
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोप लागेका उक्त आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।
प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा प्रचार–प्रसार गर्दै आएका दुर्गा प्रसाईंलाई चैत २९ गते झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिइएको हो।’
प्रहरीले दुर्गा प्रसाईंविरुद्ध आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको जानकारी दिएको छ।
उनीहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने बताइएको छ । उनीहरुलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याउन लागिएको हो ।
चैत १५ मा राजावादी प्रदर्शनको क्रममा तोडफोड, आगजनी र लुटपाटको नेतृत्व गरेको आरोप प्रसाईंमाथि लागेको छ । उनले निषेधित क्षेत्र तोड्ने भन्दै प्रहरीको ज्यानै लिने गरी गाडी कुदाएका थिए ।
त्यस्तै राजावादीहरुले सञ्चारगृह, व्यापारिक केन्द्र, निजी तथा सरकारी भवन गरी ४० वटा संरचनामा क्षति पुर्याएका थिए । त्यसैगरी ६९ वटा सवारी साधन तोडफोड र आजगनी गरेका थिए ।
उक्त घटनामा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको ज्यान गएको थियो । १२९ जना घाइते भएका थिए । त्यसक्रममा प्रहरीले कयौं राउण्ड गोलीसमेत चलाएको थियो ।
प्रसाईं फरार रहे पनि प्रहरीले राप्रपाका नेताहरु रवीन्द्र मिश्र र धवलशमशेर राणासहित १ सय बढी पक्राउ परेका छन्।








प्रतिक्रिया