तरलता अभाव र संकुचित कर्जा विस्तारबीच कसरी २३% ले बढ्यो बैंकहरुको नाफा ?
काठमाडौं । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गर्दा बैंकहरुको नाफा ०.५४ प्रतिशतले बढेको थियो । चैत मसान्तसम्म बैंकहरुले ५१ अर्ब ७ करोड रुपैयाँ नाफा गरेका थिए ।
चैत मसान्तसम्मको वित्तीय विवरणमा नाफा खासै नबढेको देखिएपछि धेरैको अनुमान थियो– यसवर्ष बैंकहरुको नाफा बढ्दैन । तर, अनुमानविपरित गत आवमा बैंकहरुले २३.१४ प्रतिशतले नाफा बढाउन सफल भएका छन् ।
बैंकहरुले गत आवमा ७४ अर्ब ८० करोड रुपैयाँ नाफा गरेका छन् । जबकी, अघिल्लो आवमा बैंकहरुको नाफा ६० अर्ब ७४ करोड रुपैयाँ थियो । अर्थतन्त्र समस्यामा परेका बेला बैंकहरुले नाफा कसरी उल्लेख्य मात्रामा बढ्यो ? यो प्रश्नले अहिले राष्ट्र बैंक र बैंकरहरुलाई लखेटिरहको छ ।
०७८ असार मसान्तमा वाणिज्य बैंकहरुले ३६ खर्ब ८७ अर्ब रुपैयाँ ऋण दिएका थिए । ०७९ असारमा ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । एक वर्षको अवधिमा बैंकहरुको कर्जा विस्तार जम्मा १३.२० प्रतिशतले मात्रै बढेको छ । तर, नाफा भने २३.१४ प्रतिशतले बढेको हो ।
चैतसम्म उल्लेख्यरुपमा नाफा नबढाएका बैंकहरुले ३ महिनामा भने २३ अर्बले नाफा बढाउन सफल भएका छन् । जसको मुख्य कारण हो– कर्जामा बढाएको ब्याजदर ।
बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले बैंकहरुले माघदेखि कर्जा प्रवाहमाको गति कम गरेका थिए । नयाँ कर्जा दिन नसकेपछि बैंकहरुले अपनाएको रणनीति थियो कर्जाको ब्याजदर बढाउने ।
स्प्रेडसँगै ब्याज बढाए
चैत मसान्तको वित्तीय विवरण निकाल्दा बैंकहरुको निक्षेप र कर्जाको ब्याजदरबीचको फरक (स्प्रेडदर) ३.६६ प्रतिशत थियो । तर, असार मसान्तमा आइपुग्दा बैंकहरुको स्प्रेडदर ४.१९ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्ष असार मसान्तमा स्प्रेडदर ३.६३ प्रतिशत थियो । बैंकहरुले गत बैशाखदेखि कर्जाको ब्याजदर बढाएपछि नाफा बढाउन सफल भएका छन् । चैत मसान्तको तुलनामा असार मसान्तमा बैंकहरुको स्प्रेडदर ०.५५ प्रतिशतले बढेको छ ।
बैंकहरुले चैत मसान्तसम्म ४१ खर्ब ८९ अर्ब कर्जा दिएका थिए । असार मसान्तसम्म आइपुग्दा ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । साथै, कर्जाको ब्याजदर भने सोही अवधिमा ०.५५ प्रतिशत बिन्दुले बढाएका छन् । यसले औतसमा ३ महिनामा करिब साढे ६ अर्ब रुपैयाँजति ब्याज आम्दानी बढ्छ । कर्जाको ब्याजदर बैशाखमा बढाएका कारण बैंकहरुको आम्दानी बढेको हो । ब्याज आम्दानी बाहेक केही बैंकको अघिल्लो वर्ष नउठेको ऋण उठ्दासमेत नाफा बढ्न सफल भएको छ ।
‘बैंकिङजस्तो संरक्षित बिजनेशले यस्तो बेलामा नाफा कमाउने दाउ हेर्नु हुँदैन, ऋणी पनि नमरुन् भनेर संयमित भएर अघि बढ्नुपर्थ्यो,’ गोल्छाले भने, ‘तर, बिडम्बना बैंकहरु संयमित भएनन्, राष्ट्र बैंक मुकदर्शक बन्यो ।’
वाणिज्य बैंकहरुमध्ये सरकारी बैंकबाहेक सबैको स्प्रेडदर बढेको छ । गतवर्ष सबैभन्दा बढी नाफा कमाउने राष्ट्रिय वाणिज्य बैंकले स्प्रेडदर घटाएको छ । ५ अर्ब २१ करोड नाफा गरेको वाणिज्य बैंकको स्प्रेडदर ४.२९ प्रतिशत छ । अघिल्लो वर्ष ४.३७ प्रतिशत थियो ।
यस्तै नेपाल बैंकको अघिल्लो वर्ष ४.३४ प्रतिशत रहेको स्प्रेडदर ४.०८ प्रतिशतमा झरेको छ कृषि भने विकास बैंकको ४.३७ प्रतिशत छ ।
नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदरबीचको फरक ४.४० भन्दा हुन नहुने व्यवस्था गरेको छ । अघिल्लो वर्ष बैंकहरुसँग ऋण दिनका लागि पर्याप्त रकम थियो । जसले गर्दा ऋण बढाउने तथा कम स्प्रेडमा पनि नाफा बढाउन सकिने आधार थियो । तर, गत आवमा बैंकहरुले पुसपछि ऋण विस्तार खासै गरेका छैनन् ।
उदाहरणका लागि नाफाको आधारमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको वित्तीय विवरणलाई हेरौं ।
ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्षमा नाफा २५ प्रतिशतले बढेर ५ अर्ब २० करोड गरेको छ । चैत मसान्तसम्म ग्लोबलको नाफा ३ अर्ब ७२ करोड थियो ।
बैंकको असार मसान्तमा स्प्रेडदर ४.२६ प्रतिशत छ । अघिल्लो वर्ष असार मसान्तमा ३.६५ प्रतिशत थियो भने चैत मसान्तमा ३.५२ प्रतिशत थियो । बैंकले ३ महिनामा मात्र १ अर्ब ४८ करोड रुपैयाँले नाफा बढाएको छ ।
यसरी नाफा बढ्नुको कारण बैंकले बढाएको कर्जाको ब्याजदर प्रमुख कारण हो । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा कमाएको ५ अर्ब २० करोड रुपैयाँ नाफामा अन्तिम ३ महिनामा कमाएको नाफाको हिस्सा २८ प्रतिशत छ ।
ग्लोबल आइएमई बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको थियो । जसमा आर्थिक वर्षको अन्तिम चौमास वैशाखदेखि असार मसान्तसम्म जम्मा ५८ करोड नाफा गरेको थियो ।
उक्त आवमा नाफामा अन्तिम त्रैमासमा कमाएको हिस्सा करिब १४ प्रतिशत थियो । गत आर्थिक वर्षमा अन्तिम त्रैमासमा मात्र १ अर्ब ४८ करोड रुपैयाँ नाफा गर्न सक्नुको पछाडि ग्लोबल आइएमई बैंकले बढाएको स्प्रेडदर नै प्रमुख कारण हो । ३ महिनामा मात्र ग्लोबलले ०.६१ प्रतिशत बिन्दुले स्प्रेडदर बढाएको छ । जसले गर्दा अन्तिम त्रैमासमा गरेको बढी नाफाले बैंकको नाफा बढ्न सकेको हो ।
अन्तिम त्रैमासमा ब्याजदर बढाएर नाफा कमाउनेमा ग्लोबल बैंक मात्रै होइन । अन्य बैंकको अवस्था पनि उस्तै छ ।
स्टाण्डर्ड चार्टर्ड बैंकले गत आवमा २ अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा चार्टर्डको नाफा १ अर्ब ३९ करोड थियो । चार्टर्डको स्प्रेडदर ४.२३ प्रतिशत छ ।
चैत मसान्तमा चार्टर्डको स्प्रेडदर वाणिज्य बैंकमा सबैभन्दा कम २.९६ प्रतिशत थियो । ३ महिनामा मात्र चार्टर्डले स्प्रेडदर १.२७ प्रतिशतले बढायो । यसरी चार्टर्डले बढी स्प्रेड बढाउनुको कारण थियो उसको कम बेसरेट ।
चार्टर्डबाट ऋण लिनेको ब्याजदर बढेपनि अरु बैंकको तुलनामा कम बेसरेटले चार्टर्डको ब्याजदर कमै हुन्छ । चार्टर्डले नाफा बढाउन स्प्रेड बढाउने नीतिको फाइदा भने भयो ।
अघिल्लो आवमा १ अर्ब ३९ करोड नाफा आर्जन गर्दा अन्तिम ३ महिनामा नाफा २१ करोड थियो । जुन गत आवको नाफाको आधारमा अन्तिम ३ महिनाको हिस्सा १५ प्रतिशत हुन्छ । गत आवमा २ अर्ब २६ करोड नाफा गर्दा अन्तिम ३ महिनामा मात्र ६४ करोड नाफा गरेको छ । नाफाको आधारमा अन्तिम ३ महिनाको हिस्सा गतवर्ष २८ प्रतिशत छ ।
प्रिमियम पनि बढाए
बैंकहरुको ब्याजदर उनीहरुले प्रकाशित गर्ने आधार दरका आधारमा तय हुन्छ । ऋणीसँग सम्झौता गर्दा आधार दरमा थप केही प्रतिशत प्रिमियम जोडेर ऋण दिएका हुन्छन् । आधार दर भनेको बैंकको लागत हो । त्यसमा ऋणको जोखिमका आधारमा प्रिमियम थपिन्छ । लगानी योग्य पुँजीको अभावका कारण निक्षेपको ब्याजदर महंगो पर्न जाँदा र बैंकहरुको सञ्चालन खर्च पनि बढ्दा त्यसको लागत आधार दरमा जोडिँदा आधार दर नै महंगो भएको हो ।
०७८ जेठ महिनामा बैंकहरुको औषत आधार दर ६.६६ प्रतिशत रहेकोमा ०७९ जेठमा ९.३९ प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा आधार दर ४० प्रतिशतले बढेको छ । यसरी आधार दर बढेपनि बैंकहरुले ऋणीसँग सम्झौताविपरित प्रिमियम बढाएर आफ्नो नाफामा संकुचन आउन दिएनन् ।
ऋणी चुसेर बैंकहरुले नाफा बढाएको व्यवसायीको आरोप
०७८ जेठमा कर्जाको औषत ब्याजदर ८.४६ प्रतिशत थियो । ०७९ जेठको औषत कर्जाको ब्याजदर ११.५४ प्रतिशत छ । यो एक वर्षको अवधिमा ऋणको ब्याजदर ३६ प्रतिशतले बढेको छ भने निक्षेपको ब्याजदर ५७ प्रतिशतले बढेको देखिन्छ । ०७८ जेठमा निक्षेपको औषत ४.७२ प्रतिशत थियो भने ०७९ जेठमा यो बढेर ७.३४ प्रतिशत पुग्यो । तर, कतिपय बैंकहरुले प्रिमियम थपेर ऋणीसँग १६ प्रतिशतसम्म ब्याजदर असूलीरहेका छन् ।
बैंकहरुले व्यवसायीमाथि अत्याचार गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् ।
‘बैंकको लागत बढेको छ त्यसलाई हामी स्वीकार गर्छौं र त्यो लागत व्यहोर्न हामी तयार छौं,’ गोल्छाले क्लिकमाण्डूसँग भने, ‘बैंकको बढेको लागत आधार दरमा जोडिन्छ । तर, यहाँ त बैंकहरुले ऋणीलाई अन्याय हुनेगरी आधार दरसँगै प्रिमियम पनि बढाएका छन् ।’
बैंकहरुले मनलाग्दी प्रिमियम बढाउँदा पनि राष्ट्र बैंक टुलुहुटुलुहु हेरेर बसेको उनको आरोप छ ।
‘बैंकिङजस्तो संरक्षित बिजनेशले यस्तो बेलामा नाफा कमाउने दाउ हेर्नु हुँदैन, ऋणी पनि नमरुन् भनेर संयमित भएर अघि बढ्नुपर्थ्यो,’ गोल्छाले भने, ‘तर, बिडम्बना बैंकहरु संयमित भएनन्, राष्ट्र बैंक मुकदर्शक बन्यो ।’
बैंकहरुले प्रिमियममा गरेको ज्यातदीविरुद्ध आावाज उठाउने ऋणीले ऋण नै नपाउने समस्या भएपछि व्यवसायीहरु चुपचाप बस्न बाध्य भएको उनको भनाइ छ ।
‘बैंकविरुद्ध उजुरी गर्न जाऔं भने बैंकले ऋण दिन्न भन्छ, यस्तो अवस्थामा व्यवसायीहरु चुपचाप ज्यादती सहन बाध्य छन्,’ उनले भने, ‘हिँजो ०.१, ०.२ प्रतिशत प्रिमियम असूलेर ऋण दिन्छौं भन्दै कार्यालयसम्मै धाउने बैंकका सीइओहरु अचेल ३, ४ प्रतिशत प्रिमियम असूलीरहेका छन् ।’
गोल्छा मात्रै होइन, अधिकांश व्यवसायीहरु बैंकहरुले आफूहरुमाथि शोषण गरेको बताउँछन् ।
‘जनताको पैसा चलाउने बैंकहरु जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने हो तर त्यस्तो देखिएन,’ व्यवसायीहरु प्रश्न गर्छन्, ‘ऋणीहरु घाटामा जाने तर बैंकचाहीँ नाफामा जाने यो कस्तो नियम हो ?’
स्प्रेडदर बढी हुनेमा एनआइसी एशिया पहिलो
स्प्रेडदर बढी हुनेमा एनआइसी एशिया बैंक पहिलो नम्बरमा छ । एनआइसी एशिया बैंकको स्प्रेडदर ४.४० प्रतिशत छ । यो राष्ट्र बैंकले तोकेको अधिकतम सीमा हो ।
एनआइसी एशियाको चैत मसान्तको वित्तीय विवरण सार्वजनिक गर्दा नै स्प्रेडदर ४.४० प्रतिशत थियो । २६ वटा बैंकमा सबैभन्दा कम स्प्रेडदर ३.६१ प्रतिशत बैंक अफ काठमाण्डू (बीओके) को छ ।