनुपर्छ । त्यो नहुने संस्थाले लाभांश वितरण गर्न नपाउने व्यवस्था छ । गत वर्ष राष्ट्र बैंकले एनआइसी एशिया बैंकको लाभांश वितरण गर्न प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशतभन्दा कम भएको कारणले रोक लगाएको थियो । यस्तै नगद लाभांश बाँड्नका लागि न्यूनतम पुँजीकोष अनुपात १२ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको थियो ।

बैंकहरुले प्राथमिक पुँजीकोषमा वितरण नगरेको लाभांश रकमलाई राख्न पाउने व्यवस्था छ । बोनस सेयर दिएमा प्राथमिक पुँजीकोष अनुपातमा परिवर्तन हुँदैन । तर, बैंकहरुले नगद लाभांश दिएमा प्राथमिक पुँजीकोष अनुपात घट्ने हुन्छ । साढे ९ प्रतिशतभन्दा कम प्राथमिक पुँजीकोष अनुपात भएका बैंकहरुलाई बोनस सेयर दिनु बाध्यता हुन्छ ।

एनआईसी, एभरेष्ट र हिमालयन बैंकलाई बोनस सेयर दिनुपर्ने बाध्यता

राष्ट्र बैंकको नियमले एनआईसी एशिया, हिमालयन बैंक तथा एभरेष्ट बैंकसहित ११ वटा बैंकलाई बोनस सेयर दिनुपर्ने बाध्यता छ ।

गत वर्षको नाफाबाट सबैभन्दा बढी लाभांश दिने क्षमता एभरेष्ट बैंकको छ । एभरेष्ट बैंकले लगानीकर्तालाई ४१ प्रतिशत लाभांश दिने क्षमता रहेको छ । तर, राष्ट्र बैंकले बनाएको नियम अनुसार एभरेष्टले लगानीकर्तालाई बोनस सेयर दिनुपर्छ । नगद लाभांश बाँड्नका लागि पुँजीकोष १२ प्रतिशत हुनुपर्ने व्यवस्था छ । एभरेष्टको असार मसान्तमा ११.९५ प्रतिशत पुँजीकोष अनुपात छ । जसको कारण लगानीकर्तालाई बोनस सेयर दिनुपर्ने बाध्यता छ ।

यस्तै हिमालयन बैंकले सेयरधनीलाई गतवर्षको नाफाबाट २०.५२ प्रतिशत लाभांश दिने क्षमता राखेको छ । एभरेष्ट बैंकको जस्तै हिमालयन बैंकको पुँजीकोष अनुपात ११.६३ प्रतिशत रहेको हुँदा नगद लाभांश वितरण गर्न मिल्दैन । हिमालयन बैंकले सेयरधनीलाई बोनस सेयर दिनुपर्छ ।

गत वर्ष लाभांश वितरण नगरेको एनआइसी एशिया बैंकलाई बोनस दिनुपर्ने बाध्यता छ । एनआईसी एशिया बैंकले गतवर्ष प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत नपुर्याएको कारण लाभांश वितरण गर्न पाएको थिएन । एनआईसी एशिया बैंकको पुँजीकोष अनुपात १३.५१ प्रतिशत छ । १२ प्रतिशतभन्दा बढी पुँजीकोष अनुपात भएको हुँदा एनआईसी एशियाले नगद लाभांश वितरण गर्न मिल्छ । तर, एनआईसी एशियाको प्राथमिक पुँजीकोष अनुपात असार मसान्तमा ८.९३ प्रतिशत छ । एनआइसी एशिया बैंकको लाभांश क्षमता गत वर्षको नाफाबाट १९.४३ प्रतिशत हो । बैंकले अघिल्लो वर्षको नाफाबाट समेत लाभांश दिन नपाएको हुँदा यो दर अझै बढी हुनसक्छ । गत वर्षको नाफाबाट मात्र १९.४३ प्रतिशत लाभांश क्षमता भएपनि प्राथमिक पुँजीकोष अनुपात ८.९३ प्रतिशत रहेको हुँदा बैंकले बोनस सेयर दिनुपर्ने बाध्यता हुन्छ ।

यी बैंकलाई पनि नगद दिन कठिन

यस्तै अवस्था सिद्धार्थ बैंकको पनि छ । सिद्धार्थ बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.८२ प्रतिशत छ । सिद्धार्थ बैंकले सेयरधनीलाई १६.८२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । प्राथमिक पुँजीकोष अनुपात हरेक महिना साढे ८ प्रतिशतभन्दा माथि हुनुपर्छ । एनआईसी र सिद्धार्थ बैंकले यो अनुपातलाई केही महिना ब्रेक गरेको हुँदा लाभांश वितरण गर्न दिने वा नदिने अधिकार राष्ट्र बैंकसँग छ ।

बोनस सेयर दिनुपर्ने बाध्यता रहेको अर्को बैंक माछापुच्छ्रे बैंक हो । माछापुच्छ्रे बैंकको लाभांश क्षमता १२.९५ प्रतिशत हो । यसको प्राथमिक पुँजीकोष अनुपात ८.८३ प्रतिशत रहेको हुँदा बैंकले वितरण गर्ने लाभांश बोनस हुनुपर्ने बाध्यता छ ।

यस्तै प्रभु बैंकले सेयरधनीलाई ११.१२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता छ । बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.७ प्रतिशत छ । यस आधारले बैंकले सेयरधनीलाई बोनस सेयरदिनुपर्ने बाध्यता छ । लक्ष्मी बैंकले सेयरधनीलाई १०.८७ प्रतिशत लाभांश दिने क्षमता राखेको छ । प्राथमिक पुँजीकोष अनुपात ८.७९ प्रतिशत रहेको हुँदा बैंकलाई बोनस सेयर दिनुपर्ने बाध्यता छ । सानिमा, कुमारी, एनसीसी तथा सनराइज बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्यता रहेको छ ।

नबिल, स्ट्याण्डर्ड चार्टर्डसहित, इन्भेष्टमेन्ट र सरकारी बैंकले नगद लाभांश दिन सक्ने

राष्ट्र बैंकको नियमअनुसार विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड तथा सरकारी लगानीका बैंकहरुले नगद लाभांश दिनसक्छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुँजीकोष अनुपात जहिलेपनि राष्ट्र बैंकले तोकेको भन्दा बढी छ । राष्ट्र बैंकले चुक्ता पुँजी बढाउने नीति लिएमा मात्र चार्टर्डले बोनस सेयर दिने गर्छ । चार्टर्डले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १८.५९ प्रतिशत लाभांश दिने क्षमता राखेको छ । सरकारको ५१ प्रतिशत सेयर स्वामित्व रहेको कृषि विकास बैंक र नेपाल बैंकलाई पुँजीकोष अनुपातको आधारले नगद लाभांश दिएमा केही फरक नपर्ने स्थिति छ । कृषि विकास बैंकले सेयरधनीलाई २९.६३ प्रतिशत लाभांश दिने क्षमता राखेको छ । यस्तै नेपाल बैंकले १०.७४ प्रतिशत नगद लाभांश दिने क्षमता राखेको छ ।

यस्तै नबिल बैंकले एनबी बैंकको सेयर स्वापबाट आएको पैसा बाहेक अरु रकम नगद लाभांश दिनसक्छ । नबिलको लाभांश क्षमता ३९.९४ प्रतिशत छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पनि चुक्ता पुँजी बढी भएको तथा पुँजीकोष अनुपात प्रयाप्त रहेको हुँदा यो पटक नगद लाभांश दिनसक्छ । इन्भेष्टमेन्ट बैंकको लाभांश क्षमता ११.१३ प्रतिशत रहेको छ ।

प्राथमिक पुँजीकोष अनुपात १० प्रतिशतभन्दा बढी भएका बैंकहरुले बोनस सेयर नदिने भने हुँदैन । पछिल्लो समय पुँजीकोष प्रयाप्त रहेका पुँजीको आधार बढी भएका बैंकहरुले यो पटक ऋण नबढ्ने भएको हुँदा नगद लाभांश दिने सम्भावना बढी भएको हो ।


आशीष ज्ञवाली