चौतर्फी आलोचनापछि क्यान डीजीको ‘स्टन्ट’, एक वर्षदेखि थन्किएको वायुसेवाको उडान अनुमतिमा रोक



काठमाडौं । पछिल्लो समय देखिएको हवाई सुरक्षा कमजोरी ढाक्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) महानिर्देशक प्रदीप अधिकारीले एक वर्षदेखि थन्किएको वायुसेवामाथि कारबाही गरेर पानी माथिको ओभानो हुन खोजेका छन् ।

साउन ९ मा सौर्य एयरको विमान दुर्घटना परेको १५ दिनभित्रै (२३ साउन)मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पर्‍यो।

१८ जनाको ज्यान गएको सौर्य एयरको दुर्घटनाको पीडा कम नहुँदै एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाले ज्यान गुमाउँदा नेपालको हवाई उड्डयन क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ ।

प्राधिकरणले हवाई उड्डयन क्षेत्रमा सुधार भइरहेको रटान लगाइरहँदा दुई सातामा दुई हवाई दुर्घटनापछि क्यान महानिर्देशक प्रदीप अधिकारीको चर्को आलोचना भइरहेको छ ।

अधिकारीलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने माग संसद, संसदीय समितिदेखि सडकसम्म उठेको छ

चौतर्फी आलोचना भइरहँदा संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हवाई उडान सुरक्षामा कमजोरी गर्ने जिम्मेवार पदाधिकारीमाथि कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपालको हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वमाथि प्रश्न उठेपछि महानिर्देशक अधिकारीले आफूले हवाई सुरक्षामा काम गरिरहेको देखाउन खोजेका छन् ।

नियमित उडानमा रहेका वायुसेवामाथिको कमजोर नियमनको आलोचना खेपिरहेका अधिकारीले एक वर्षदेखि उडान भर्न नसकेको वायुसेवा कम्पनीको उडानमा रोक लगाउने निर्णय गरेका छन् ।

एक वर्षदेखि उड्न नसकेको मुस्ताङ हेलिकप्टरको उडानमा प्राधिकरणले रोक लगाएको हो ।

२०८० साउनदेखि नै उड्न नसकेको मुस्ताङ हेलिमा उड्डयन प्राधिकरणले गरेको निरीक्षणबाट कम्पनीको सेफ्टी म्यानेजमेन्ट सिस्टम (एसएमएस) ६० प्रतिशतभन्दा कम आएको भन्दै यसको उडानमा रोक लगाएको छ ।

आर्थिक व्यवस्थापन मिलाउन नसकेर भएकै एउटा हेलिकप्ट ग्राउण्डेड भएको मुस्ताङले अर्को हेलि थप गरे पनि पुनः उडानमा जान सक्ने अवस्था भने अझै बनाएको छैन ।

प्राधिकरणले मुस्ताङसँगै गत शुक्रबारबाट अन्नपूर्ण हेलिकप्टरको पनि उडान रोकेको छ । अन्नपूर्ण हेलिसँग पनि एउटा मात्रै हेलिकप्टर छ ।

प्राधिकरणका अनुसार एसएमएस ६० प्रतिशतभन्दा कम हुने वायुसेवाको उडान अनुमति निलम्बन गरेर सुधारको मौका दिइने छ । सुधार गर्न नसक्ने वायुसेवाको हकमा भने जबसम्म सन्तोषजक र तोकिएको न्यूनतम मापदण्ड पूरा गर्दैनन् तबसम्म उडान अनुमति रोकिँदै जाने प्राधिकरणको भनाइ छ ।

हवाई क्षेत्रमा नियमकको कमजोरी रहेको भन्दै सर्वत्र आलोचना भइरहँदा अधिकारीले नाटक रचेको प्राधिकरणकै उच्च अधिकारी लगाउँछन् ।

‘पछिल्लो समय विमान दुर्घटना लगातार भइरहँदा क्यानका डीजीसा’पको सबैतिरबाट आलोचना भइरहेको छ । उनलाई हटाउने सम्मका माग उठेको छ,’ स्रोतले भन्यो, ‘त्यसपछि उहाँमा छटपटी छ । हवाई सुरक्षामा काम गरेको जस्तो देखाउन उहाँले स्टन्ट गरेर दुई हेलिकप्टर कम्पनीको उडानमा रोक लगाएका छन् । जबकी मुस्ताङको हेलि एक वर्षदेखि उड्न सकेको छैन ।’

त्यस्तै सौर्य एयरको विमान दुर्घटनापछि एउटामात्र विमान उडानका लागि बाँकी थियो । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लिएको वायुसेवा सञ्चालन इजाजतपत्र (लाइसेन्स)को अवधि सकिएसँगै सौर्यको उडान अनिश्चितकालका लागि बन्द भएको छ ।

तर प्राधिकरण नेतृत्वले भने सौर्य एयरको उडान अनुमति रोकिएको भन्दै प्रचार गरेको छ । जबकी लाइसेन्सको अवधि सकिएर सौर्यको उडान अनिश्चित कालका लागि बन्द भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानन्द्र भुलले सौर्यमा कर्मचारी नभएको र जिम्मेवारी कर्मचारी नभएसम्म कम्पनीको उडान सञ्चालन अनुमति (एओसी) निलम्बनजस्तै अवस्थामा रहेको बताए । ‘सौर्यले जहाज उडान अब फेरि जिम्मेवार कर्मचारी पूर्ति गर्न नसकेसम्म उडान अनुमति पाउँदैन,’ प्राधिकरणका सूचना अधिकारी भुलले भने ।

यसको उडान अवधि सकिनु १६ दिन अगाडि मात्रै दुर्घटनामा परेर उडान बन्द भएको यो वायुसेवाको २५ साउनदेखि लाइसेन्सको अवधिसमेत सकिएको छ । हरेक ५ वर्षमा नवीकरण गराउनुपर्ने लाइसेन्सको अवधि सकिएको यो वायुसेवाले पर्यटन मन्त्रालयमा लाइसेन्स नवीकरणको लागि आवेदन भने दिइसकेको छ ।


क्लिकमान्डु