युरोपमा रोक्का गरिएको ३०० अर्ब डलर रूसले युक्रेनको पुनर्निर्माणमा खर्च गर्न सक्ने

3.7k
Shares

एजेन्सी । रूसले युरोपमा रोक्का गरिएको ३०० अर्ब डलर बराबरको आफ्नो सम्पत्ति युक्रेनको पुनर्निर्माणका लागि प्रयोग गर्न सहमत हुन सक्ने संकेत दिएको छ । तर, रूसले यो रकमको केही हिस्सा आफूले नियन्त्रण गरेको युक्रेनको पाँचौँ भागमा खर्च गर्नुपर्ने शर्त राख्ने तीनवटा स्रोतले जfनकारी दिए रोयटर्सले उल्लेख गरेको छ ।

फेब्रुअरी १८ मा रूस र अमेरिका बीच पहिलोपटक युक्रेन युद्ध अन्त्य गर्न प्रत्यक्ष वार्ता साउदी अरेबियामा भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले निकट भविष्यमा भेटवार्ता गर्ने इच्छा व्यक्त गरेका छन्।

रूसको सम्पत्ति किन रोक्का गरिएको थियो?

सन् २०२२ मा पुटिनले युक्रेनमा सैन्य हस्तक्षेप गरेपछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूले रूसी केन्द्रीय बैंक र वित्त मन्त्रालयसँग हुने सबै आर्थिक कारोबारमा प्रतिबन्ध लगाएका थिए ।

यसअन्तर्गत ३००/३५० अर्ब डलर बराबरको रूसी सम्पत्ति (प्रायः युरोप, अमेरिका र बेलायतका सरकारी बन्डहरू) रोक्का पारिएको थियो । जसलाई युरोपको एक वित्तीय निकायमा राखिएको छ ।

वार्तामा रूसको प्रस्ताव

हाल अमेरिका र रूसबीचको छलफल प्रारम्भिक चरणमा रहे पनि मस्कोले रोक्का गरिएको सम्पत्तिको ठूलो हिस्सा युक्रेन पुनर्निर्माणका लागि प्रयोग गर्न सक्ने प्रस्ताव ल्याउने तयारी गरिरहेको छ ।

पूर्वी युक्रेन युद्धले नराम्ररी ध्वस्त भइसकेको छ । दुवैतर्फका लाखौँ सैनिक घाइते वा मृत्यु भइसकेका छन् र करोडौँ युक्रेनीहरू युरोप वा रूसतर्फ शरणार्थी बनेर भागेका छन् ।

विश्व बैंकले युक्रेन पुनर्निर्माण र पुनर्स्थापनाका लागि कम्तीमा ४८६ अर्ब डलर आवश्यक पर्ने अनुमान गरेको छ ।

रूसले युद्ध रोक्नका लागि युक्रेनी सेना रूसले आफ्नो भन्दै आएको भूभागबाट फिर्ता जानुपर्ने र युक्रेनले नेटो सदस्यता लिन खोज्ने लक्ष्य त्याग्नुपर्ने शर्त राखेको छ ।

तर, युक्रेनले भने रूसी सेना पूर्ण रूपमा फिर्ता जानुपर्ने र पश्चिमी देशहरूबाट सुरक्षा प्रत्याभूति आवश्यक पर्ने बताएको छ । ट्रम्प प्रशासनले युक्रेनको मागहरू अवास्तविक भएको टिप्पणी गरेको छ।

रूस र अमेरिकी प्रतिनिधिहरूबीच साउदी अरेबियामा भएको भेटमा यो प्रस्ताव उठाइयो वा उठाइएन भन्ने पुष्टि हुन सकेको छैन।

सन् २०२३ मा जी-७ राष्ट्रहरूले जबसम्म रूसले युक्रेनमा पुर्याएको क्षतिको क्षतिपूर्ति तिर्दैन तबसम्म रूसी सम्पत्ति रोक्का रहने निर्णय गरेका थिए । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई जी-७ मा फिर्ता ल्याउने इच्छा व्यक्त गरेका छन् ।

रूसका केन्द्रीय बैंक गभर्नर एल्भिरा नाबियुलिनाका अनुसार बैंक कुनै पनि प्रतिबन्ध हटाउने वा रूसी सम्पत्ति फुकुवा गर्ने छलफलमा संलग्न छैन ।

रूसले युक्रेन पुनर्निर्माणका लागि आफ्नै रोक्का गरिएको सम्पत्तिको प्रयोग गर्ने सम्भावना देखाएसँगै द्वन्द्व अन्त्य गर्ने प्रक्रियामा केही संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छ्न् ।